• मंसिर १२ २०८१, बुधबार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी

जेष्ठ २ २०८१, बुधबार

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै न्यायाधीशहरु संक्षिप्त फैसलामा जुटेका छन् ।

त्यसअघि न्यायाधीशहरु गौशाला–२६ माथि जबरजस्ती करणी भएको भनिएको होटलको सीसीटीभी फुटेज हेरेका छन् । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेका हुन् ।

उच्चमा लामिछानेको मुद्दामा बहस सकिएसँगै न्यायाधीशद्वयले सन्दीप र गौशाला–२६ सोही होटल प्रवेश गर्दा र बाहिरिँदाको सीसीटीभी फुटेज हेरेका हुन् ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौँ र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौँ ल्याई एक होटेलमा राखेर बलात्कार गरेको बताएकी थिइन् ।

पीडितको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले उनीमाथि बलात्कार गरेको दाबी अभियोग पत्रमा गरिएको छ ।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो ।

पीडित किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए । स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौँबाट भक्तपुरतिर लगेको बताइएको छ । त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन् । नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्किएको किशोरीको भनाइ थियो ।

काठमाडौँ आइसक्दा रातिको ११ बजिसकेको र छात्रावास बन्द हुने भन्दै एक होटेलमा कोठा बुक गरेर उनीहरू बसेका थिए । सोही होटेलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी थिइन् ।