काठमाडौें । सोलुखुम्बुमा गत साता थाङ्बो हिमताल अकस्मात फुटेर बाढी आउँदा थामे गाउँ नै बगाउने गरी गेग्रान माटोसहितको बाढीले ७ वटा घर र पाँच वटा होटल बगायो ।
अकस्मात आएको बाढीले धेरै घरमा क्षति पु¥याए पनि मानवीय क्षति भने भएन । दिउँसोको समयमा बाढी आएकाले घरमा भएका मानिस पनि सुरक्षित स्थानमा गएर ज्यान जोगाए । जलवायु परिवर्तन र हिमालमा बढ्दै गइरहेको तापक्रम बृद्धि असर हिमाली क्षेत्रमा पर्दा हिमताल फुटेको निष्कर्श राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराइसकेको छ ।
प्राधिकरणका अनुसार पाँच वटा हिमताल मध्ये तीन वटा यथावत रहेको र जोखिममा छन् या छैनन् भन्ने बारे अध्ययन गर्नुपर्ने बताएको छ । त्यसो त दुई हिमताल फुट्नु अघि त्यस थाङ्बो हिमाल आसपास लगातार सात दिनसम्म पानी परेको रेकर्ड पाइन्छ । सात दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन भएको छ । जलवायु परिवर्तन त्यसमा पनि हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण पनि हिमताल फुटेको निष्कर्श छ । साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमशः वृद्धि भई ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस थियो । तापक्रम बृद्धिसँगै हिउ पग्लने दर पनि बढ्ने र त्यसको असर हिमतालमा पर्ने देखिन्छ ।
पछिल्लो एक दशकमा सोलुखुम्बु क्षेत्रमा ६ सय २६ वटा हिमताल रहेको पाइन्छ । तापमान बृद्धिसँगै हिमताल थपिने क्रम पनि बढिरहेको एक अध्ययनले देखाएको छ । जलवायु परिवर्तन विज्ञ श्यामभक्त अधिकारीका अनुसार हिमतालको क्षेत्रफल पछिल्लो समय बढ्दै गइरहेको र हिम नदीको क्षेत्रफल भने घट्दै गइरहेको अध्ययनले देखाएको छ । अधिकारीका अनुसार पहिला हिउँ मात्रै पर्ने ठाउँमा अहिले निरन्तर वर्षा हुनु र हिउँहरु पनि पग्लने क्रम तिब्र गतिमा बढिरहेकाले जोखिम झनै बढेर गएको छ ।
गत साता फुटेको थाङ्बो हिमताल यसअघि खतराको सूचीमा थिएनन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले २०७७ सालमा गरेको संयुक्त अध्ययनमा ४७ वटा हिमताल उच्च जोखिममा रहेको औल्याए पनि सो हिमताललाई खतराको सूचीमा परेको देखिदैन । सो हिमताल एक्कासी फुट्नुले नेपालमा अन्य खतरा नभनिएका हिमताल पनि फुट्ने खतरा देखिएको छ । इसिमोडले हिमताल फुट्ने जोखिममा हिमतालको आकार, प्राकृतिक बाँधको अबस्था र हिमपहिरोको अबस्था बारे अध्ययन गरेर यसअघि नेपालमा ४७ वटा हिमताल जोखिममा भनेर रिपोर्ट सार्वजनिक गरेको थियो । जस मध्ये पनि २१ वटा हिमताल उच्च जोखिममा भनेर आफ्नो रिपोर्ट सार्वजनिक गरेको थियो ।
यसअघि ठूला हिमताल मात्रैलाई अध्ययन गरेर जोखिमयुक्त भनेर वर्गीकरण गरिरहदाँ अब भने सानो हिमतालको जोखिमको पनि अध्ययन सोलुखुम्बुमा फुटेको थाङ्बो हिमतालले सो संकेत गरेको छ । यसअघि पनि हिमतालको जोखिम नभएको होइन । सन् २०१६ मा तिब्बततर्फ हिमताल फुट्दा नेपालले पनि क्षति व्यहोर्नु परेको थियो । सिन्धुपाल्चोकको भोटेकोशी जलविद्युत् आयोजनादेखि खाडी चौरसम्मको आसपासमा ठूलो क्षति पुगेको थियो । हामीले त्यति बेलै तिब्बतमा फुटेको हिमतालको विषयमा अलि सचेत भएर नेपालमा पनि पूर्व तयारी गर्नुपथ्र्यो तर, त्यसो नगरिएको जलवायु विज्ञ अधिकारी बताउँछन् । अब पनि सचेत हुने बेला भने आइसकेको छ । नेपालमा जोखिममा भनिएका ४७ वटा हिमतालको बारे थप अध्ययन गरेर त्यसबाट क्षति पुग्ने ठाउँका मानिसलाई सुरक्षित स्थान राख्न सकिन्छ । तर, राज्यले त्यसतर्फ ध्यान दिएको पाइदैन । जलवायु परिवर्तन र बढ्दो तापक्रम बृद्धिको असर हिमालमा पर्दा हिम पहिरो गई हिमताल बन्ने र फुट्ने सम्भावनाको विषयमा सरकारले चासो देखाएको पाइदैन ।
