• मंसिर ११ २०८१, मंगलवार

३०,३२ उमेर पुगेपछि मात्र विवाह गर्छु : नायिका साम्राज्ञी शाह

जेष्ठ १८ २०८१, शुक्रबार

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ ।

‘विवाह गर्यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर गृहस्थी भन्यो तीन–चार वर्ष जान्छ’, उनले भनिन् ‘विवाहपछि काम पनि गर्न पाइँदैन ।’  हाल २८ मा रनिङ शाहले केही वर्ष मज्जाले काम गर्न चाहेको सुनाइन् ।

शाह केही समय अगाडि ‘एग फ्रिज’ गर्ने कुरोले पनि चर्चामा छाएकी थिइन् । उनको अहिले पनि ‘एग फ्रिज’ गर्ने सोच छ । फिल्म ‘रुमानी रंग’ अभिनय तरखरमा रहेकी उनी यो फिल्मपछि ‘एग फ्रिज’ गर्ने बताउँछिन् ।

साम्राज्ञी अभिनीत फिल्म ‘लन्डन टु पेरिस’ आगामी २५ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । उनी अहिले यही फिल्मको प्रचारप्रसारमा व्यस्त छिन् । पछिल्लो समय आएका उनका धेरै फिल्म असफल भए । त्यसैले यो फिल्म हिट बनाउनु पर्ने उनलाई दबाब पनि छ । सोही अनुसार दौडधुप पनि चलिरहेको उनी सुनाउँछिन् ।

‘लन्डन टु पेरिस’ लभस्टोरी फिल्म हो । फिल्मले अहिलेको आधुनिक पुस्ताको प्रेम र रोमान्स देखाउने उनी बताउँछिन् । यो फिल्मा उनले दुई वर्षअघि नै साइन गरेकी हुन् । फिल्मको विषयवस्तु मन परेको कारण फिल्म अभिनय गरेको बताइन् ।
फिल्ममा साम्राज्ञीको अलावा निश्चल खड्का, कवीर खड्का गरिमा शर्मा, रुस्मा थापा, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल र मनिष गान्धीको अभिनय छ । घनश्याम लामिछाने निर्देशित फिल्मका आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मश््ले नेपालभर वितरण गर्नेछ ।