• मंसिर १४ २०८१, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

चैत्र २१ २०८०, बुधबार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो। बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ । मुख्यमन्त्री पाण्डेले बिहीबारभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर बहुमत आउने नदेखेपछि पाण्डेले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस संसदीय दलका नेता हुन् ।

गण्डकीमा कांग्रेस ठूलो दल हो । यहाँ कांग्रेसका २७ सांसद छन । नेकपा (एमाले) का २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन् । राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले एमाले–माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पर्याउन नसक्ने आकलन कांग्रेसको छ ।

नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुन मुख्यमन्त्री दाबी गर्ने तयारी पाण्डेको छ । पाण्डे २०८० वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला उनलाई कांग्रेससहित माओवादी र स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङ्गे) ले समर्थन गरेका थिए ।