कात्तिक ३०, काठमाडौं । नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्सले वेस्ट इन्डिजका फास्ट बलर रामोन सिमण्ड्सलाई अनुबन्ध गरेको छ ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लुम्बिनी लायन्सले एनपीएलका लागि चौथो विदेशी खेलाडीका रूपमा रामोनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
२३ वर्षीय बायाँहाते बलर सिमण्ड्सले आईसीसी यु–१९ विश्वकप क्रिकेटमा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लुम्बिनी लायन्समा अनुबन्ध भएपछि सिमण्ड्सले एनपीएल खेल्न पाउनु आफ्नो करियरको रोमाञ्चक अध्याय भएको बताएका छन् । ‘नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो ।
नेपालीहरूको क्रिकेटप्रतिको उत्साहबारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो ऊर्जा हेर्न आतुर छु,’ उनले भिडियो सन्देशमा भनेका छन् ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमण्ड्सको आगमनले बलिङ थप बलियो बनेको बताए । ‘उनको आगमन हाम्रो टिमका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ ।
उनको युवा जोसले हाम्रो सम्पूर्ण टिम र विशेष गरी युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ,’ अध्यक्ष जिसीले भने ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ । एनपीएलमा लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ ।