(पूर्णनारायण मानन्धर काठमाडौंको टोखा न.पा.९ सिद्धेश्वर प्रगती टोलका बासिन्दा हुन् । उनी समाज सेवामा कार्यरत छन् । उनी संस्कृति संरक्षणकर्ता पनि हुन् । समाजसेवामा दशकौं गुजारेका मानन्धरसित संस्कृति संरक्षण तथा समाज सेवामा उनले संगालेका अनेकौं अनुभवहरु पाठकसामु पस्कनका लागि उनीसित सञ्चारकर्मीसमेत रहेका संस्कृतिकर्मी रत्नप्रसाद श्रेष्ठले गरेको कुराकानीलाई सम्पादनसहित प्रकाशन गरेका छौं :सम्पादक)
१) हाम्रो नेवारी जातिको संस्कृति तपाईंलाई कति प्यारो लाग्छ ?
कला र संस्कृतिको राजधानी भक्तपुर हो । मेरो घर पनि भक्तपुरको गोलमढी हो । तर म गोङ्गबुमा जन्में, हुर्कें र बसोबास गरें । म नेवार समुदायको भएकोले संस्कृति अत्यन्त प्यारो लाग्नु स्वाभाविक हो । यस संस्कृतिको जन्मेदेखि मृत्यु पर्यन्त आफ्नै मूल्य र मान्यता आफ्नै रितिरिवाजमा आधारित भइ चलिआएको छ । यस्तै काठमाडौं उपत्यका पनि देशको राजधानी मात्र नभएर धर्म–संस्कृति, साहित्य, कला कौशलताको राजधानी नै हो ।
उपत्यकामा पनि नेवार समुदायहरु अलि अल्पमतमा छन् । तर पनि नेवारी पहिचान, संस्कृति, परम्परा र रिति धान्न (बचाउन) टोलटोलमा र बस्ती बस्तीमा आ–आफ्नो परम्परागत रुपमा चाडपर्व मनाउँदै आएको छ । जहाँ जहाँ नेवार बस्ती छ, त्यहाँ त्यहाँ आफ्ना इष्टदेवताहरुको मूर्ति स्थापना गर्ने, मन्दिर बनाउने र जात्रा पर्व चलाउँदै आइएको छ । मन्दिर आस्थाको प्रतिक हो । तपाईंलाई भनौं , कला, संस्कृति बचाई राख्ने काममा नेवार समुदायका मानिसहरु अरु जातजाति भन्दा अग्रपङ्गक्तिमा रहेका छन् । अतः म नेवार समुदायको सदस्य भएको नाताले ममा धार्मिक सहिष्णुता छ, त्यसैले नेवारी संस्कृति अति प्यारो लाग्छ ।
२) तपाईं गोङ्गबुस्थित बिचविनायक गुठीसँग सम्बन्धित हुनुहुन्छ, यसमा तपाईंको योगदान रहेको पाएका छौँ, यस गुठीको बारेमा केही बताइदिनुस् न ?
बिचविनायक (गुठी) मुल समितिमा सालदेखि २०८० सालसम्म गुठीसँग सम्बन्धित भई आफूले र गतिले भ्याएसम्म कार्य गर्दै आएको छु । योगदान भनेको तत्कालिन समयको माग अनुसार आवश्यक हो । मैले यही कार्यगरी आएको मात्र हुँ । समुदायमा परस्पर प्रेम, सद्भाव अभिवृद्धि हुने विश्वासका साथ मैले समुदायको एक सदस्यको नाताले स्थानीय रुपमा गर्नुपर्ने कार्यहरु कन्जुस्याइँ नगरी अनवरत रुपमा गरी आएको हुँ ।
३) बिचविनायक मन्दिर गुठी विगत र अहिलेको स्वरुप कसरी विस्तार भयो ? विस्तारमा भनिदिनुस् न ?
