• मंसिर ११ २०८१, मंगलवार

जनता र सरकारको संयुक्त लगानीमा उत्पादनमा लाग्नुपर्छ

फाल्गुन ९ २०८०, बुधबार

०५२ सालदेखि शुरु भएको माओवादी नेतृत्वको जनयुद्धले हामी हजारौं युवाहरूलाई दुःख र कष्ट मोचन गर्ने चेतना दिएको थियो र छ । दुश्मनका घेराबन्दी, यातना, आतंक, भोकप्यास र अनिदोदेखि कति हो कति दुःख……।

पुनः त्यही दिन दोहोरिएर त संभवतः आउँदैन तर अब नेपालमा सुखका साथ र दुश्मनको गोलीबाट मर्न नपरिकन एकपटक जनयुद्दकै स्तरको जागरण पैदा गर्नुछ । यसका लागि जनताकोमा जाने पुरानो शैलीले अब काम गर्दैन । जनतामा जाने आजको शैली अपनाउन आवश्यक छ । ०५२ सालको तरिका आज धेरै पुरानो भैसक्यो । त्यसैले जनताकोमा जाने हामी तीन प्रकारका शैली अपनाउने नेता नै आजको वास्तविक नेता हुनसक्छ ।

आजको विज्ञान र प्रविधि प्रयोग गरेर लेखेर, भाषण गरेर र भेटेर सही विचार तथा ऊर्जा दिन आवश्यक छ । आजको निरासालाई चिर्नका लागि नेता पनि आफैमा ऊर्जावान हुन जरूरी छ ।

राज्यको पहुँच, सेवा र सुविधालाई जनतासँग जोडेर, जनताका समस्याहरूलाई संबोधन गरेर र जनताको जीवनस्तर उठाउनलाई उत्पादनको कार्यक्रम नै लिएर राजनीति र सरकारप्रति जनताको आशा जगाउन सकिन्छ । त्यसका लागि सरकार पनि जनतासित जोडिएर वस्तु उत्पादन र सही बजारीकारणमा लागेको हुनुपर्दछ ।

देश र जनताप्रतिको सेवाभाव र स्वयमसेवी इच्छा शक्तिले नै आवश्यक परे मर्न पनि तयार भएर दश वर्ष बिताउने योद्दाहरूमा पुनः जागरण पलाउन आवश्यक छ । त्यसका लागि नेतृत्वले सही कार्यक्रम बनाउन सक्नुपर्दछ । र नेतृत्वले पनि जनताको स्तरको जीवनशैली अपनाउन सक्नुपर्दछ । अर्थात् जनतासँग दैनिक जीवनमा जोडिनु पर्दछ ।

त्यसका लागि संगठनहरू पनि हिजो लेनिनले भनेको स्तरमै बन्दैनन् । विशाल जनतालाई कडा अनुशासनमा राख्न पनि सकिँदैन भने सानो अनुशासित टिमले मात्र जनताको मन जित्न पनि सकिँदैन । हामी आफैले लेनिनवादी ढाँचाको संगठनको कुरा गर्ने तर आफै कार्यान्वयन नगर्ने भएकाले जे गरेर भित्रैदेखि आएका छौं, त्यहीँ ढाँचा व्यवहारिक हिसाबले प्रयोग गरिनु पर्छ ।

आदर्श एउटा तर व्यवहार फरक हुनु नै आजको समस्या हो । मुख्य अन्तरविरोधको हल लचकदार बनेर गर्नुपर्दछ तर धेरै अर्काको विषयमा मात्रै निदीखुदी नगरी र फराकिलो मन बनाएर संगठन चलाउने नै हुनुपर्छ ।

