• मंसिर ११ २०८१, मंगलवार

नेपालमा डेंगी: देशभर १२ जनाको मृत्यु २८ हजार भन्दा बढी संक्रमित

कार्तिक १३ २०८१, मंगलवार

काठमाडौं । विगत १० महिनामा देशभर डेंगी संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । २८ हजार २१२ जना संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै संक्रमित गण्डकी प्रदेशमा रहेका छन् । संक्रमितममध्ये गण्डकी प्रदेशमा मात्रै १३ हजार ८९८ जना रहेका छन् ।

कास्कीमा ७ हजार १६१, पर्वतमा १ हजार ६७७, तनहुँमा २ हजार २२६,बाग्लुङमा ९५५ र गोर्खामा ८२७ जना रहेका छन् ।हालसम्म हुम्लाबाहेक अरु ७६ वटै जिल्ला डेंगी संक्रमण देखिएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण र २० जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

विज्ञहरुका अनुसार डेंगी सार्ने लामुखट्टेलाई अण्डा वृद्धि विकास गरी वयस्क बन्न ५ दिनभन्दा बढी जमेको सफा पानी चाहिन्छ ।

डेंगी एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन ।

डेंगीको आरडिटी र रगतको जाँच गरेर परीक्षण गरिन्छ । ८० प्रतिशत व्यक्तिलाई डेंगीको लक्षण नै देखिदैन । २० प्रतिशत जतिलाई सामान्य लक्षण देखिन्छ । डेंगीको कुनै खास उपचार छैन । दुखाइ तथा लक्षणहरूको आधार उपचार गरिन्छ । डेंगीको उपचारमा खासगरि पारासिटामोलनै प्रयोग गरिन्छ । डेंगीको लक्षण देखिएपछि डाक्टरलाई नजचाई जथाभावी आइबु्रफेन र एस्पिरिन जस्ता औषधिहरूको प्रयोग नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।