• आश्विन ११ २०८१, शुक्रबार

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल

आश्विन ११ २०८१, शुक्रबार

११ असोज, काठमाडौं । काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ । दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन् । फुल्डेन बलियो आक्रामक र रक्षात्मक क्षमताका लागि परिचित छिन् । उरालले भलिबल नेसन्स लिग २०१८ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छिन् । क्लब स्तरमा भने उनले टर्किस महिला भलिबल लिगमा धेरै सिजन खेलिसकेकी छन् ।

उनले टर्कीका केही शीर्ष भलिबल टोलीहरूको प्रतिनिधित्व गर्दै सीईभी कप २०२२र२३, च्यालेन्ज कप २०२१र२२ र बीभीए कप २०१४र१५ मा पनि भाग लिएकी छन् । काठमाडौं स्पाइकर्समा आबद्ध १८६ सेन्टिमिटर उचाइकी उराल सबैभन्दा अनुभवी खेलाडी हुन् । काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले उरालको आगमनपछि टिम बलियो बनेको बताइन् । ‘फुल्डेन उराललाई आफ्नो टोलीमा सामेल गर्न पाउँदा हामी खुशी छौं ।

हामीले एभरेष्ट महिला भलिबल लिगको यस सिजनमा बलियो प्रतिष्पर्धा गर्ने लक्ष्य राखेका छौं । त्यसैले हामीलाई विश्वास छ अन्तर्राष्ट्रिय र क्लब स्तरका प्रतियोगिताहरू खेलेको उनको लामो अनुभवले हाम्रो टोलीलाई विशेष फाइदा हुनेछ ।’
काठमाडौँ स्पाइकर्समा अनुबन्ध भएसँगै फुलडेन उरालले आफ्नो उत्साह व्यक्त गरिन्, ‘काठमाडौं स्पाइकर्सको हिस्सा हुन पाउँदा म खुशी छु । म आफ्नो अनुभव नेपालमा ल्याएर टोलीका लागि यस रोमाञ्चक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तत्पर छु ।’

फुलडेन उराल भित्रिएपछि काठमाडौं स्पाइकर्सले पहिलो सिजनमा सफलता हात पार्ने विश्वास राखेको छ । काठमाडौंले यसअघि नै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभा र टर्किस अपोजित हिटर पेलिन एरोक्टालाई अनुबन्ध गरिसकेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारी छिन् ।

काठमाडौं टिम स् उषा भण्डारी, कमला पुन, आरती सुवेदी, कोपिला राना, उषा विष्ट, निशा महरा, बसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट),
विदेशी खेलाडी स् आन्द्रे टिसेतानोभा, पेलिन एरोक्टा, फुल्डेन उराल