भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । तर अहिले उनी पहिलेको जस्तो फूर्तिफार्तिको अवस्थामा छैनन् । उनी अरूका काँधमा टेकेर प्रधानमन्त्री बन्नु परिरहेको छ । उनको ‘अबको वार, ४०० पार’ भन्ने नारा कार्यान्वयन हुन सकेन । उनी निर्वाध थिए, चुनावताका । तर मोदी र जनमतको मेल हुन सकेन । मोदी भर्सेस जनमत हुन गयो ।
अबको प्रधानमन्त्रीको कार्यकाल ‘हात बाँधिएका’ मोदीले सम्हालिरहेका छन् । एकलौटी शासन चलाएका मोदी र हात बाँधिएका मोदीको कार्यशैलीमा फरक आउने छ । वैयक्तिक रूपमा नरेन्द्र मोदी र संस्थागत हिसाबले भारतीय जनता पार्टीको साख गिर्दै जानुमा अनेकन लख काटिरहेका छन्, विश्लेषकहरू ।
विगत १० वर्षदेखि देशभर एकलौटी ‘दाइँ लगाउँदै’ आएको भाजपाले आफ्नो एकमना वर्चश्व गुमाउनु आफैमा आश्चर्य त होइन । तर पनि ‘हिन्दुस्थान’मा हिन्दुत्वको नारा बोकेका मोदी र भाजपा किन केही लामो समय टक्न सकेनन् ? यसका पछाडि केही कारण अवश्य छन् । यस पूर्वका मोदीको सरकारको एकमना चकचकीमा ‘ब्रेक’ लागेपछि भारतमा नयाँ राजनीतिक शक्तिसन्तुलनको अवस्था सिर्जना हुन गएको छ ।
त्यसो त यस अघिका कार्यकालमा पनि मोदी गठबन्धन निर्माण गर्ने र सोही गठबन्धनको सहारामा राज गर्ने गरिरहेका हुन् । अहिले मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) विगतको तुलनामा कमजोर साबित हुन गएको छ । परिणामतः दिल्ली लोकसभामा काँग्रेस आईसहितको गठबन्धन बलियो प्रतिपक्षको रूपमा उपस्थित हुन गएको छ ।
यति बेला मोदीको खस्कँदो लोकप्रियताका बारेमा चर्चा भइरहेको छ । माहोल प्रतिपक्षको पोल्टामा पर्न गएको छ । सापपेक्ष प्रतिकुलतामा मोदी सरकारमा जान बाध्य भएका छन् । अबका दिनमा मनपरिको अवस्था छैन ।
यो अवस्थाको सिर्जनामा मोदी र भाजपा स्वयम् जिम्मेवार छन् । पहिलाो कुरा त मोदी सरकारले योजनबद्ध विकासका कार्यक्रम आफ्नो शासनको दशकमा ल्याउन सकेन । पहिलेका वा पूर्ववर्ति सरकारले जे थालेका थिए, त्यसैको निरन्तरता रह्यो । उनी केवल मठमन्दिर र धाम तथा तीर्थको बखान र यात्रामा लागे ।
यो धर्मयुद्धको समय नभएर विकास निर्माणको समय हो । मोदीको हेक्का खासै गएन यो कुरामा । उनले हिनदुत्वमा मात्र जोड दिए । हिनदु धर्मको प्रचार र विकास निर्माणको दुबै हात चलाउने दिशामा अघि बढेनन् मोदी !
दोस्रो कुरा, चुनावका बेलामा वंशवादका कुरा निकै उठाए । तर आफूलाई तेस्रो पटकका प्रधानमन्त्रीको रूपमा अघि सारे । मात्र २ कार्यकाल मोदीका लागि श्रेयस्कर थियो । तेस्रो कार्यकालका लागि आफूलाई प्रस्तुत गर्नु र वंशवाद विरोधको नारा अघि सार्नु मेलखाने कुरा थिएनन् ।
यी आफैमा अन्तरविरोधी थिए । मौका पाएसम्म मोदीले पनि लामो समयसम्म शासक हुने चाहना राख्नु वंशवादको अर्को संस्करण थियो । यो भारतीय जनताले बुझेका हुनाले चुनावी परिणामबाट उनलाई सबक सिकाए ।
तेस्रो कुरा, मोदी आम जनताको प्रधानमन्त्री हुन सकेनन् । भूइँतहका जनताका लागि उनले कुनै उल्लेखनीय काम गरेनन् । गर्न पनि चाहेनन् । उनका लागि भूइँ तहका जनताका लागि केही गरूँ भन्ने चाहना भएको भए मौका हातमा परिरहेको थियो । तर मोदी मध्ययम वर्गको सोच र मध्यम वर्गकै प्रतिनिधिका रूपमा रहिरहे । यसले आममत उनको पोल्टामा पर्न सकेन ।
