२३ असोज काठमाडौं । क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने । छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री मारिन् सुमित्रा रेग्मीले । काभा वुमन्स नेसन्स लिगमा नेपाली टिमबाट डेब्यु गरेकी उनले रजत पदक जितिन् । त्यसपछि काभा महिला क्लब भलिबल लिगमा नेपाल पुलिस क्लबका तर्फबाट उपाधि जितिन् । सबै कुरा छिटो छिटो भयो एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभीएल) को च्याम्पियन क्लब कर्णालीको मार्की प्लेअर र कप्तानसमेत रहेकी सुमित्राका लागि ।
२३ वर्षकी सुमित्राले सायदै सोचेकी थिइन् यति चाँडै यति धेरै सफलता हात लाग्छ भनेर । सुमित्राले भलिबल छोएकै जम्मा २ वर्ष भयो, ठूला प्रतियोगिता खेलेको त जम्मा तीन महिना । यति छोटो समयमै यति धेरै उपलब्धी प्राप्त गर्ने खेलाडी विरलै हुन्छ्न् । उनी यस्तो समयमा राष्ट्रिय टिममा इन्ट्री भइन् कि नेपाल महिला भलिबल अहिले स्वर्णिम कालमा छ भन्दा फरक नपर्ला । काभा वुमन्स नेसन्स लिगको तयारी लागि रसियन टिमसँग घरेलु भूमिमा दुई मैत्रीपूर्ण खेल खेल्दा पहिलो रोजाईमा खेल्न पाइन् ।
त्यसपछि काभा नेसन्स लिगमा सेटमा खेलिन् । यसअघिका मिडल ब्लकरद्वय साफिया पुन र संगम महतो भन्दा उनी अघि रहिन् । क्वीक स्पाइक हान्ने र ब्लक गर्ने उनको मुख्य काम हो । ५ फिट ११ इन्च अग्ली उनलाई उचाइको पनि राम्रो साथ छ । नेपालले यही प्रतियोगितामा पहिलो पटक भारतलाई हराउँदा सुमित्रा पनि त्यो टिमकी सदस्य थिइन् । उनी पहिलो प्रतियोगिता खेल्दा नै नेपालले भारतलाई हरायो । तर फाइनलमा भारतसँगै पराजित हुँदा च्याम्पियन बन्ने अवसर गुमायो ।
त्यसपछि नेपाल पुलिस क्लबले माल्दिभ्समा काभा वुमन्स क्लब लिग खेल्न जाँदा पुलिस बाहिरका तीन खेलाडी अनुबन्ध गरेको थियो । जसमा एपीएफबाट निरुता ठगुन्ना र सरस्वती चौधरीसँगै न्यूडायमण्डकी सुमित्रालाई समेटेको थियो । सुमित्राले त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गरिन् । पुलिस अपराजित रहेर च्याम्पियन बन्यो । अनि सुमित्राले बेस्ट मिडल ब्लकरको व्यक्तिगत अवार्ड पाइन् ।
च्याम्पियन कप्तान
अब सुमित्राको अगाडि अर्को विशेषता थपिएको छ । नेपालको पहिलो फ्रेन्चाइल लिग भलिबल इडब्लुभीएलको च्याम्पियन कप्तान । सुमित्रा कप्तान रहेको कर्णाली यस्वीसले अपराजित रहँदै पहिलो संस्करणको इडब्लुभिएलको उपाधि जित्यो । डेब्युमै राष्ट्रिय टिमको सेटमा खेल्न थालेपछि अन्य ५ अनुभवी खेलाडीसँगै सुमित्रा पनि फ्रेन्चाइज लिगमा मार्की खेलाडी बनिन् । पूर्व संखुवासभाकी सुमित्रा पश्चिम कणर््ालीको टिममा पुगिन् ।
सुरुमा टिममा खासै चर्चित नाम थिएन । राष्ट्रिय टिमकी सुमित्रा मात्र थिइन् भने राष्ट्रिय टिमबाट खेलिसकेकी मनिषा चौधरी थिइन् । मीना सुनारले यू–२० काभा च्याम्पियनसिप खेलेकी थिइन् । अन्य खेलाडी युवा थिए र नाम धेरै चर्चा थिएन । यस लिगमा कूल १६ खेल भए । कर्णाली ६ खेल खेल्दा ६ खेलमै जित निकालयो । त्यसमा पनि सुमित्राले एक खेलमा ‘प्लेअर अफ दि म्याच’ अवार्ड जितिन् । विदेशी खेलाडी हाबी भइरहेको प्रतियोगितामा सुमित्राको पोजिसनमा खेल्ने विदेशी भने धेरै थिएनन् ।
भारतीय खेलाडी सूर्या चितवन शक्तिबाट खेलेकी थिइन्, उनी मात्र सुमित्रा भन्दा उत्कृष्ट थिइन् । पहिलो पटक भएको लिगमा अपराजित रहँदै च्याम्पियन बन्दा सुमित्रा निकै खुशी छन् र यसले ठूलो महत्व राख्ने बताइन् । ‘यो उपाधिको निकै महत्व छ । नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज लिग भएको र त्यो जितेर ट्रफी जित्न पाउँदा खुशी छु’, सुमित्राले भनिन् । आफैँलाई भलिबल सिकाएका कुमार राई नै कर्णाली टिमको प्रशिक्षक हुँदा आफूहरुलाई सजिलो भएको सुमित्राले बताइन् ।