• मंसिर १२ २०८१, बुधबार

जनप्रतिनिधिज्यूहरू, दशैंमा गाउँ आएका नागरिकसँग के संवाद गर्दै हुनुहुन्छ ?

आश्विन २३ २०८१, बुधबार

मेरो गृह जिल्ला काभ्रे लगायतका धेरै ठाउँहरूमा यो पटक दशैंको रौनक आउनेवाला छैन। अनगिन्ती गाउँ–टोलहरू शोकमा छन्। नागरिकहरू अब के खाने, कहाँ जाने र कहाँ बस्ने भन्ने पीडामा छन्। छटपटी छ, वेदना छ। स्वाभाविक हो, तीन तहका सरकारहरूप्रति आक्रोश पनि छ। तर फेरि त्यही दुःखेको मनले गाउँमा डोर्‍याउँदैछ। एकपटक टेक्दा मात्रै पनि स्वर्गीय आनन्द र अद्भुत शक्ति दिने क्षमता गाउँसँग छ ।

यसरी दशैं नजिकिएसँगै देशभित्र र बाहिरबाट गाउँ जाने क्रम सुरु भएको छ। परिवार, छरछिमेक, इष्टमित्र, साथीभाइ, दौंतरी, गुरु–चेला आदिसँगको पुनर्मिलन दशैं वा ठूला चाडपर्वको प्रमुख विशेषता नै भयो। राजनीतिक रूपमा यो जनप्रतिनिधि एवं सम्भावित जनप्रतिनिधि तथा मतदाता एवं सम्भावित मतदाता बीचको बृहत् भेट पनि हो। साक्षात्कार, अन्तरक्रिया गर्ने अवसर पनि हो। विगतमा त्यस्तो अभ्यास कमजोर रहेको विषयलाई मध्यनजर गर्दै आसन्न दशैंमा आफ्नो थातथलोमा एकैछिन आराम गरेर कर्मभूमिमा सफलताको अर्को अध्याय सुरु गर्न तत्पर नागरिक र उनीहरूलाई प्रतिनिधित्व गर्ने (सम्भावित सहित) जनप्रतिनिधि बीच हुनुपर्ने संवादको एउटा खाका पेश गर्ने जमर्को गरेको छु ।

निश्चित रूपमा गाउँ जाँदै गरेका नागरिकहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। उनीहरू पनि गाउँगाउँमा सकारात्मक सन्देश, सद्भावनाको सन्देश, सम्भावनाको सन्देश लिएर जान सक्नुपर्दछ। गाउँका आमा, बुबा, भाइबहिनीमा आशा, भरोसा र उत्साह थप्नु उनीहरूको कर्तव्य पनि हो। गाउँमा लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र स्रोत व्यवस्थापनको मियो बन्न सक्नुपर्दछ । म जस्तै अहिलेसम्म आफ्नो गाउँ–ठाउँलाई केही गर्न नसकेकाहरूले पनि गफ दिनेभन्दा संवाद गर्ने, प्रशंसा र हौसला प्रदान गर्ने प्रयत्न गर्नुपर्दछ। फेरि प्रमुख विषयमा फर्कौं, जनप्रतिनिधिले गाउँ आउने नागरिकहरूसँग कस्तो संवाद गर्नुपर्दछ ?