• आश्विन १८ २०८१, शुक्रबार

स्पेनमा आयोजित एक कार्यक्रममा भेला भएका नेपालीहरु

आश्विन १८ २०८१, शुक्रबार

१८ असोज, बार्सिलोना । काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् । सन् २०२३ डिसेम्बर पहिलो साता धन कमाउने सपना बोकेर रोमानिया त आए । तर सोचेजस्तो भएन । उनी आएको कम्पनीमार्फत एउटा होटेलमा काम गर्ने उनको कन्ट्राक्ट थियो ।

‘साठी वर्ष पुरानो होटल रहेछ । त्यहाँको पुलिस आएर के कारणले हो होटल नै बन्द गरिदियो’ किरणले भने, ‘दुईरतीन महिनासम्म काम विहीन नै भयौं । फेरि मार्चदेखि खुलेको थियो । फेरि बन्द हुन पुग्यो ।’७ लाख रुपैयाँ साहुसँग ऋण लिएर रोमानिया आएको बताउने किरणको मन बेचैन छ । नेपालमा चर्को ब्याजदरमा लिएको ऋणका कारण उनको मन रोमानियामा नै अडिरहन सकेन । किरणले त्यहाँ आफ्नो भविष्य देखेनन् । त्यहाँको वैधानिक कागजातको म्याद छँदै बरु स्पेन जाने निर्णय लिए ।

हवाई टिकट लिएर उनी रोमानिया छोडेर स्पेन आइपुगेका हुन् । उनी स्पेन त आए तर न बस्ने कोठा छ, न चिनेजानेका मान्छे नै । बार्सिलोनाको साग्रदा प्यामिलिया नजिकै एक होस्टलमा उनले १० दिन बिताए । होस्टेलमा बसेको मात्रै उनले दैनिक ३० युरो बुझाए । बिहानरबेलुका खाँदा दैनिक झन्डै ५० युरोसम्म खर्च भएको उनी सुनाउँछन् । होस्टेलमा नै हंगेरीदेखि आएका ४ जना नेपालीलाई पनि उनले त्यहीँ भेटे । ‘अहिले युरोपको अन्तिम गन्तव्य नै स्पेन बनिरहेको छ ।

पोर्चुगलमा सजिलै कार्ड बन्ने प्रक्रिया बन्द भएपछि सबै नेपाली स्पेनमा छिरेका छन,’ किरण भन्छन्, ‘तर काम त परको कुरा बस्ने कोठा पाए पनि ठूलो भाग्य भन्ने भइरहेको छ ।’ तनहुँ मूल घर भएका २९ वर्र्षीय रमेश (नाम परिवर्तन) क्रोएसियाबाट स्पेनको बार्सिलोना आएको भर्खर दुई हप्ता भयो । २ वर्षदेखिको क्रोएसियाको बसाइँ टुंग्याएर स्पेन छिरेदेखि नै उनी तनावमा छन् । ‘स्पेनमा कार्ड बन्न तीन वर्षसम्म लाग्ने रहेछ । नगरपालिका (अजेन्तामेन्तो) मा गएर आफू कुनै घरमा बस्दै आएको भनेर ठेगाना दर्ता (एमपात्रोनामेन्तो) गर्नुपर्ने रहेछ,’ उनले भने, ‘बल्लबल्ल कोठा त पाएँ तर म स्पेनमा बस्न सुरु गरेँ भनेर अझै दर्ता गर्न पाएको छैन ।

अहिले बसिरहेको घरबाट दर्ता गर्न मिलेन । अब यो नभएसम्म म यहाँ बसेको भनेर दिनगन्ती नै सुरु हुने रहेन छ ।’ ‘पहिला ३ सय ५० युरोमा डबल रुम पाइन्थ्यो रे । अहिले ५ सय युरोसम्म पुगेको छ । तीन–चार जनाले एउटै कोठा सेयर गरेर बस्दा पनि प्रतिव्यक्ति २० देखि ३ सय युरोसम्म भाडा खर्च छ,’ उनले भने, ‘होस्टलमा बस्दा झनै खर्च छ । त्योभन्दा महँगोमा भएपनि कोठा लिएर बस्नै पर्यो ।’ स्पेनमा रेसिडेन्सी कार्ड बन्न तीन वर्ष लाग्ने र त्यो अवधिमा वैधानिक तवरले काम गर्न नपाइने भन्ने थाहा पाएपछि उनी निकै तनावमा छन् ।

‘कार्ड नबनेसम्म वैधानिक तवरले काम पाइँदैन भन्छन् । यति महँगो भाडा तिरेर तीन वर्ष कसरी काट्ने र’ रमेशले प्रश्न गरे । तीन वर्ष पुगेर कामको कन्ट्राक्ट खोज्दा मोटो रकम खर्च गरेर कार्ड बनाउँछन् भनेको सुन्दा उनी झनै आत्तिएका छन् ।