सन्दर्भ :
राङ्क्या सङ्कराइ अर्थात् साउने सकरातीलाई मगर समुदायमा एउटा पर्वको रुपमा मनाउने प्रचलन छ । यो पर्वलाई पारिवारिक तहमा गाउँगाउँमा भव्यरुपले मनाइन्छ । यो पर्वको खास विषय भने ग्वाला पूजा हो । खासगरी रोल्पा रुकुम र बाग्लुङका मगर समुदायमा यो पर्व लोकप्रिय छ । राजधानीमा बस्दै आएका रोल्पा र रुकुमका डायस्पोरा समुदायले विगत २ दशक अघिदेखि यो पर्वलाई मनाउँदै आएका छन् ।
अठार मगरात मगर प्रतिष्ठान काठमाडौँ मुख्य आयोजक भै मनाउने गरिएको यो पर्व मगरहरुको स्थापित पर्वको रुपमा विकास हुँदै गएको छ । औपचारिक कार्यक्रम, पूजा तथा नाचगान र खानपिनसहित डायस्पोराहरुको भेटघाट हुने यो पर्व काठमाण्डौँ खाल्डोमा बसोबास गरिरहेका रोल्पा रुकुमेलीहरुको भेटघाट तथा सामाजिक अन्तरकृयाको अवसर बनेको छ । यसको आरम्भ अठार मगरात मगर प्रतिष्ठानका संस्थापक अध्यक्ष बमकुमारी बुढामगरले वि.सं २०५० को दशकतिर गर्नु भएको थियो । यो पर्व मनाइरहँदा यसको उत्पत्ति, इतिहास र औचित्यबारे आम रुपमा जानकारी हुन आवश्यक छ ।
पृष्ठभूमि :
ग्वाला अर्थात् गोठालो पूजा मगर जातिमा प्रचलित पितृ पूजा हो । यो साउने सकरातीको दिन मनाउने गरिएकोले यसलाई साउने सकराती, राँके सकराती तथा लुटो फाल्ने पर्वको रुपमा पनि बुझ्ने गरिन्छ । यो पर्व विशेषगरी गाई गोठालोहरुको नाममा समर्पित पूजा भएकोले कतैकतै गोठ पूजा पनि भन्ने गरिएको छ । कतै कतै यसैदिन भूमि पूजा गर्ने चलन पनि छ । साउने सकरातीकै दिन पर्ने भएको हुँदा विक्रम संवतको पात्रो अनुसार पर्न आउने अन्य पर्वहरुको मिश्रणले केही अन्यौलताहरु सृजना भएको छ ।
प्रकृतिपूजक मगरजातिको परम्परागत मुख्य आर्थिक आयाम भनेको खेतीपाती र पशुपालन हुन् । पशुपालनमा पनि उचाईतिर भेडा र मध्यपहाडी क्षेत्रमा गाई पालन हो । सयौँको संख्यामा गाई पालन गर्ने मगर पूर्वजहरुले गाई पाल्ने विधि, चरण क्षेत्र तथा सुरक्षाको निमित्र् आफ्नै पशुपालन प्रणाली विकास गरेका थिए । ग्वाला पूजाको इतिहास मगर समुदायको प्राचीन आर्थिक संस्कृतिसँग जोडिएको छ । यो पर्व विशेष गरी माडी प्रश्रवण क्षेत्रमा भव्य रुपले मनाउने गरिन्छ ।
ग्वाला पूजाको दिनदेखि १ महिनासम्म घरभित्र आलो माटो भित्र्याउन नहुने विश्वास छ । यस्तै सिस्नो पकाएर खान बर्जित गरिन्छ । आजभोलि आर्थिक रुपले गाईपालन उपयुक्त नहुँदा यसप्रतिको आकर्षण कम हुँदै गएपनि गाई पालनमा आधारित ग्वाला पूजा भने आज पनि पारिवारिक तहमा पर्वको रुपमा रही आएको छ । ग्वाला पूजामा विभिन्न ग्वालाहरुको अनुष्ठान गरेर मिठा मिठा परिकार चढाउने गरिन्छ ।
