३० कात्तिक, काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टिमले पहिलो पटक आईसीसी यू–१९ महिला टी२० विश्वकपमा छनोट हुँदै इतिहास रचेर स्वदेश फर्किएको छ । आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया छनोटको च्याम्पियन बनेर बिहीबार स्वदेश फर्किएको टोलीलाई ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो । महिला क्रिकेट त्यसमा पनि उमेर समूहको प्रतियोगिता भएकोले छनोट खेल्न जानुअघि खासै चर्चा थिएन । तर जब नेपालले छनोटमा खेलहरु जित्दै गयो र अन्तिम खेलमा घरेलु टोली युएईलाई उसैको मैदानमा ८ विकेटले हराएर विश्वकपको टिकट काट्यो अनि युवा महिला क्रिकेट टोलीले पनि चर्चा पाउन थाल्यो ।
सिनियर टोलीबाट प्रतिनिधित्व गरिसकेकी अलराउण्डर पूजा महतोको नेतृत्वमा रहेको टोलीले यस पटक इतिहास रचेर देखायो । चार टोली सहभागी छनोटमा डबल राउण्ड रोबिनका आधारमा खेल खेलाइएको थियो र नेपाल र यूएईको समान १० अंक भएपनि नेट रनरेटमा नेपाल अघि रहँदै विश्वकपमा छनोट हुन सफल भयो । विश्वकपमा छनोट भएर आउदा नेपाली टोली एकदमै खुशी र उत्सहित देखिएका थिए । कप्तान पूजा महतोले विश्वकपमा छनोट हुने टोलीको कप्तानी गर्न पाउदा गर्व लागेको बताइन् ।
‘इतिहास रच्न सफल महिला टोलीको कप्तानी गर्न पाउँदा एकदमै गर्व लागिरहेको छ’, उनले स्वदेश फर्किएपछि भनिन्, ‘महिला क्रिकेटमा इतिहास रच्न पाउँदा गर्व लागेको छ ।’ उपकप्तान सोनी पाख्रिनले पनि खुशी लागिरहेको बताइन् । ‘एउटै लक्ष्य थियो जसरी पनि विश्वकप पुग्छौँ भन्ने । हामीले पाएको मौकालाई सदुपयोग र्गयौँ’ उनले भनिन्, ‘विश्वकपमा छनोट हुनु हाम्रो लागि एउटा असाधारण अनुभव थियो, यूएईलाई उसैको मैदानमा हराएर ट्रफी लिएर आउँदा छुट्टै किसिमको अनुभव भइरहेको छ, निकै गर्व लागिरहेको छ ।’
१७ वर्षदेखिको सपना पूरा भएको दिन
सन् २००७ मा नेपालले अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न थालेदेखि नै विश्वकपको सपना देख्न थालेको थियो । त्यतिबेला पुरुषभन्दा महिला टिमले पहिले विश्वकप खेल्छ भनेर भनिन्थ्यो । तर पुरुष टोलीले दुई पटक टी२० विश्वकप खेलिसक्दा पनि महिला सिनियर टोली विश्वकप पुग्न सकेको छैन । अहिले जुनियर महिला टोलीले विश्वकपमा स्थान बनाएर महिला क्रिकेटर पनि कम छैनन् भनेर सन्देश दिएको छ । नेपालले अब २०२५ जनवरी(फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको आईसीसी यू–१९ महिला टी२० विश्वकप खेल्नेछ ।
त्यसअघि डिसेम्बरमा मलेसियामै एसीसी यू–१९ महिला एसिया कप खेल्नेछ । कसरी छनोट भयो नेपाल ? यूएईविरुद्ध अन्तिम खेलअघि नेपाल ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा थियो । घरेलु टोली यूएई भने ५ खेल नै जित्दै १० अंक जोडेर शीर्ष स्थानमा थियो । नेपालले थाइल्याण्ड र कुवेतलाई २९२ पटक हराउँदा युएईसँग १३ रनले पराजित भएको थियो । यस्तोमा नेपालका लागि अन्तिम खेल गर या मरको अवस्थामा थियो । विश्वकप पुग्न युएईलाई जितेर मात्र हुन्थेन । आवश्यक रनरेटका साथ जित हात पार्नुपर्ने थियो ।
युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले कसिलो बलिङ गर्दै यूएईलाई ८३ रनमै रोक्यो । नेपालकी कृष्मा गुरुङले ४ विकेट लिइन् । यूएईलाई पछि पार्दै शीर्ष स्थानमा पुग्न नेपालले ८४ रनको लक्ष्य १६.२ ओभरमा पूरा गर्नुपर्ने थियो । तर ओपनर सरा प्रविनको अविजित ३५ रन र कप्तान पूजा महतोको २३ रन मद्दतमा नेपालले १४.२ ओभरमै जित हात पार्याे । दयूएईलाई ८३ रनमा रोक्नु नै नेपालको जितको आधार बनिसकेको थियो ।