• मंसिर ११ २०८१, मंगलवार

आइकन अफ द सीको सफलता

फाल्गुन १० २०८०, बिहीबार

उद्घाटनपछि सफल यात्रा गरिरहेको विश्वको सबैभन्दा ठूलो पानी जहाज आइकन अफ द सी अहिले मेक्सिकोको खाडीमा यात्रारत छ । उद्घाटनको लगभग एक महिना पुग्दा नपुग्दै यसले लक्षित दुरी पार गरिरहेको छ । यो अहिले ३६ किलोमिटर प्रति घण्टाका दरले अघि बढिरहेको छ । यो रफ्तार यात्रुहरूको रमाइलो यात्रा र चढ्ने झर्ने प्रक्रियासँगै कायम हुन सकिरहेको छ ।

अमेकिाको फ्लोरिडा राज्यस्थित मियामीबाट यात्रा थालेको यो जहाज हालसम्म चलिआएका सामुद्रिक जहाजको ‘आइकन’ बन्न सक्ने अनुमानसहित यसको नाम आइकन अफ द सी नामाकरण गरिएको हो । यो ३६५ मिटर लामो छ । यसका २० वटा खुल्ला बार्दलीहरू छन् । यसले एकै पटक ७६०० यात्रु लैजान सक्छ । रोयल क्यारिबियन ग्रुपको स्वामित्वमा रहेको यो जहाजमा ठूलो धनराशी लगानी गरिएको छ । यो २ लाख ५० हजार ८ सय टन गह्रुङ्गो छ ।

सातवटा स्विमिङ पुल (पौडी पोखरी) र ६ वटा वाटर स्लाइड रहेको यो जहाज मनोविनोदका हिसाबले पनि आधुनिक छ । यसभित्र ४० वटा रेष्टुराँ रहेका छन् । यसमा पेयका लागि बार पनि राखिएका छन् । साथै, आराम गर्नका लागि लाउन्जहरूको पनि व्यवस्था गरिएको छ । १ खर्ब, ६० अर्व लगानीमा निर्मित यो पानीजहाज एक सामुद्रिक जहाजी मोडल पनि बनिरहेको छ ।

यो जहाज प्राकृतिक ग्यासलाई तरल बनाएर इन्धन बनाई चलाइएको जहाज हो । प्राकृतिक ग्यासलाई माइनस २६० डिग्री फरेन हाइटमा चिसो बनाई तरल बनाएर प्रयोगमा ल्याइएकाले यो बल्दा निकै ताजा बल्छ र शक्ति पनि दिन्छ । यसको प्रयोगले पानी जहाजमा हालसम्म भइरहेको डिजेल पेट्रोलको प्रयोगमा पानी जहाज धेरै दिन भर पर्नु नपर्ने देखाएको छ ।

तर वातावरणविद र वातावरण सरकोकारवालाहरूको पूर्वानुमान, सतर्कता र आशङ्का कतै यथार्थमा परिणत हुने त होइन भन्ने डर भने बाँकी नै छ । त्यो हो, तरल अवस्थामा प्रयोग भइ आएको प्राकृतिक ग्याँस कतै लिक भयो भने यसले वायुमण्डलमा एक जहरिलो मिथेन ग्यास पैदा गर्ने छ । यसले जीव तथा वनस्पतिमा निकै नकारात्मक असर पार्ने देखिन्छ ।

मिथेन ग्रिनहाउस ग्यासमा कार्वनडायोक्साइड भन्दा पनि खतरनाक ग्यास हो । यसलाई गलत दिशामा लिइएको कदमका रूपमा व्याख्या गरिएको छ । भनिन्छ, मिथेनले कार्वनडायोक्साइड भन्दा ८० गुणा बढी तापमान वायुमण्डलमा भित्र्याउँछ ।

आउँदा २० वर्षमा मिथेन नै विश्वतापमानको सबैभन्दा डरलाग्दो कारक बन्ने अनुमान गरिएको छ । जहाजका सञ्चालक रोयल क्यारिबियन ग्रुपले भने सन् २०३५ सम्म यसमा निकै सुधार ल्याइने भनी दावा गरेको छ ।