यही अवसरमा पहिले पहिले गाउँघरमा जात्राहरु आयोजना हुने गर्थे । जात्रा लाग्ने भएपछि त्यहाँ बाजागाजा बजाउने र नाच्ने कार्यक्रम भैहाल्थ्यो । बाजा फूकाउनका लागि विशेष पारम्परिक विधिको अवलम्बन गरिन्थ्यो । आजभोलि गाउँघरमा स्थानीय जात्राहरु लोप भैसकेका छन् । पूजा पनि विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
इतिहास र उत्पत्ति :
मध्यपहाडको पहारिलो क्षेत्रमा बसोबास गर्ने मगर समुदायमा गाई पालन निकै फस्टाएको थियो । विशेष गरी लुलु, अच्छामी र सिरी जातिको जस्तो देखिने तर रैथाने कैले गाई यो क्षेत्रमा आजपनि लोकप्रिय नश्ल मानिन्छ । सयौँको संख्यामा गाई पालन कुनै पनि व्यक्तिको आर्थिक हैसियत निर्धारण गथ्र्यो । गाई पालनको बहुआयामिक उपयोगबाट समृद्ध आर्थिक जीवन तत्कालिन मगर पूर्वजहरुले आर्जेका थिए ।
सयौँको संख्यामा भेडा पाल्ने भेडापालकहरु झैं गाईपालकहरुले पनि चरन क्षेत्र र गाईको निमित्त उपयुक्त स्थानहरुको खोजी गरेका थिए । गाई पालकहरुले गाई राख्ने ठाउँलाई खुटी भन्दछन् । आज पनि त्यस्तो खुटीहरु विभिन्न ठाउँमा छन् । गैराखुटी, कौर्याङखुटी, मरबाङखुटी, भैसाखुटी, स्यालाखुटी, नबाङखुटी आदि ।
सयौँको संख्यामा आफ्ना गाईहरुलाई पर्याप्त घाँस खुवाउन चरन पहिल्याउने, रोगव्याधीबाट बचाउने, बाघबाट जोगाउने, भीर तथा खोलाबाट बचाउने उपायको खोजी गर्थे । गाईपालकहरुमा के विश्वास थियो भने उनीहरुको पशुधनलाई उनका शक्तिशाली ग्वाला पूर्वजहरुले सुरक्षा गरेका छन् । ग्वालाहरुको मान मर्यादा राख्न उनीहरुले बर्षमा एकपटक भकारमा थान स्थापना गरी पूजा आजा गर्नुपर्छ । त्यै भएर सबै ग्वालाहरुलाई सम्झदै गोठको छेउमा थानको प्रतिमा निर्माण गरी ग्वाला पूजा गर्ने प्रचलन छ ।
प्रचलित मिथक :
एकपटक एकजना ग्वालाका सबै गाईखुटीबाट अचानक गायब भए । उनले आफ्ना गाईहरु चारैतिर खोजे । कतै पनि फेला पार्न सकेनन् । उनी हैरान भएर घर फर्किए । उनले माधुरमा कहाँ पुगेर घटना बारेमा सुनाए । माधुरमा ओलोप हुनसक्ने शक्ति भएका झाँक्री थिए । माधुरमाले उनलाई ग्वालाहरुको अनुष्ठान गर्न सुझाव दिए ।
कुइ री, मा री ।
पोरो सा री ।
र ल्हा काल्याङ कलिङ ।
इसरी कुमाखी स । धोत्ल्या धोत्ली स । सतीपात्या स ।
यसको भावार्थ अनुवादस ‘बादलले पानी पारेपछि, खोलामा एकपटक बाढी बगेपछि, गुराँसको काल्याङ कलिङ बुनेर इसरी कुमाखी, धोत्ल्या धोत्ली र सतीपात्यालाई सक्क चढाई शान्त राख्नू ।’
