• मंसिर ११ २०८१, मंगलवार

साँखुमी बाज्या र गठे मुग:

श्रावण १८ २०८१, शुक्रबार

हरेक वर्ष घण्टाकर्णको दिन मलाई  एकजना बुढा पाकाको याद आइरहन्छ । उहाँ  हुनुहुन्छ साँखुमी बाज्या l उहाँको वास्तवीक नाम थाहा छैन l उहाँ साँखुबाट बेटीमाया अजीसंग वैवाहिक सम्बन्ध गाँसेपछि नालामै रहनु भएको रे । साँखुमी बाज्याका कुनै पनि सन्तान थिएन । उहाँ हरेक दिन खुब मेहनत गर्नु हुन्थ्यो । उहाँको घरको छेडीमा छ सात वटा भेडाहरू कहिल्यै टुट्दैन्थ्यो ।

हरेक दिनजसो वांता बनमा गएर पटकर ल्याउने र भेडाहरू चढाउन लैजाने  उहाँको दैनिकी थियो । यसको अलावा उहाँ वैधको काम यानेकी झारफुक पनि गर्नु हुन्थ्यो । प्रायजसो सेतो धोती लाउने र निधारभरि चण्डन लाउनु हुन्थ्यो । अली कुप्रेर हिंड्नु हुन्थ्यो । दाहिने हातको बुढी औंला काटिएको थियो । मैले बच्चामा बाजे यो के भएको भनेर सोध्दा बाघसँग लडेको हुनाले बाघले खाएको भन्नु हुन्थ्यो । रसिलो, सोझो र परिश्रमी उहाँको चिनारी नै थियो ।

नेवारहरूले घण्टाकर्णलाई गथांमुगः भनिन्थ्यो । उक्त दिन काभ्रे नालाका प्रत्यक    टोलमा छवालीको घण्टाकर्ण बनाउने चलन थियो । यो पर्व हामी केटाकेटीहरूलाई खुब रमाइलो लाग्थ्यो । यो पर्वमा मिठो मिठो खानेकुरा पकाएर खाँदैन तर पनि हेर्न र खेल्न खुब मज्जा आउँथ्यो । सबै टोलको बच्चाहरू आआफ्लो टोलमा छ्वाली माग्ने र टोलको एक ठाउँमा जम्मा गरी जहाँ घण्टाकर्ण बनाउथ्यो ।

नाला दूपिचा टोलमा बनाउने घण्टाकर्णमा सधै जसो साँखमी बाज्याले छवालीको कलात्मक मुकुट वरपर रहने माला बनाउन बनाउनु हुन्थ्यो । पुरानो नाङ्लोमा ठूल ठूला आँखा, नाक, मुख बनाउने र छ्वालीको कलीमा राख्ने हात, खुट्टा बनाउने गरिन्थ्यो । पुरुष जनेन्द्रिय अंग पनि दुरुस्त बनाउने गरिन्थ्यो । प्रत्येक घर घरमा रहेका केटाकेटीहरुको पुराना तालाहरूबाट बनाएका पुतलीहरू त्यस दिन माला बनाएर त्यही घण्टाकर्णलाई लगाइन्थ्यो । साना साना बच्चाहरूले बनाएका यस्ता पुतलीहरु बर्सौसम्म खेल्दा पुरानो धुलो मैलो र फोहर भई विभिन्न किटाणुहरु समेत हुने भएकोले त्यसलाई हटाएर नयाँ बनाउनु यो यनि एउटा सकरात्मक कार्य हो ।

नेवार समुदायमा वर्षभरिको चाडपर्वहरू घण्टाकर्णको दिन देखि शुरु हुन्छ । वर्षभरिको अन्नको लागि धान रोप्ने काम सिध्याएर चाँडपर्व शुरु हुन्छ । घण्टाकर्ण यानेकी गथांमुगः चः ह्रे भूतप्रेत हटाउने, रोग व्याधी नलागोस भनेर मनाउने चाड हो। प्रत्येक घरबाट त्यस दिन दुई दुई छ्वालीको मुठामा सिस्नो, कर्कलो, च्वाकं, भुई स्वां, धसिंगर आदि जडीबुटीहरूका हाँगाहरु राखेर बाँधेर घरको भान्छाकोठा देखि सम्पूर्ण कोठाहरूमा धुँवा लगाउने र आफ्नो घरको अगाडी रहेको पिखालखुमा समेत लगाई घण्टाकर्ण संगै ‘पे भौ’  भन्दै नजिकैको खोलामा लगेर सेलाउने साथै खोलामा हातमुख धुएर कुनै कुनैले नुहाएर आउने गर्दथे ।

वास्तवमा घण्टाकर्णलाई आदिम संस्कृतिको पर्वको रूप हो पनि भनिन्छ । मानवले भूत स्वीकार गरी भूतलाई पराजित गरेको अथवा आफ्नो कब्जामा राखेको जस्तो देखिन्छ । यस दिन बिजय स्वरूप जथाभावी मुख छोड्ने पनि गरिन्छ ।

अर्को कथन अनुसार आसार श्रावणमा रोपाइँको चटारोमा श्रमशक्ति अत्याधिक मात्रामा खर्च हुन्छ l त्यतिखेर आआफ्नो शरीरमा भूतले बास गरेको हुन्छ भन्ने जन विश्वास छ । भूतले गर्दा नै बढी काम गर्न, बढी खान र पचाउन सकेको भन्ने गरिन्छ । पहिले पहिले भूत आमन्त्रण गर्ने चलन थियो रे । रोपाई सिधिए पछि भूतहरु, मानव बस्ती अथवा आआफ्नो टोलमा राख्नु हुँदैन भनेर भूतलाई कृतज्ञता व्यक्त गर्दै खुशीयाली स्वरूप बिभिन्न भोजन गराई बिदाई दिएको भन्ने पनि गरिन्छ । वास्तवमा नेवार समुदायको यो पर्व ठाउँ अनुसार केही केही फरक फरक तरिकाले मनाएको पाईन्छ । वास्तवमा घण्टाकर्णलाई आदिम संस्कृतिको पर्वको रूप हो पनि भनिन्छ । सांचिकै भन्ने हो भने घण्टाकर्ण पर्व आत्मिय, सामाजिक, धार्मिक, सास्कृतिक, तान्त्रिक शुद्दताको पर्व हो l यस पर्वले बिकृति, विसंगति, खराब आचरणलाई जहिले पनि बिरोध गर्दै आएको छ l तर हिजो आज साँखुमी बाजेको मृत्यु संगै यी चलनहरु हराउंदै गैरहेका छन् l आजको दिनमा सम्झनु बाहेक अरु उपाय  छैन l