• आश्विन १२ २०८१, शनिबार

सरसफाईको नाममा अर्बौ खर्चियो, फेरिएन बागमतीको रुप

श्रावण २५ २०८१, शुक्रबार

काठमाडौें । ५० वर्षअघि टेकुका ७० वर्षका हरिभक्त महर्जन बागमतीको कञ्चन पानीमा डुबुल्की मार्थे। त्यतिबेलाको कञ्चन पानी यतिबेला बागमतीमा भेट्न सकिन्न। डुङ डुङ गन्हाउने बागमतीको पानी छेउ जो कोही पनि उभिन गाह्रो हुने अवस्था छ । पहिला सानोमा हामी नुहानेदेखि लूगा धुनेसम्मको काम बागमती नदीमा गर्थ्यौ । दिन बित्दै जादाँ अहिले बागमतीले रुप फेरिएको छ ५० वर्षअघिको त्यो बागमती ढलमतीमा परिणत भएकोमा उनी चिन्तित छन् । ‘बागमतीमा सफा पानी बग्थ्यो भनेर अहिलेको पुस्तालाई भन्यो भने कथा भन्यो भन्छन्,’ हरिभक्त विगतको दिनलाई सम्झदै भन्छन् ‘आहा त्यो कञ्चनपना, त्यो बागमती सम्झदा पनि आनन्द महसुस हुन्छ ।’

महर्जन जस्तै गुहेश्वरीका ७४ वर्षका विष्णु श्रेष्ठको अनुभवमा बागमतीको सुन्दरता हराउन थालेको लामो समय भयो । हिजो सिमित घर थिए ढल बग्दैनथ्यो त्यो बेलामा बागमतीको पानी पिउन योग्य थियो तर आज घरको ढल सिधै खोलामा मिसाउँदा ढल मात्रै बग्न थालेको उनको भनाई छ । ‘हिजोकै अबस्थामा फर्काउन सम्भव म चाँही देख्दिन श्रेष्ठ भन्छन् , ‘सरकारले शुरुमै बागमतीको सभ्यताको विषय बिर्सेपछि अहिले स्वच्छ बनाउँछु भनेर केही सिप लाग्ने म देख्दिन ।’ ‘हिजोको त्यो चरिचरण त्यो स्वच्छता अहिले कहाँ पाइन्छ र , श्रेष्ठ प्रश्न गर्दै भन्छन् ‘ जथाभावी घर बनाउने र ढल खोलामा मिसाएर पनि सफा गर्छु भनेर हुन्छ ?’

बागमती नदीलाई सफाई र स्वच्छ राख्ने उद्देश्यले सरकारले अर्बो रुपैयाँ खर्च गरे पनि रुप फेरिन सकेको छैन । सरकारले बागमतीलाई जीवन्त बनाउनका लागि बागमती सभ्यता एकीकृत विकास समिति मार्फत् २९ वर्षमा २२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । तर, बागमतीको रुप उही ढलमतिमा रुपान्तरित छ ।
बागमतीलाई स्वच्छ सफा राख्नका लागि शिवपुरी जलाधारदेखि चोभारसम्म सरसफाईको विभिन्न योजना बनाएर सफा गरिए । तर, बागमतीको अबस्थामा भने परिवर्तन आउन सकेको छैन ।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता अभियानको नाममा हप्तौसम्म बागमतीभित्रै पसेर फोहोर सफाइ गर्ने काम नभएको पनि होइन । जसमा नेपाल सरकारका मन्त्रिदेखि मुख्यसचिव, पर्यावरणविद्, संरक्षणविद्, अभियन्ताहरुले अभियानकै रुपमा काम गरे । जति सफाई गरे पनि सुन्दरीजलदेखि चोभारसम्म जलचल र बनस्पति बाँच्न सक्ने अबस्थासम्म छैन । वागमतीको पानी परीक्षणको नतिजाले सफाइमा अर्बौ रुपैयाँ खर्चिए पनि यसले कुनै प्रभाव नपारेको देखाएको छ ।

नदी प्रणालीलाई जीवन्त बनाउने उद्धेश्य र वातावरणीय विकास गर्ने उद्देश्यानुरूप ०५१ चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको थियो । उक्त समितिलाई ०५२ मंसिरमा अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति नामकरण गरी पुनर्गठन गरिएको थियो । ०६५ जेठमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरी कार्यक्षेत्र विस्तार गरियो । यसैले वागमती सफाइ कार्य गर्दै आएको छ । समितिको अवधि सकिएपछि गएको साउनमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ०८३ असारसम्म म्याद थप गर्ने निणर्य गरिएको छ ।

