मङ्गलबारे (इलाम), ८ भदौ । इलामको रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ । गाउँपालिकामा रहेका तीन सहकारीलाई एउटै सहकारी बनाइएको थियो ।
गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँसपोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए । चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ ।
उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ । बेसार बजारमा ल्याइएको छ । उत्पादित बेसार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले बताउनुभयो । गएको वर्षबाट नै किसानलाई बीउ वितरण गरिएको उनको भनाइ छ । गाउँपालिकाले सहकारीलाई बेसार वितरण गरेको थियो ।
बेसार एक किलो ग्रामबाट २० किलो ग्रामसम्म उत्पादन भएको छ । बँदेल, बाँदर लगायतका जङ्गली जनावरले बारीमा लगाइएको अन्न तथा नगदेबालीमा असर पु¥याउन थालेपछि किसानले बेसार लगाउन थालेका हुन् । हाल दुई सय ९५ किलो धुलो बेसार तयार भएको बताइएको छ । सहकारीमा चार सय ५५ सदस्य रहेका छन् । यस वर्ष एक हजार नौ सय ९५ किलो बेसार गाउँपालिकाका वडा नं ३, ४ र ५ मा वितरण गरेर खेती गरिएको छ । यसको बजार खोज्न समस्या नभएको बताइएको छ ।
झापाको विर्तामोड नजिकै भएकाले पनि यहाँ उत्पादित बेसारलाई बजारीकरणमा खास समस्या नरहेको बताइएको छ । बेसार दैनिक उपभोग्य वस्तु भएकाले रोङमा आएर पनि उपभोक्ताले बेसार लैजाने गरेको किसानको भनाइ छ । तयारी बेसार रु पाँच सयदेखि रु एक हजार प्रतिकिलो पर्ने गरेको छ ।