ग्वालाले रमाको सुझाव अनुसार खुटी फर्किए । खुटीमा थान बनाए । गुराँसका पातहरु जोडेर काल्याङ कलिङ बुने । ग्वाला, झाँक्री र लागुको नाममा खिर, रोटी र मासु चढाए । पूजा सम्पन्न भएको केही समयपछि खुटीमा उनका हराएका गाईहरु जस्ताको तस्तै देखिए । यो अलौकिक घटनाले पारिबाङ भाबाङ तथा छ गाउँ बाह्रगाउँमा चर्चा पायो । त्यसैबेलादेखि मनसुनको पहिलो झरी आएर माडीखोलामा बाढी बगेर गएपछि ग्वाला पूजा गर्ने परम्पराको शुरु भएको रोल्पा कोटगाउँका गणबहादुर घर्तीमगरले सुनाउनु भयो ।
ग्वाला अनुष्ठान :
ग्वाला पूजामा मुख्य गरी ५ वटा शक्तिको पूजा गरिन्छ । एक इसरी, दोश्रो कुमाखी, तेस्रो धोत्ल्या, चौथो धोत्ली र पाँचौ सतीपात्या हुन् । इसरी र कुमाखी प्रमुख ग्वाला हुन् । उनीहरु प्राचीन गाई पालक हुन् । उनीहरुले नै कैले गाईको नश्ल यो क्षेत्रमा विकास गरेको मानिन्छ । गाई पालन, चरन, दुधदही तथा घिउ बनाउन उनीहरुले नै सिकाएको विश्वास गरिन्छ । गाईबस्तुको बहुआयामिक उपयोगमा उनीहरुको योगदानलाई ग्वाला पूजामार्फत् सम्झने गरिन्छ ।
यस्तै धोत्ल्या र धोत्ली रमा रमेनी हुन् । यिनलाई झाँक्री झाँक्रेनी पनि भन्ने गरिन्छ । उनीहरु भूत वर्तमान र भविश्यदर्शी रमा थिए । उनीहरुलाई पनि ग्वाला पूजा कै अवसरमा थान निर्माण गरी पूज्ने प्रचलन छ ।
सतीपात्यालाई भने लागुभागुको रुपमा पूजा गरिन्छ । खासमा सतिपात्याले गाईको शरीरमा विभिन्न खालका मौसमी संक्रमण गराउने भएकोले यसलाई गाई पालकहरुले पूजा गर्दै आएका हुन् । सतिपात्याको शान्ति गरेमा गाईलाई विभिन्न शारीरिक संक्रमण नहुने विश्वास गरिन्छ ।
सक्नेले यी सबै शक्तिको नाममा १–१ वटा भाले गरी ५ वटा भाले चढाउने चलन छ । नसक्नेले ग्वालाहरुलाई एक, रमा रमेनीको नाममा एक र सतिपात्याको नाममा एक गरी ३ वटा भाले चढाएर पूजा गरेपनि हुने जनविश्वास छ ।
यी ५ वटै शक्तिको खोपीसहितको थान भकारमा तयार गरिन्छ । थानमाथि गुराँसको पातबाट तयार पारिएको काल्यङ कलिङ झुण्ड्याइन्छ । कुखुराको बली दिएर परिकार तयार पारिन्छ । सबै शक्तिलाई खिर, रोटी र मासु चढाइन्छ । विभिन्न जीवजन्तु र प्राणीको आकारका रोटी चढाइन्छ । ग्वाला पूजामा रक्सी चढाउने प्रचलन हुँदैन ।
यी शक्ति बाहेक पनि छापु, रिख्या, छाप्र्या, मटिङ्ग्रया, चौर्या, जुरमाल्या जस्ता ग्वालाहरुको समेत नाम लिइन्छ । यी ग्वाला पूर्वजहरुको सम्झनामा गाईपालकहरुले आफ्ना पशुहरुको नामाकरण समेत गर्ने गरेको पाइन्छ ।
पूजा हुने पितृहरु :
के साङक्या सकराती उधेली पर्व हो ?