बागमतीको अबस्था बुझ्नका लागि गएको साल बागमती सभ्यता एकीकृत विकास समितिले फागुन १६ र २९ गते सुन्दरीजलदेखि चोभारसम्म ११ स्थानबाट नमुना संकलन गरेर परीक्षण गरेको थियो । फागुन १६ गते सुन्दरीजल, गोकर्ण, जोरपाटी, गुह्येश्वरी र आर्यघाटबाट वागतीको पानीको नमुना संकलन गरिएको थियो । फागुन २९ गते मीनभवन, मनोहरा र वाग्मती मिसिएको स्थान, थापाथली, बागमती र विष्णुमती मिसिएको स्थान, सुन्दरीघाट र चोभारमा नमुना संकलन गरिएको थियो ।

विभिन्न स्थानबाट संकलन गरिएको पानी परीक्षण गर्दा अबस्था भयावह देखिने खालको छ । परीक्षण गर्दा बग्ने ढल र बागमतीको पानीमा कुनै भिन्नता पाउन सकेन । अत्याधिक फोहोर भएका कारण बागमतीका पानीमा बनस्पति उम्रने अबस्थामा समेत नदेखिएको पानी परीक्षणले देखाएको छ । बागमती र ढलको गुण्स्तर उस्तै प्रकृतिको देखिएको छ । यसो हुनुमा घरबाट बग्ने ढल सिधै बागमतीमा मिसाउनुको कारण पनि एक भएको पर्यावरणविद् विनोद डंगोल बताउँछन् ।

सरकारले जलस्रोत ऐन, २०४९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड र यसको कार्यान्वयन तय गरेको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ मा खानेपानीमा धमिलोपना (टर्बिडिटी) बढीमा पाँच एनटीयू सम्मलाई मान्यता दिइएको छ ।

सुन्दरीजलमा धमिलोपना सात एनटीयू, गोकणर्मा १०७, जोरपाटीमा २०८, गुह्येश्वरीमा ५०, आर्यघाटमा १२१, मीनभवनमा ३०८, मनोहरा र वाग्मतीको संगमस्थलमा २७१, थापाथलीमा ३००, वाग्मती र विष्णुमतीको संगमस्थलमा २६८, सुन्दरीघाटमा ३६९ र चोभारमा ३६० एनटीयू रहेको परीक्षणमा देखिएको छ ।

परीक्षण नतिजा हेर्दा बागमतीको पानी बनस्पतिमा हाल्न लायक पनि उपयुक्त नदेखिएको नास्टका बैज्ञानिकहरुको भनाई छ । बागमतीमा मिसिने अनेक खालको फोहोरेले बागमती जति तल गयो उति नै प्रदुषित बन्दै गएको परीक्षण रिपोर्टले देखाएको छ । बागमती मात्रै होइन काठमाडौंको विष्णुमति र रुद्रमतिको अबस्था पनि उस्तै भयावह रहेको देखिन्छ । फोहोरजन्य सामग्री जथाभावी नदीमा फाल्ने र उस्तै परे रसायनिक पानी पनि ढलमार्फत् नदीमा फैलिरहेको पाइएको छ । जसले जलचर प्राणीलाई पानीमा बाँच्नसमेत ग्राहो भइरहेको छ । दूषित पानीका कारण बागमतीमा जलचर प्राणी पछिल्लो समय हराउँदै गएको एक तथ्यांकले देखाएको छ ।

पिउनयोग्य पानीमा फोसफोरसको मात्रा प्रतिलिटर ०.०५ देखि ०.१ मिलिग्रामभन्दा बढी हुनु हुँदैन । बागमतीको पानीमा बढी कोलिफर्म देखिनु र अक्सिजन पनि नदेखिनुले जलचरप्राणी बाँच्ने सम्भावना पनि नदेखिएको परीक्षणले देखाएको छ । वागमतीको पानी परीक्षण गर्दा फोसफोरसको मात्र सुन्दरीजलमा ०.१०, गोकणर्मा १.२२, जोरपाटीमा १.६४, गुह्येश्वरीमा १.४२, आर्यघाटमा १.८१, मीनभवनमा ५.२०, मनोहरा र वागमतीको संगमस्थलमा ५.८८, थापाथलीमा ६.०४, वाग्मती र विष्णुमतीको संगमस्थलमा ५.८२, सुन्दरीघाटमा ६.१० र चोभारमा ५.६२ मिलिग्राम पाइएको छ ।

