• मंसिर ११ २०८१, मंगलवार

सुनसरीमा असोज ११ र १२ गतेको बाढीले साढे दुई करोडको तरकारी बाली नष्ट

आश्विन २८ २०८१, सोमबार

सुनसरी । यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु. दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।

“बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भने ।

स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनु परेको बताए । बाढीले ५० हेक्टरमा लगाएको रु. एक लाख ८० हजार बराबरको उखुबालीमा क्षति भएको उनले बताए ।

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।