मगर जातिमा वर्षको चक्रलाई दुई खण्डमा विभक्त गरेर हेर्ने गरिन्छ । जसलाई उभेलीउधेली अर्थात् हर्देमिदे भनिन्छ । गर्मी याम हर्दे हो भने हिउँद याम मिदे हो । यही आधारमा खेतीपाती गर्न तय हुन्छ । यस्तै पशुपालनको चरण क्षेत्र र खुटी सर्ने साइत निर्धारण हुन्छ । प्राचीन मगर समुदायमा अहिलेको जस्तो वार्षिक पात्रो विकास भैसकेको थिएन । त्यसबेला सूर्य, चन्द्र, तारा, नदी, माछा, चरा, फलफूल, रुखवृक्ष तथा किरा लगायतका तमाम प्राकृतिक बस्तुहरुको गति, स्वाभाव तथा विशेषताका आधारमा आर्थिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरु गर्ने चलन थियो ।
हर्दे अर्थात् उभेली याम थाहा पाउने प्राकृतिक विधि भनेको माछा र तालचरीको यात्रा अवलोकन हो । खोलाको माछा पानीको उल्टो बहाबतिर पौडिन थालेपछि हर्दे याम शुरु भएको मानिन्छ । यस्तै तालचरी हिन्द महासागरबाट साइबेरिया तर्फ बसाई सर्न आकासमा लर्को देखियो भने पनि हर्दे याम शुरु भएको निश्चित गरिन्छ । यो समय महिनाको हिसाबले फागुन चैतमा पर्छ । पर्वको रुपमा फागुने, जोमारे, हर्देमिदे पूजा यसका उदाहरण हुन् ।
यस्तै खोलाको माछा पानीको सुल्तो बहाबतिर पौडिन थालेपछि मिदे अर्थात् उधेली याम शुरु भएको थाहा हुन्छ । यै समयमा तालचरी साइबेरीयाबाट हिन्द महासागरतिर बसाई सरेको लर्को देखिन्छ । महिनाको हिसाबले यो समय भदौ असोजमा हो । बाह्रभदौ, हर्देमिदे, दशैं लगायतका पर्व उधेली पर्व हुन् ।
मगर समुदायमा हर्देमिदे पूजा पारिवारिक तहमा गर्ने प्रचलन छ । दोबाटोमा पुगेर चन्छरबारको दिन मध्ये रातमा यसको पूजा गरिन्छ । यसमा बाज्या रोइन्या र बजु किरकिरको पूजा हुन्छ । बजु किरकिर पहिल्यैदेखि लागुभागु थिए । बाज्या रोइन्याले बजु किरकिरलाई विवाह गरेपछि दुवै जना लागु भएको जनविश्वास छ । त्यसैले ती दुवैलाई शान्त पार्न हर्देमिदे पूजा गर्ने चलन बसेको हो । यो पूजा फागुन र भदौमा दुईपटक गर्ने गरिन्छ ।
मगर समुदायमा उभेलीउधेली पर्व खण्डिकृत हिसाबले मान्ने प्रचलन छ । उभेलीमा फागुने, जोमारे, हर्देमिदे पूजा लगायत र उधेलीमा बाह्रभदौ, हर्देमिदे र दशैं लगायतको पर्व मनाउने चलन छ । हर्देमिदे पूजा पनि बाज्या रोइन्या र बजु किरकिरको हुने भएकोले यो पितृ पूजाको रुपमा देखिन्छ । कतै कतै नाम्क, ग्वाला र घिवा सकरातीलाई समेत उधेली पर्वको रुपमा लिने गरिन्छ । माथि उल्लेखित प्राकृतिक पात्रोको आधार मान्ने हो भने यी पर्वहरु उधेली पर्व नभई विशिष्ट स्थितिमा मगर समुदायको प्राचीन आर्थिक जीवनले सृजना गरेका पर्व हुन् भन्न सकिन्छ । प्राचीन कृषि तथा पशुपालन सभ्यताको स्मरण गर्ने अमूर्त सांस्कृतिक सम्पदा हुन् भन्न सकिन्छ ।
निष्कर्ष :
मगर जाति प्रकृतिपूजक मानव समुदाय हो । प्रकृतिका तमाम बस्तुहरुस सूर्य, चन्द्र, तारा, बादल, पहाड, खोला, वनजंगल, सिम, जमिन, रुख, पत्थर लगायतलाई पूजा गर्छ । यस्तै पूर्वजहरुस रमा, बजु, बराहा, सिद्ध, पालु, ग्वाला, गुनामी, भूयाँर लगायतका देउपितृहरुलाई पूजा गर्छ । मगर जातिका धेरै पूजा र पर्वहरु प्राचीन आर्थिक जीवनसँग जोडिएका छन् । आदिम सभ्यताको कथालाई उजागर मात्र होइन जीवन्तता प्रदान गरेका छन् ।
मगर जातिका अमूर्त सांस्कृतिक सम्पदाहरु मगर समुदायको पहिचान मात्र होइन राज्यको अमूल्य सम्पति पनि हुन् । यी तमाम पर्वहरुलाई इतिहास, सभ्यता र पहिचानसँग दरो हुने गरी अनुबन्धित गर्न आवश्यक छ । मगर समुदायको ऐतिहासिक गौरवसँग जोड्न आवश्यक छ । यसले विविधतायुक्त नेपाली समाजलाई सौहार्दतापूर्ण बनाउन सघाउ पुर्याउनेछ । राङ्क्या सङ्कराईको अवसरमा यहाँहरु सबैलाई शुभकामना । जेदौ ।