चौथो कुरा, मोदी ‘फकीरमैत्री त रहे, तर किसानमैत्री’ हुन सकेनन् । भारत अहिले पनि मूलतः कृषिमा निर्भर छ । यसलाई नजरअन्दाज गर्न पुगे, मोदी ! किसानका सेवा र सुविधा कटौती मोदीका लागि घातक सिद्ध भयो, हुन्थ्यो पनि यस्तै । किनकि भजनकिर्तन गरेर मात्र जनताको पेट भरिदैन । साँझविहान खाना खानुपर्छ । त्यो भनेको कृषिमा मोदीको पर्याप्त ध्यान जानुपर्दथ्यो । यसले देशको अर्थतन्त्र पनि उकास्ने काम गथ्र्यो र मोदीको स्थान पनि सुुरक्षित गर्दथ्यो ।
पाँचौ कुरा, हिन्दु र हिन्दुत्वमाथि क्रिश्चियानिटीको हमला बढ्दो छ । हिनदु धर्ममाथिको अतिक्रमण अतिशय नै छ । तर मोदीले हिन्दुस्तान भनिने भारतमा हिन्दुत्वको नारा बोकेको पार्टी र व्यक्तित्व स्थापित हुन र गराउन कति ‘पापड बेल्नु’ परेको थियो भन्ने कुरा सजिलै भुले । हिन्दु फकिर मात्र होइनन् । आम जनता हुन् । तर ती हिन्दु आम जनताले मोदीलाई किन मन पराउन छाडे ? यसका बारेमा गम्भीर प्रश्न छ, उनीमाथि ।
भारतीय जनताले उपनिवेशमा लामा लामा कालखण्ड बिताए । उनीहरू स्वतन्त्र भएको ६०/७० वर्ष मात्र भएको छ । उनीहरूका लागि प्रजातन्त्र प्यारो छ । मोदीले थाह पाउनु पर्ने कि प्रजातन्त्रका लागि लडेका ‘फिगर’मध्ये जवाहरलाल नेहरू एक हुन् । उनीसँग प्रजातन्त्रको साइनु गाँसिएको छ ।
त्यो साइनु विरासतका रूपमा परिवारमा सर्दै जानुमा मोदी तथा भाजपा पनि जिम्मेवार छन् । किन उनीहरूले प्रजातन्त्रको रक्षा र हितका कुरा गर्दैनन् ? ‘प्रजातन्त्रको रक्षा गर्न काँग्रेस आई नै’ आउनुपर्छ भन्ने भान जनतामा किन परिरहन्छ । यो मोदी र उनको पार्टी भाजपाका लागि गम्भीर यक्ष प्रश्न हो ।
हिन्दु धर्म उदार धर्म हो । यसले आफ्ना समकक्षी धर्म र सम्प्रदायसँग लड्दै र सहकार्य गर्दै आएको विगत छ । हिनदु धर्म र धर्मावलम्बीलाई स्वदेशमा रहेका अन्य धार्मिक समप्रदायसँग सहकार्य गरेका बेलामा बढी फाइदा हुने गरेको छ । मोदीका अग्रज हिन्दुहरूले ‘मत्स्य, कुर्मो …’ भन्दै ‘बुद्ध, कल्की तथैवच’ त्यसै भनेका होइनन् ।
तर मोदी बौद्ध र मुस्लिमसहित सिखलगायतका धर्ममाथि असहिष्णु देखिए । उनको यस्ता कार्यले सहकर्मी धर्मावलम्बीमाथि आक्रोशको वातावरण निर्माण गरिदियो भने बाह्य धर्मले अतिक्रमण गर्ने मौका पायो ।
अर्को महत्वपूर्ण कुरा, कुनै पनि विकास निर्माणका फेहरिस्त मोदीले प्रस्तुत गर्न नै सकेनन् । आरोप प्रत्यारोपका फण्डा मात्र निर्माण गरे । उनको ‘फण्डा’ र ‘डण्डा’ले परिणाम यस्तै आउने थियो । किनकि सरकार बाहिर रहँदा फण्डाले जति काम गर्छ, सरकारमा गएपछि त्यसले काम गर्दैन । किनकि सरकार भनेको काम गरेर देखाउने थलो हो ।
भारत प्रजातान्त्रिक हुन चाहन्छ । धर्म पनि स्वधर्म चाहन्छ, त्यसमा भारभर धर्मको मिश्रित चरित्रलाई ख्याल गरिनु पर्छ । मूलतः प्रजातन्त्रको मर्म र तदनुरूपको कार्यान्वयनलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैले कुनै धर्म, व्यक्ति वा समप्रदायभन्दा प्रजातन्त्र माथि हुन्छ, भारतका लागि ।
यो कुरा ख्याल गरेनन् मोदीले ! प्रजातन्त्रमा व्यक्ति होइन, संस्था माथि हुन्छ । संस्थागत विकासको फेरो समाउन सकेको पनि यही कमजोरीले गर्दा हो । मोदी अवतार र व्यक्ति विशेषमा रमाए । यो भारतजस्तो ठूलो प्रजातान्त्रिक देशका लागि सुहाउने कुरा थिएन ।
फरक मतको सम्मान गर्न मोदी डराए । प्रतिशोध साँचे । विना कारण दिल्लीका मुख्य मन्त्री केजरीवाललाई जेल हाले । यी सबै फण्डा र डण्डा महङ्गा साबित भए मोदीका लागि !