क) वि.सं.१९९७ सालमा तुल्सीनारायण, (जुजुभाई) मानन्धर लगायत त्यो बेलाका युवाहरुले बिचविनायक गणेशको स्थापना गरेको पाइन्छ ।
ख) वि.सं.२०२८ सालमा तपशिलमा उल्लेख महानुभावहरु रहेको गणेश गुठी स्थापना गरी गुठीबाट गर्न खट (काठको) बनाई वार्षिक रुपमा पुजाआजा गरी जात्रा सुरु गरिन्छ । जगतमान मानन्धरलाई गुठीको थकाली बनाई, रामदाश (कलकत्ते) मानन्धर बुवाकाजी मर्हजन, बाबुकाजी कर्माचार्य, बाबुकाजी मानन्धर (जसले खट बनाई दिएको) कृष्णबहादुर रन्जितकार, सूर्य मानन्धर, हिराभाई महर्जन, न्हुछेननारायण मानन्घर रहेको ।
ग) वि.स. २०३० सालमा स्थानिय व्यापारी बाबुकाजी मानन्धरले आफ्नो निजी रकम राखि पित्तलको गणेशको मूर्ति बनाई दिनुभएको । त्यसैगरी २०४१ सालमा बाबुकाजी महर्जन पनि निजी रकम राखी तामाको मूर्ति बनाई दिनुभएको ।
घ) सानो र होचो रुपमा रहेको मन्दिरलाई २०३९ सालमा तत्कालिन गोंगबुँ गाउँ पञ्चायतका प्रधानपञ्च बाबुकाजी महर्जनले जिर्णोद्धार गरी दिनु भएको थियो भने २०४१ सालतिरै जिल्ला पञ्चयातको अनुदान र स्थानीय स्रोत साधन जुटाई मन्दिरको पश्चिमतर्फ गुठीको पाटी निर्माण गर्नु भएको हो ।
ङ) वि.स.१९९७ सालमा स्थापना भएको मन्दिर २०३९ सालमा पुननिर्माण गरिएकोमा २०५९ सालमा नयाँ संरचना अनुसार मन्दिरको जिर्णेद्धार तथा पुननिर्माण गरि २०६० साल फागुन २ गते उद्घाटन गरिएको हो ।
यो कार्य गर्ने समितिका कोषाध्यक्ष म स्वयम् पनि भएको नाताले जिर्णोद्धार कार्यमा अटुटरुपमा संलग्न रहेर त्यो बेला अपेक्षा गरे भन्दा बढी नै दान, सहयोग र सद्भाव प्राप्त भएका कारण यो बिचविनायक मन्दिर धार्मिक आस्थाको अति उच्च धरोहर बनेको छ ।
४) बिचविनायक जात्रा परम्परा बारे केहि बताईदिनुस् न । यो जात्रा कुन समयमा गरिन्छ ?
गोगंबुँको उत्तरतर्फ टोखा चण्डेश्वरी पश्चिममा मनमयजु (इन्द्रायणी) अजिमा पूर्वतर्फ पोरपा (रामीदेवी) अजिमा, दक्षिणतिर म्हेपी (योगाम्बर)अजिमा अवस्थित छ । यसरी दोहोरिएर गोगंबुँमा १९९७ सालमा स्थापना भएको बिचविनायक गणेश । यसरी टोखा, मनमयजु म्हेपी, पार्पीमा जात्रा हुने भएकोले तत्कालिन नेवार समुदायका युवाहरुलाई आफ्नो टोलमा पनि जात्रा गर्ने हुट्हुटी जाग्यो ।
केहि वर्ष पश्चात उक्त हुट्हुटी साकार भयो र वार्षिक रुपमा अर्थात् नयाँ वर्षको शुभारम्भ (वैशाष महिनमा) बालाजु पूर्णिमा (बाइसधारा नुहाउने मेला) को अघिल्लो दिनदेखि ३ दिनसम्म स्थानिय धिमे, नायखी, बाँसुरी आदि बाजागाजा सहित विभिन्न टोल र बजारमा खटमा राखी जात्रा गर्ने परम्परा सुरु गरियो । जुन अहिलेसम्म चलिआएको छ । र मंसिर महिनाको पहिलो मंगलबार नित्य पूजा सहित समेवजी वितरण गर्ने गरिएको छ ।
५) गणेश गुठी हाल छोड्नु भएको हो ? किन तपाईं सस्कृति संरक्षणबाट पछि हटेको त हैन नी ?
यो प्रश्नको लागि धन्यवाद । मेरा मामा बाबुकाजी मानन्धर पहिलेदेखि गुठीयार हो । उहाँको निधन भएपछि २० सालतिर मैले मेरो मामाको बिँडो (उनको छोरा नाबालक भएको कारण ) सम्हाली आएको हुँ । म गुठीयार भए पश्चात गुठीको लेखन दास (सचिव) को रुपमा सम्पूर्ण कामहरु गरी आएको थिएँ । करिब १५-२० वर्ष कार्यरत रहेँ, २८० सालतिर आइपुग्दा नपुग्दा आफ्नो स्वास्थको कारण गुठीमा निरन्तरता दिन नसक्ने भएँ । अर्को बाटोको कुरा गर्दा सबै गुठीयारको हैन, केही व्यक्तिहरुले आर्थिक पारदर्शिता देखाउन सकेनन् र गुठीका थकाली र अन्य गुठीयारहरुले पनि सत्य कुरापनि बोल्न नसक्ने, कन्जुस्याइँ गर्ने र मौन बस्ने कारणले मैले त्यहाँ बस्ने वातावरण क्षिण हुँदै गएको थियो ।
यस अघि पुराना गुठीयारहरु न्हुछेनारायण मानन्धर, नानीबाबु श्रेष्ठ, बलराम मानन्धर, नानीकाजी मानन्धरले विभिन्न कारणले २०७८÷२०७९ मा गुठी छोड्नु भयो । २-३ वर्षमा गुठीयारहरुको मति र गति सुध्रिएला भनेर मौन बस्थें । तर त्यसो हुने संकेत पाइन र २०८० सालमा गुठीयारहरुसँग सैद्धान्तिक मतभेद र रिसइवीले नभई व्यक्तिगत कारणले गुठीबाट अलग बस्ने निर्णय गरें । तर नेवार संस्कृतिको संरक्षण गर्नबाट पछि हटेको भने हैन । र नवनिर्माण र संरक्षणको लागि अनवरत रुपमा रहने प्रतिबद्धता तपाईंमार्फत् जाहेर गर्दछु ।
६) संस्कृति र कला सम्पदा कलामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीति घुसेको भनिन्छ नी ? के छ तपाईंको धारणा ?
हेर्नुस् राजनीति भनेको सबै नीतिको गुरु–हो, भनिन्छ । घुस्छ होला, तर मेरो धारणा अलि भिन्न छ । जहाँसम्म हाम्रो क्षेत्रको प्रसंगमा भन्नु पर्दा, धार्मिक दृष्टिले यहाँ हिन्दु धर्मालम्बीहरुको बाहुल्यता छ । त्यसपछि बौद्धधर्मप्रति पनि आस्था राख्नेहरुको बाहुल्यता छ । यसैगरी यस भेगमा बाहुन र क्षेत्रीको बस्तीको हाल वृद्धि भएको छ । त्यस्तै नेवार जातिको बस्ती पनि सघन रुपमा रहेको छ ।
मंगोलियनहरुको पनि बाक्लै उपस्थिति छ । तर पनि आदिवासी नेवार जातिले मौलिक परम्परा (जात्रा पर्व ) धानेको पाउँछु । यहाँका नेवार समुदायहरु अरु समुदाय जस्तै विभिन्न राजनैतिक पार्टीमा आवद्व रहेर पनि संस्कृति, कला, परम्परा, धार्मिक चाडपर्वहरुको जगेर्ना गर्ने पाइलामा राजनीति गरेको छ जस्तो लाग्दैन ।
६) स्थानीय निकाय अथवा टोखा नगरपालिकाले स्थानीय संस्कृति संरक्षण गर्न कतिको ध्यान दिएको जस्तो लाग्छ ?
मैले हेर्दा कला संस्कृति जगेर्ना गर्न स्थानीय सरकार (वडा ) ले ध्यान दिएकै छ जस्तो लाग्छ । तर सुझावको रुपमा के भन्न चाहन्छु भने टुक्राटुक्री रुपमा गरिने कृयाकलापहरुलाई एकीकृत रुपमा गरेमा उत्तम हुन्छ । टोखा नगरपालिकाको कुरा गर्दा वडाबाट सिफारिस नै गएपछि कार्यान्वयन गर्ने हो । तर पनि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कला र संस्कृति जगेर्ना गर्ने पक्षमा आफूलाई उभ्याई आएको अनुभूति गरेको छु । तर स्थानीय रुपमा रहेका भुइँमान्छे (सिमित) हरुले चाँही संस्कृतिको नाममा राजनीति गरेको पाइन्छ ।
७) अन्त्यमा तपाईंलाई लागेको अथवा मैले सोध्न बिर्सेको केही कुराहरु छन् भने अन्यथा नमानी बताइदिनुहुन्छ की ?
म सामाजिक प्राणी हुँ । अतः यो समाजमा हुने र गर्ने कार्यहरुमा म निसर्त संलग्न रहि आएको छु, रहि रहन्छु, जहाँ मेरो आवश्यकता ठान्छु । म रेडक्रसकर्मी हुँ । यो नाताले यो संस्थाले गर्ने हरेक कृयाकलापहरुमा संलग्न रहेको हन्छु । त्यसैगरि वीर अस्पतालस्थित असहायहरुको लागि सेवा संघमा स्वयम्सेवीको रुपमा रहेको छु । तर जुनसुकै संघ, संस्थामा जो नेतृत्वमा (तिकडम गरी) गए पनि पुराना र कायसिलयुक्त र दुःख गरेका सदस्यहरुलाई पाखा लगाएर अघि बढेको पाएको छु । यसले गर्दा जुनैपनि संस्थामा पनि स्तरीय रुपान्तरण गर्न कठिन हुने र व्यक्ति हावी भएको पाइन्छ । यसले नकरात्मक सन्देश गएको छ ।
निचोडमा काठमाडौं बाहिरबाट आई घरबास बनाई बसेकाहरुले पनि कला संस्कृति र धर्मको जगेर्ना गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गर्दा काभ्रेको नालामा जन्मेर गोंगबुँमा बसोबास गर्दै आएका रत्नप्रसाद श्रेष्ठ ‘अनामणि’ले गोंगबुँ र यस वरपरका धार्मिकस्थल, घाट, मन्दिरहरुको बारेमा कलम चलाई गोंगबुँलाई चिनाउन योगदान गर्नु भएको छ । उहाँलाई स–धन्यवाद छ ।
यसै सिलसिलामा २०८० सालमा अनेकौं नेतृत्वमा रहेको समितिले टोखा नगरपालिकाको सहकार्यमा गोंगबु बटुक भैरव निर्माण गरी हाल वडा न.९ को कार्यालयमा राखिएको छ । सो भैरवलाई आगामी वर्षमा घर बनाई स्थापना गर्ने र संभव भएमा इन्द्रजात्राका दिन उक्त भैरवको जात्रा गर्ने लक्ष्य राखिएको छ । यो लक्ष्यलाई पूरा गर्न स्थानीय जनजाति र अन्य समुदायलाई हातेमालोको लागि अनुरोध गर्दछु ।