सर्वप्रथम त सर्पले टोकेको हो या होइन भनेर जान्न जरुरी हुन्छ।
यदि टोकेको शंका लागेको ठाउँमा स-साना दुइटा घाउहरु छन् भने त्यो सर्पले टोकेको हुनसक्छ। सर्पले टोकेको थाह पाएमा सकेसम्म सर्पलाई चिन्ने प्रयास गर्नुपर्छ। प्राय: करेत, गोमन, लम्भा नामले जानिने सर्पहरु बढी भेटिने गर्छन्।
सर्पले डसेको व्यक्ति प्राय: अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ। टोकेको भागलाई धेरै चलाउदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकाले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ। हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।
गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेशर पर्नेगरी ब्यान्डेज बाँध्नुपर्छ। यसलाई प्रेशर इमोबिलाइजेसन विधि भनिन्छ। तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुँदैन। कसेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन जान्छ र उक्त भाग मरेर खेर जानसक्ने हुन्छ।
विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग सुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुँदैन। सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसो गर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।