२६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको बताएको छ । डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको जनाउँदै उक्त निष्कर्ष निकालेको हो ।
सन् २०१५ मा पेरिसमा भएको सम्मेलनबाट २०० देशहरूले जलवायु परिवर्तनको नराम्रो प्रभावलाई कम गर्ने आशामा तापक्रमको बढ्दो स्तरलाई सीमित राख्न प्रयास गर्ने वाचा समेत गरेका थिए । मौसम विज्ञान संगठनले त्यसलगायत अन्य चिन्ताजनक निष्कर्षहरु पनि सार्वजनिक गरेको छ । महासागरहरु छिटो तातिरहेका छन् भने हिमनदीहरु पग्लने क्रम पनि बढ्दो अवस्थामा छ। सन् २०२३ मा विश्वका हिमनदीहरुबाट टुक्रिएका बरफको मात्रा सन् १९५३ मा मापन सुरु भएयताकै उच्च थियो ।
त्यस्तै समुद्री सतह पनि बढ्दै गएको छ । सन् २०१४ देखि २०२३ सम्म विश्वव्यापी औसत समुद्री स्तर प्रति वर्ष ४.७७ मिलिमिटरले बढेको थियो, जुन् १९९३ र २००२ बीचको दरभन्दा दोब्बर हो ।
जलवायु वैज्ञानिकहरूले धेरै वर्षदेखि यी विषयहरुमा विभिन्न अनुसन्धानहरु गर्दै आइरहेका छन् भने प्रतिकूल हुँदै गएको चेतावनी समेत दिँदै आइरहेका छन् ।