• आश्विन १४ २०८१, सोमबार

एभरेष्ट महिला भलिबल लिग आजदेखि, विदेशी खेलाडीमा नजर

आश्विन १४ २०८१, सोमबार

असोज १९ गतेसम्म चल्ने लिगमा ६ टोली सहभागी छन् । सबै टोलीमा विदेशी खेलाडी भएकोले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने प्रशिक्षकहरू बताउँछन् । एभरेष्ट महिला भलिबल लिग आजदेखि, विदेशी खेलाडीमा नजर
१४ असोज, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् । उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे २ बजे उद्घाटन समारोह हुनेछ । आजै साँज ५ स् ४५ बजे मधेश युनाइटेड र कर्णाली यस्विस तथा बेलुका ७ स् ४५ बजे चितवन शक्ति र गण्डकी थण्डर्सबीच खेल हुनेछ ।

फ्रेन्चाइज लिगको मुख्य विशेषता भनेको यसमा सबैले नाम चलेका चर्चित खेलाडीहरू टिममा राख्छन् । यसपटक सहभागी ६ वटै टोलीले ३(३ विदेशी खेलाडी टिममा राखेका छन् । जसले गर्दा लिगको चर्चा नेपालदेखि विदेशसम्म पनि उत्तिकै छ । हरेक टोलीमा १२ खेलाडी हुनेछ । जसमा हरेक टोलीले ट्यालेन्ट हन्टबाट १९१ खेलाडी टिममा समावेश गरेका छन् । ६ टिममा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेष्ट महिला लिग खेल्दैछन् ।

खेलाडीहरूको वर्गीकरणसहित निश्चित रकममा खेलाडीलाई टिमहरुले अनुबन्ध गरेका छन् । जसले गर्दा प्रत्येक खेलाडीले निश्चित रकम पाउनेछन् । यसअघि घरेलु प्रतियोगितामा विभागीय टोलीहरू र अन्य क्लबबीच खेल हुन्थ्यो । जसमा केही टिमले भारतीय खेलाडी ल्याएका थिए । तर, यसपटक भने लिगको नियम अनुसार खेलाडीहरुलाई ड्राप्टमार्फत टिममा समावेश गरिएको छ । हरेक टिममा एक(एक मार्की प्लेअर छन् । लगभग सबै टिमको मार्की प्लेअर नै कप्तानको रुपमा छन् ।

यसमा विदेशी खेलाडी थपिएका छन् । अमेरिका, रसियादेखि भारत थाइल्याण्डसमम्का खेलाडी लिग खेल्न नेपाल आएका छन् । त्यसैले पनि सहभागी टोली कप्तान र प्रशिक्षक उत्साहित छन् । धेरैको नजर विदेशी खेलाडीमै छ । विदेशी खेलाडीमै प्रदर्शन पनि निर्भर रहन सक्छ । किनभने नेपाली खेलाडी र विदेशी खेलाडीको कम्बिनेसन जुन टिमको राम्रो हुन्छ उसैको प्रदर्शन राम्रो हुन्छ । उत्साहित छन् खेलाडीहरू
सहभागी टिमका कप्तान र प्रशिक्षकले फ्रेन्चाइज लिग खेल्न र विदेशी खेलाडीसँगै एक साथ खेल्न उत्साहित रहेको बताएका छन् ।

पहिलो संस्करण भएकोले यो लिग कस्तो होला, खेल कस्तो होला, विदेशी खेलाडीहरू कस्तो खेल्लान् अनि कुन टिमले राम्रो खेल्ला, कसको विदेशी खेलाडी राम्रो होला भनेर लिगअघि चासोको विषय छ । तयारीका लागि थोरै समय पाएकोले टिमहरुले आफ्नो टिमको कम्बिनेसन राम्रोसँग बनाउन पाएका छैनन् । तर, प्राप्त समयमा टिमले नेपाली र विदेशी खेलाडी मिलाएर अभ्यास गरेका छन् । धेरै टिमले तीन विदेशी खेलाडीलाई सेटमै खेलाउनेछन् । विदेशी खेलाडीहरुको उचाइ अग्लो हुँदा उनीहरूलाई फाइदा पुग्नेछ ।