पिउने पानीमा कोलिफर्म हुनु हुँदैन । तर परीक्षणका क्रममा धेरै ठाउँमा कोलिफर्मको मात्रा अत्याधिक पाइएको छ । परीक्षणमा सुन्दरीजलमा प्रति १०० मिलिलिटरमा ७५० सीएफयू, गोकणर्मा दुई लाख ५० हजार सीएफयू, जोरपाटीमा चार लाख ३० हजार, गुह्येश्वरीमा एक लाख ६० हजार, आर्यघाटमा ६ लाख ९० हजार, मीनभवनमा ७२ लाख, मनोहरा र वागमतीको संगमस्थलमा एक करोड २० लाख, थापाथलीमा एक करोड ७० लाख, वागमती र विष्णुमतीको संगमस्थलमा ६८ लाख, सुन्दरीघाटमा ८९ लाखर चोभारमा ५१ लाख सीएफयू पाइएको छ ।

परीक्षणमा वागमतीको पानीमा घुल्ने अक्सिजनको मात्रा (डीओ) एकदमै कम देखाएको छ । प्रतिलिटर सुन्दरीजलमा ८.५ मिलिग्राम, गोकणर्मा ४.१, जोरपाटीमा १.६, गुह्येश्वरीमा २.८ र आर्यघाटमा ०.५ मिलिग्राम देखिएको छ । परीक्षण गरिएका अरू स्थानमा घुल्ने अक्सिजनको मात्रा शून्य देखिएको छ ।

वागमतीको मुहानसँगै शिवपुरी जलाधारदेखि चोभारसम्म स्वच्छ र सफा राख्न समितिले हालसम्म करिब २२ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । समितिले आर्थिक वर्ष ०५१/०५२ देखि आर्थिक वर्ष २०७९/८० सम्म २९ वर्षको सो रकम खर्च गरेको हो । तर, बागमती सरसफाइका लागि खर्च गरेको पानी बालुवामा पानी खनाए सरह भएको छ । २९ वर्षमा पानीसँगै २२ अर्ब बग्यो तर, थोरै पनि सुधारको संकेत देखिएको छैन । वागमती सफाइका नाममा प्रत्येक वर्ष औसतमा करिब साढे ७५ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।दीर्घकालीन सोच बनाएर नदी सरसफाई गरेपनि उपत्यकामा निर्माण भएका घरको ढल व्यवस्थापन राम्रोसँग नगर्दा नदी प्रदुषित हुने क्रम रोकिएन । बोरु दैनिक प्रदुषित हुने मात्रा बढ्दै गएको पाइन्छ । वर्षायाममा केही सफा जस्तो देखिएपनि हिउँद लाग्दा नलाग्दै नदीको अबस्था उही ढलमा सिमित हुन पुगेको देखिन्छ ।

२९ वर्षको अवधिमा सरकारले २२ अर्ब रुपैयाँ बजेटबाट वाग्मती र यसका सहायक नदी किनारामा ८८.५९ किलोमिटर इन्टरसेप्टर ढल निर्माण, दुवै किनाराका कोरिडोर सडकहरू बनाइएको छ । त्यहाँ ३२.५६ किलोमिटर सडक कालोपत्र भएको छ । ७३.३ किलोमिटर नदी नियन्त्रणका काम भएको छ ।

टेकुस्थित वागमती किनारामा २८ धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका धरोहर पुनर्निर्माणको काम पूरा भएको छ । गोकणर्देखि सिनामंगलसम्म र थापाथली पुलदेखि बल्खुसम्म वाग्मतीको किनारामा सौन्दर्यीकरण तथा वातावरणीय सुधार र धाप ड्याम निर्माण सकिएको छ ।

टुकुचामा ढल प्रशोधन केन्द्र निर्माणकाे काम भइरहेको छ  । गुह्येश्वरी ढल प्रशोधन केन्द्र बनाइएको छ । खानेपानी मन्त्रालयअन्तर्गतबाट सात फोहोर पानी प्रशोधन केन्द्र निर्माणाधीन छन् । विष्णुमती र धोबीखोला समेत फोहोर पानीमुक्त बनाउने प्रयास भइरहेता पनि प्रशोधन केन्द्र निर्माणका निम्ति जग्गा उपलब्ध हुन सकेको छैन ।

वागमती कार्ययोजना (सन् २००९-२०१४) स्वीकृत भई साेही अनुसार केही काम गरिएको छ ।  वितेको २९ वर्षमा २२ अर्ब  रुपैयाँ खर्चंदा पनि वागमती नदी सफा नभएपछि अर्को योजना बनाउन समितिले तयारीको काम गरिरहेको छ । वागमती र यसका सहायक नदीमा वातावरणीय सुधार ल्याउन र समग्र वाग्मतीको जलधार संरक्षण गर्न अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले २०८० देखि २१०० (२०वर्ष)लक्षित गरी बीस वर्षे कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनाबारे सरोकारवालासँग बृहत् अन्तरक्रिया गरी अन्तिम रूप दिने कार्य जारी छ । नयाँ २० वर्षे कार्ययोजना कार्यान्वयन गर्न दुई खर्ब ७९ अर्ब ६० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।