• मंसिर ११ २०८१, मंगलवार

नयाँ सरकार बनेदेखि भड्किएको दक्षिण

बैशाख ३१ २०८१, सोमबार

यसअघिको प्रचण्ड सरकार ‘दिल्ली कम्फर्टेबल’ थियो । अहिले त्यसमा केही फरक आएको छ । सरकार नयाँ बने पनि प्रचण्डकै नेतृत्वमा छ अहिले । तर दक्षिणी छिमेकीका लागि यो ‘कम्फर्टलेस’ हुन पुगेको छ ।

कारण एउटा मात्र छ, अघिल्लो सरकार अमेरिकी–भारतीय अन्तर्राष्ट्रिय ‘समझदारी’मा बनेको थियो । पछिल्लो प्रचण्डको सरकार अमेरिका–चीन समझदारीको नयाँ ‘आभाष’मा बनेको र चलिरहेको छ ।

अघिल्लो सरकार अर्थात् माओवादी–काङ्ग्रेस गठबन्धन सरकार अमेरिका–भारतको मनोवैज्ञानिक अन्तर्राष्ट्रिय परिवेशमा खुलेको थियो । अहिलेको प्रचण्ड सरकार अमेरिका–चीन करार’को अन्तर्राष्ट्रिय परिवेशमा चलिरहेको छ ।

अन्तर्राष्ट्रिय परिस्थितिमा बदलाव, तदनुरूपको कुटनीतिक पहल र बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा चलिरहने हेराफेरी र चालबाजीको इशारामा नेपालमा राजनीतिक गठबन्धन र सत्तासम्बन्धी खेल हुने गरिरहेका हुन्छन् ।

टेथिस सागर माथि उठेर ‘बेसलेस’ अवस्थामा टिकिरहेको नेपाली भौगर्भिक अवस्थिति झैं नेपाली राजनीति पनि आफ्नो ‘बेस’मा टिक्न नसकेका कारण ‘बेसलेस’ अवस्थामै छ । त्यसैले नेपाली राजनीति, राजनीतिक सत्ता समीकरण र तिनमा हुने फेरबदल रातारात हुने गर्दछन् ।

माओवादी–काङ्ग्रेस गठबन्धन बिघटन भएर अहिले बनेको गठबन्धन र सरकार पनि रातारात बनेको थियो । यो कुनै मत परिणाम वा देशको राष्ट्रिय सङ्कट वा विपद्का कारण एक्कासि बनेको होइन पनि । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारणले यसो हुन गएको थियो ।

पछिल्लो समयमा अमेरिका राष्ट्रपतीय चुनावको दौडमा छ । अमेरिकाका लागि चीन नीति वा रूस नीति चुनावी एजेण्डा बन्ने गरिरहेका छन् । अमेरिकाको साथ युरोपसँग भए पनि ‘लिभिङ टुगेदर’ चीन वा रसियासँगै हो । भनिन्छ पनि, ‘माया बैगुनी, नभई नहुनी’ ! भएको छ यस्तै । अन्तर्राष्ट्र्यि प्रतिस्पर्धी पनि र अन्तर्राष्ट्रिय साझेदार पनि हुन् चीन–अमेरिका वा रूस–अमेरिका ।

अर्को कुरा, इजरायलले अमेरिकालाई सकसमा पारिरहेको छ । अमेरिकालाई ‘भनूँ भने आफ्नै मान्छे, नभनु त मुटु खान्छे’ भइरहेको छ । इजरायलसँग सती जान इच्छुक छैन अमेरिका । अन्तर्राष्ट्रिय परिस्थिति इजरायलको विरूद्धमा छ । यसको आगो अमेरिकाभित्रै सल्किइरहेको छ ।

राष्ट्रपतीय चुनावको बेला छ । समय र यसको बहाव प्रतिध्रुवीय छ । इजरायलप्रति चीन र रूस धेरै आक्रामक नबनून भन्ने आशय अमेरिकाको छ । किनकि इरायलले प्रहार गरे पनि गाजामा दिनहुँ निर्दोष मानिस मारिरहेका हतियार अमेरिकी नै हुन् । इजरायललाई निर्वाध हतियार सहयोग गरिरहेको छ अमेरिका । देशमा चुनावी वातावरण भएकाले कन्जरभेटिव र डेमोक्र्याटमा विभाजित छ अमेरिका !

चुनावमा विभाजित अमेरिकामा अहिले एउटा पक्ष चीनतिर र अर्को पक्ष रूसतिर हातेमालोका लागि तयार छन् । पूर्व राष्ट्रपति ट्रम्प रूसतिर र वर्तमान राष्ट्रपति जो बाइडन चीनतिर नजिक देखिएका छन् । यिनीहरूको चुनावी रणनीति पनि सोही मुताविक छ । अभिव्यक्ति पनि र सहकार्य पनि त्यसै अनुरूप छ । अमेरिकाको वर्तमान बाइडन प्रशासन चीनप्रति केही लचक भएकै कारण नेपालमा सत्ता गठजोड र सरकार परिर्वनको नयाँ अन्तर्राष्ट्रिय परिवेश निर्माण हुन गएको हो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन केही पर छ अझै । तर छिमेकी भारत भने अर्को नयाँ म्यान्डेटसँगै आउन आँटिसकेको छ, लोकसभा निर्वाचन मार्फत् । यसले पनि नेपालको राजनीतिक गठजोडमा दख्खल पुराउने देखिन्छ । किनकि वर्तमान गठजोडसँग यो ‘नाराज’ छ । उता अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम के कस्तो आउने हो, भविष्यकै गर्भमा छ ।

तर भारतमा सम्पन्न हुन गइरहेको लोकसभाको मत परिणाम र नव गठित भातीय सरकारले नेपालमा सरकार बदलिएको हेर्न चाहने देखिन्छ ।