के भन्छन् टिमका प्रशिक्षक ?
काठमाडौं स्पाइकर्सका प्रशिक्षक जगदिश भट्टले विगतको भन्दा इडब्लुभिएल फरक किसिमको रहेको भन्दै यो लिग प्रतिस्पर्धात्मक हुने बताए । ‘सबै टिममा विदेशी खेलाडीहरू छन् । जसले गर्दा खेलमा ऊर्जा थपिन्छ । खेलहरू अझ प्रतिस्पर्धात्मक हुनेछ,’ राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक रहेका भट्टले भने । भट्टले आफ्नो टिमलाई च्याम्पियन बनाउन प्रयास गर्नेछ बताए । यस्तै मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले पनि विदेशी खेलाडी आउँदा नेपाली खेलाडीलाई सिक्ने अवसर हुने र यस लिगले धेरै फाइदा पुग्ने बताए ।

‘युरोपका रसिया अमेरिकादेखि धेरै देशका खेलाडी आउनुभा’छ । हाम्रो खेलाडीलाई सिक्ने अवसर हुनेछ,’ यादवले भने, ‘इडब्लुभिएल आयोजनाले नेपाली भलिबलको विकासमा सहयोग गर्छ ।’ गण्डकी थण्डर्सका मुख्य प्रशिक्षक रुपेश विष्टले पनि यसअघि नेपाली खेलाडीहरू नै एकआपसमा खेल्दै आए पनि यसपटक विदेशी खेलाडीहरू हुने हुँदा प्रतियोगिता रोमाञ्चक हुने बताए । ‘हिजो नेपाली खेलाडीहरु हुन्थे । आज विदेशी खेलाडीहरू छन् ।

उनीहरु खेल्न उत्साहित छौं ,’ केही समयअघि नेपाल पुलिस क्लबलाई काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि दिलाएका विष्टले भने । चितवन शक्तिका मुख्य प्रशिक्षक अर्जुन घिमिरेले आफ्नो टिममा नेपालमै खेलिसकका भारतीय खेलाडीहरु हुँदा टिम कम्बिनेसनमा सहज हुने बताए । ‘हाम्रो टिममा नेपालमा खेलिसकका सुर्या र केपी अनुश्री छन् । यस्तै नेपालकी कप्तान अरुणा शाही छिन् । उनीहरूले पहिले पनि नेपालमा सँगै खेलेका छन् । टिम सन्तुलित छ ।’

ललितपुरका तीन विदेशी खेलाडी ।
ललितपुर क्विन्सका सहायक प्रशिक्षक युकेश हमालले तीन थाइल्याण्डका खेलाडी अनुबन्ध गरेको र टिम राम्रो बनेको बताए । यस्तै कर्णाली यस्विसका मुख्य प्रशिक्षक कुमार राईले पहिलोपटक हुन लागेको महिला फ्रेन्चाइज लिगले महिला सशक्तीकरण र अब पालो महिलाको भन्ने नारासहित गर्न लागेकोमा धन्यवाद दिए । उनले छोटो समय भएकोले राम्रोसँग टिम सेट गर्न नपाएको तर लिग खेल्न उत्साहित रहेको बताए ।

खेलाडीहरू उत्साहित
फ्रेन्चाइज लिग भएकोले आयोजकले हरेक टिममा एक जना मार्की प्लेअर राखेको छ । जो ए क्याटेगोरीका खेलाडीसमेत छन् । उनीहरू पनि यो नयाँ भूमिका र कप्तानीमा लिग खेल्न उत्साहित छन् । काठमाडौं स्पाइकर्सकी मार्की उषा भण्डारी, मधेश युनाइटेडकी मार्की निरुता ठगुन्ना, ललितपुर क्विन्सकी मार्की सलिना श्रेष्ठ, गण्डकी थण्डर्सकी मार्की सरस्वती चौधरी र कर्णाली यस्विसकी मार्की सुमित्रा रेग्मीले पनि विदेशी खेलाडीसँग लिग खेल्न उत्साहित रहेको बताए ।

लिगमा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको उनीहरू सबैको भनाइ छ । ‘ईडब्लुभिएल पहिलो पटक हुँदैछ । यो लिग खेल्न उत्साहित छौं । विदेशी खेलाडीहरू छन् । विदेशी आएर खेल्नु हाम्रो लागि राम्रो हो र सिक्ने अवसर हो, सरस्वती चौधरीले भनिन्, ‘यस्तो गेम भए राष्ट्रिय टिमको प्रदर्शनमा पनि सहयोग पुग्छ ।’यस्तै मधेशकी मार्की निरुता ठगुन्नाले लिगले सबैलाई उत्साहित बनाएको बताइन् । ‘यस्तो लिगहरू भयो भने नयाँ खेलाडीहरू पनि आउँछन् । यसले भलिबलको विकासमा पनि सहयोग गर्छ,’ निरुताले भनिन् ।