• मंसिर ११ २०८१, मंगलवार

अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

कार्तिक १७ २०८१, शनिबार

काठमाडौं । हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे। ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन्। एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे। दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारेका हुन्। उनी म्यान अफ द म्याच बने।

यो जितसँगै नेपाल पूल ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको छ। पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ।