बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन। यो धागोलाई जनै भनिन्छ। जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ। हिन्द धर्ममा जनैको विशेष स्थान छ ।
हिन्दू धर्मशास्त्रमा जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात ज्ञानको धागो भनिन्छ । जसमा नौ डोरा हुन्छ ।
तीन सुता भएको धागालाइ नछिनालीकन संकलन गरेर बराबर पारेर बाटी त्यसलाई तीन भागमा बनाई बाट्दा नौ डोरा हुन्छ । जनैमा रहने तीनवटा शिखाका नौवटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई, ब्रह्मा, विष्णु र महेश्वर अर्को तीनमा कर्म , उपासन र ज्ञानयोग र अर्कोमा ऋषिऋण, पितृऋण र देवऋणको प्रतीक र सूचक मानिन्छन् ।यसैगरी सत्व, रज, तमको र ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रमको पनि प्रतीक र सूचक मानिन्छ, संन्यास आश्रममा यज्ञोपवित लाई विसर्जन गरिन्छ । यसले गर्दा सदैव दायित्व र कर्तव्यबोधको बाटोमा डोर असल पथिक बनाउनेछ भन्ने मान्यता छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
वैदिक मन्त्र द्वारा शोधन गरि हातमा डोरो लगाउने र अभिमन्त्रित रक्षासूत्र ब्राह्मणद्वारा सबै यजमानका हातमा लगाइदिने परम्परा छ । त्यसो त जनैपूर्णिमाका चारपक्ष रहेका छन ।
श्रावणी स्नान, यज्ञोपवित , रक्षाबन्धन र ऋषि तर्पणी ।
प्राचीन वैदिक कालखण्ड देखि मनाउँदै आएको श्रावण शुक्ल पूर्णिमाको दिन, विधिवत ढंगबाट शास्त्रीय मर्यादाले मन्त्रिएको नयाँ जनै तथा रक्षासूत्र डोरो लगाएर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।
जनैको नौसूतामा भिन्न भिन्न नौ देवताको अधिष्ठान छ। भनिएको छ:
ॐकारः प्रथमे तन्तौ द्वितीयेऽग्नि स्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं षष्ठे चैव प्रजापति ।
सप्तमे मारुतश्चैव ह्यष्टमे सूर्य एव च ।।
सर्वे देवास्तु नवम इत्येतास्तन्तु देवतास्।
ब्रह्मणोत्पादितं सूत्रं विष्णुना त्रिगुणी कृतम् ।
रुद्रेण दत्तो ग्रन्थिर्वै सावित्र्या चाभिमन्त्रितम् ।।
ती देवताहरुका पनि नौ गुण रहेका छन । पहिलो देवता ॐ कारको गुणहो ब्रहज्ञान, दोस्रो अग्नि देवको गुणहो तेज, तेस्रो अनन्त देवको गुणहो धैर्य, चौथो चन्द्रदेवको गुणहो शान्ति शीतलता , पाँचौ पितृदेवको गुणहो स्नेहशीलता, छैठौं प्रजापति देवताको गुणहो प्रजापालन, सातौं वायुदेवको गुणहो बल, आठौं सूर्यदेवको गुणहो प्रकाश, नवौं सर्वदेवताको गुणहो सात्विकता । यी गुणहरुको प्रतीक मानिने यज्ञोपवीत लाई ब्रह्माले सूत्र पैदा गर्नुभो, विष्णु ले तीनगुना गर्नुभो , शिवजीले गांठो पार्नुभो, र सावित्रीले अभिमन्त्रित गर्नुभयो । यस्तो पवित्र यज्ञोपवित विधिपूर्वक पूजा गरि धारण गर्नाले सम्पूर्ण उक्त गुणहरुले भूषित हुन जान्छ भन्ने विश्वास गरिन्छ ।
शास्त्रमा भनिएको छ
पौर्णमास्यां श्रावणस्य स्नानकर्म समाचरेत्
ऋषि तर्पणकं कुर्यात् ब्राह्मणस्य प्रपूजनम्
पौर्णमास्यां दक्षहस्ते कङ्कणं धारयेत्तुवै ।
बर्षदिन सम्म हुनगएको त्रुटिजन्य प्रत्यवाय शान्तिको निमित्त उपाकर्म र उत्सर्जन कर्म गर्नुपर्छ । बिहानै उठी पञ्चगब्य प्राशन गरेर , कुश, दूबो, अपामार्ग, तिल, जौ, शुद्ध माटो , सप्तमृत्तिका, गाईको गोवर, खरानी र भस्म आदि लिएर पोखरी, ताल, तलाउ, कुवा , नदी , तीर्थ वा जलाशयमा गएर वैदिक मन्त्रद्वारा शरीरमा लगाई स्नान गर्ने परम्परा छ, यसलाई श्रावणी स्नान वा गण स्नान पनि भनिन्छ । यसैगरी यसदिन स्नानपछि देह शुद्ध गरि जौ, तिल र कुशद्वारा देवता, ऋषि र पितृहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ, र सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनै पूर्णिमाको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरुको मान सम्मानमा ऋषि तर्पण गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ ।