• मंसिर ११ २०८१, मंगलवार

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै भोजपुरका सुगम राई

श्रावण ३ २०८१, बिहीबार

भोजपुर, ३ साउन । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन् । उनी व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् ।

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् । बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।

भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु. ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए । विदेशमा सात वर्ष बिता एका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । ‘वार्षिक रु. १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु. आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।’

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनले बताए । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले बताए ।

फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । ‘बङ्गुर बिक्रीको कुनै समस्या छैन’, उनले भने, ‘धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ–धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यवसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।