यसअघि सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)को अन्वेषकको रिपोर्ट अनुसार हिमनदीबाट पग्लने बग्ने हिमनदी सन् २००९ देखि २०१९ सम्म वर्षेनी ६० मिटरले पछि हटेको देखिन्छ । पछिल्लो दुई दशकयता नेपालमा सबै भन्दा बढी गर्मी हुदाँ अधिकतम तापक्रम सामान्यभन्दा बढी रेकर्ड भएको पाइन्छ । यसले पनि के देखाउँछ भने हिमाली क्षेत्रको बस्ती हिमनदी र हिमतालको उच्च जोखिममा रहेको छ । ईसिमोडको रिपोर्ट अनुसार नै नेपालमा ४ सय ५० वर्षमा २४ वटा हिमनदी फुटेको तथ्यांक देखिन्छ । जसमध्ये पनि १६ वटा पछिल्लो ६० वर्षमा विष्फोट भएको पाइन्छ ।
अनुगमन किन सहज हुँदैन ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि पूर्व चेतावनी प्रणालीको जडान नगर्दा तत्कालै सूचनाको जानकारी दिन सकेको देखिदैन । सोलुखुम्बुमा भएको हिमताल विष्फोटको घटनापछि भने प्राधिकरणले जोखिमयुक्त हिमतालको अनुगमन गर्ने र प्राविधिक टोलीले तत्काल काम थाल्ने जनाएको थियो । यसअघि सरकारको ध्यान हिमताल र हिमाली भेगको जोखिमको विषयमा प्रभावकारी काम हुन सकेको थिएन ।
इसिमोडको तथ्यांकले नेपालमा २१ वटा हिमताल उच्च जोखिमम रहेको उल्लेख छ । ति मध्ये हालसम्म ठूला हिमताल मध्ये १६ वटा कोशी आसपासमा, २ वटा गण्डकीमा र एउटा कर्णाली जलाधार क्षेत्रमा छन् । जोखिममा परेका हिमताल नदी प्रणालीसँग जोडिएको छ । जोखिममा परेका हिमताल फुट्नबाट जोगाउन यसअघि पनि काम नभएका होइनन् । सन् २००० मा दोलखामा रहेको च्छो रोल्पा हिमताल फुट्ने खतरा देखिएपछि पानीको सतह तीन मिटर भन्दा बढी र सन् २०१६ मा पुन ३.४ मिटरले पानीको सतह घटाइएको थियो । तर, लामो समयदेखि साना ठूला सबै हिमतालको विषयमा अध्ययन भएको भने पाइदैन । यसअघि चिन्ताको रूपमा नहेरिएका साना हिमताल फुटेरै यस्तो विपद् सिर्जना भएको परिस्थितिलाई अब हामीले शिक्षाको रुपमा लिनुपर्ने भूगर्भशास्त्री बताउँछन् । हामीले प्रणालीको मात्रै भर नपरेर त्यसको स्थलगत अध्ययन पनि गर्नु जरुरी रहेको भूगर्भशास्त्रीको भनाई छ ।
चार नेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरुले यहि वर्ष साइन्स अफ दि टोटल इन्भाइरोमेन्टको सात वटा लेखमा हिमबाढीको सम्भावना र अबको चुनौतिका बारेमा प्रष्टाएका छन् । नेपालीहरुमा नितेश खड्का, मनिषराज गौली, भाष्कर श्रेष्ठ र शंकर शर्मा छन् । चिनियाँ अनुसन्धानकर्ताहरुमा स्याओछिङ चन, वेइमिङ लिउ र छोङ्लाइ चाङ रहेका छन् । उनीहरुको खोजमुलक अनुसन्धानको लेख अनुसार तिब्बत र नेपाल सीमा जोड्ने सडक क्षेत्रमा किमाथांका, कोदारी, केरुङ र ताक्लाकोट सडक क्षेत्रमा २,६८८ हिम ताल छन् । उनीहरुको रिपोर्ट अनुसार १ सय ४४ वटा खतराको सूचीमा रहेको उल्लेख छ । तापमान बृद्धिसँगै सो ताल फुटेमा नेपालको सीमा क्षेत्रमा रहेको क्षेत्र र तिब्बतको पठार क्षेत्रमा ठूलो क्षति हुन सक्ने आंकलन उनीहरुले गरेका छन् ।
रसुवागढीसँग नजिक रहेको क्षेत्र चीनतर्फ साना ठूला गरी २६५ हिम ताल छन् भने नेपाल तर्फ १ सय ७ हिमताल रहेको अनुसन्धानमुलक लेखमा उल्लेख छ । तर सो बारेमा हालसम्म चिन्ता व्यक्त गरेको पाईदैन । बढ्दो तापमान बृद्धिले हिमताल फुट्ने सम्भावना पनि उत्तिकै हुन्छ भने हिमाली क्षेत्रमा हिमपहिरोसँगै हिमबाढीको जोखिम पनि उत्तिकै छ । त्यसका लागि समयमा सतर्कता अपनाउनु पर्नेछ ।