गण्डकी प्रश्रवण क्षेत्रमा रोडीघरलाई परम्परागत प्रदर्शनीकला अर्थात् लोकगीत, संगीत, नृत्य र अभिनय प्रस्तुति स्थलको रूपमा बुझ्ने गरिन्छ । सामान्यतया रोडीघरलाई रोडी अर्थात् झाम्रे बस्ने घरको रूपमासमेत बुझ्ने गरेको पाइन्छ । दिनभरि घरगोठ, खेतबारी र वनपाखामा घाँस–दाउराको कामले व्यस्त भएर थाकेको शरीर र मनलाई स्वच्छ मनोरञ्जनका माध्यमबाट पुनर्ताजकी प्रदान गर्ने अर्थात् उर्जा प्रदान गर्ने एवं प्रदर्शनीकलालाई पुस्तान्तरण प्रक्रियामा सघाउने परम्परागत संस्थाको रूपमा पनि रोडीघरलाई लिने गरिन्छ ।
रोडीघरमा नियमन गर्ने अर्थात् आचारसंहिता र अनुशासन पालना गराउने (अभिभावकत्व प्रदान गर्ने) रौस्या (रमाइलो गर्न वा रसिक हुन हौस्याउने, उत्साहित पार्ने) आमा र रौस्या बाबाको उपस्थिति रहेको हुन्छ । तरुनी–तन्नेरीमात्र होइन, बुढा–बूढी र केटाकेटीहरूको समेत उपस्थितिमा गाउने, बजाउने र नाच्ने गरिन्छ । विशेषगरी चाडबाड, खुसियालीको अवसर, पाहुना आउँदा वा आफन्तसँगको पुनर्मिलनमा रोडीको आयोजना हुने गर्दछ ।
नेपाली समाजमा रोडीघर, रोडी र झाम्रे शब्दलाई पर्यायवाचीको रूपमा बुझ्ने गरिएको पाइन्छ । रोडी बस्ने वा झाम्रे बस्ने भनेर समान अर्थमा समेत बुझ्ने गरिन्छ । ‘रोडी’ र ‘झाम्रे’ भावार्थमा मिल्दाजुल्दा भए पनि शब्दार्थमा भिन्नता रहेको छ । पहाडका टाकुरामा बस्ती बसाउन रुचाउने मगरहरूले पानीका लागि तलको खोला वा बस्तीदेखि टाढाको पँधेरासम्म गाग्रो बोकेर धाउने परम्परा रहेको पाइन्छ ।
पानीका सीमित स्रोतका कारण एक गाग्रो पानीका लागि घण्टौंसम्म पालो कुर्नुपर्दाको फुर्सदिलो समयले तरुनो मनमा फक्रिएका रमाइला भावनाहरू मीठा–मीठा कुराकानी एवं लय र भाकाका माध्यमबाट अभिव्यक्त हुने वातावरण सिर्जना गरिदिएको हुन्छ । यसरी कुराकानी हुँदा वा लोकभाकामा आफ्ना भावनाहरू पोखिरहँदा पानीको पालो पर्खनु जस्तो पट्यारलाग्दो क्षण र डोकोमा पानीको गाग्रो बोकेर घण्टौंसम्म उकाली–ओराली गर्नुपर्ने दैनिकी पनि रमाइलोमा परिणत भइदिन्छ ।
त्यसैले त हरेक बिहानको भालेको डाँकोसँगै घरघरबाट रित्तो गाग्रो र वैंशालु मनलाई भरिलो पार्ने उद्देश्य लिएर उही ‘रोडीघर’ अर्थात् ‘पँधेरो’ तर्फ जान उत्साहित हुन्छन् । मगर बस्तीहरूको यही यथार्थताभित्र ‘रोडीघर’, ‘रोडी’ र ‘झाम्रे’ को इतिहास र परम्परा पाइन्छ । मगर भाषाको ‘रोइ’ र ‘डीघार-डीगार’ शब्द मिलेर ‘रोइडीघार’ अर्थात् ‘रोडीघर’ बनेको बुझिन्छ । ‘रोइ’ को अर्थ कुराकानी वा बोलचाल र ‘डीघार’ को अर्थ पँधेरो हुन्छ ।
‘रोइडीघार’ अर्थात् ‘बोलचाल-कुराकानी गरिने पँधेरो’ शब्दलाई कालान्तरमा जनजिब्रोले ‘रोडीघर’ उच्चारण गर्न पुगेको हो । ‘रोडीघर’ शब्दलाई ‘रो’ र ‘डीघार’ शब्द मिलेर बनेको पनि भनिन्छ । मगर भाषाको ‘रो’ शब्दले माया-प्रेम र ‘डीघार’ शब्दले पँधेरोलाई बुझाउने हुँदा ‘रोडीघर’ को अर्थ प्रेम गर्ने पँधेरो अर्थात् पानी भर्ने निहुँमा माया बसाउने पँधेरो भन्ने हुन्छ । सामान्यतया नेपाली समाजमा ‘रोडीघर’ लाई नाच्नेगाउने अर्थात् रमाइलो गर्ने मनोरञ्जन स्थलको रूपमा र ‘रोडी’ वा ‘झाम्रे’ लाई मनोरञ्जन प्रक्रिया वा गीतनाचको रूपमा बुझ्ने गरिन्छ ।
‘रो’ को शाब्दिक अर्थ प्रेम र ‘डी’ को अर्थ पानी अर्थात् पानी पँधेरो हुने भएकाले ‘रोडी’ को भावार्थले पानी भर्न जाने क्रममा हुने चिनजान र प्रेमलाई झल्काउँदछ भने ‘झाम्रे’ शब्दले झ्यम्मिन वा चिनजान हुन आउनु भन्ने बुझाउँदछ । मगर भाषाको ‘झ्याम्मे’ शब्दको अर्थ परिचित हुनु-रत्तिनु तथा ‘झ्यामा’ शब्दको अर्थ झ्याम्मिएको-रत्तिएको भन्ने हुन्छ भने ‘राह’ शब्दले उपस्थिति वा आगमन बुझाउँदछ । ‘झ्यामा रहा’
(झ्याम्मिन-रत्तिन-परिचित हुन आउने) कार्य वा प्रक्रियाको सन्दर्भमा झ्यामारहा—झ्यामर्या हुँदै झाम्रे शब्द प्रचलनमा आएको हो । ‘रोडी’ शब्दले पानी भर्ने स्थानमा र ‘झाम्रे’ शब्दले जुनसुकै स्थान (पँधेरो, मेलापात, उत्सव) मा भेटघाट हुँदा आफ्ना उमेर समूहका विच हेलमेल भई गीतनृत्यको माध्यमबाट मनोरञ्जन लिने क्रियाकलापलाई बुझाउने भए पनि अहिले दुवै शब्दलाई लोकदोहरीको समानार्थीको रूपमा बुझ्ने गरिएको छ ।