यी आज हामीले अपनाइरहेका तरिका पनि हुन् । खाली अरूको विरोध किन गर्ने ? बरु आफूले निरन्तर आफ्नो पार्टी, राजनीति, उत्पादन, ब्यापार गर्दै जाने हो । आफू नै सफल भए अरूलाई पनि प्रेरणा र शिक्षा मिल्छ । आज हामी उपदेश दिनेहरूको जमातमा बदलियौं किन ? यस्ता प्रश्नको जवाफ खोज्नुपर्दछ ।

हिजो जनताको लागि भन्दै हाम्रै जीवनलाई मार्न पनि तयार भयौं । तर आज जनताको सेवा गर्दा मर्नु पर्दैन । समाज र आफ्नालागि हिजोकै युद्धस्तरमै काम गर्दै जाऔं । जमीन बाँझो नराखांै, पशुपंछी पालौं, ब्यापार गरौं, ठुलो नखोजौं, सानै जीवन धान्ने गरौं, सानोबाट बढाएर माथी जाऔं, हरेस नखाऔं, लगानी कम छ, ऋण धेरै नखोजौं र मेहनती बन्यौं भने आफै सुध्रने छौं । आफू सुध्रनु पनि समाज सुधार हो । किन कि आफूबाट अरुले शिक्षा लिनसक्छ । आजको विशेषगरी युवा जमात राजनीति, पार्टी र सरकारसँग सन्तुष्ट छैन । वैदेशिक रोजगारको मोह छ ।

सानो-ठुलो जागिर नै छोडेर पनि विदेश हिँड्ने चलन बढ्दो छ । यो तरिकालाई रोक्नेखाले चेतना र जागरण पैदा गर्नका लागि यी तिनै शक्तिहरूको युद्ध स्तरको खटनपटन चाहिन्छ । रोजगार पनि परिवार धान्नेखालको नभई निर्वाहमुखी भएकोले यस्तो अवस्था आएको हो ।

भविष्य देख्ने र देशमै गरौं भन्ने पार्टी, राजनीति र सरकार बन्नका लागि लाखौंलाई रोजगारी दिने गरी कम्पनीहरू खोल्ने, आयात भन्दा निर्यात गर्ने गरि उत्पादनलाई गुणात्मकता दिने र हरेक पक्षबाट राष्ट्रिय उत्पादकत्व बढाउन सक्यौं भने मात्र विश्वास आर्जन गर्न सकिन्छ । र युवाहरूको पलायनलाई रोक्ने काममा पनि टेवा दिन सकिन्छ ।

समग्र हिसाबले राष्ट्रिय अनियमिततालाई रोक्दै जाने काम सरकारको सकारात्मक त भैरहेको छ । पुराना खोतल्दै जाने र नयाँ बद्मासी हुनबाट रोक्ने कामले सामान्यतया सकारात्मक ऊर्जा देशमा पलाएको छ । यही स्तरको सरकारलाई निरन्तरता दिनसक्ने राष्ट्रिय वातावरण बनाउन पनि आवश्यक छ । त्यो बनाउन सक्यौं भने पनि राजनीति, पार्टी र सरकारप्रति युवाहरूको आकर्षण र विश्वास बढ्दै जानेछ ।

आफू कुर्सीमा रहनका लागि मात्र नभै जनता र देशका लागि पनि गर्दैछन् भन्ने वस्तुगत आधार तयार नेपाल सरकारले गरेको हुनुपर्छ । आगामी बजेटबाटै समाजवाद उन्मुख नीति तथा कार्यक्रम सरकारले ल्याएको हुनपर्छ तब विश्वासको वातावरण बन्छ । परम्परागत बजेटले जनताको जीवनस्तर उठ्दैन किन कि परम्परागत बजेटले आजसम्म जनताको जीवनस्तर नउठेको हाम्रा अगाडी प्रमाण छ ।

कृषि प्रधान देशमा कम्तीमा यान्त्रिकरण र आधुनिकीकरणमा ४० प्रतिशत बजेट विनियोजन भएको हुनपर्छ । यो कार्यान्वयन तीनै तहका सरकारहरूले गरेको हुनपर्छ तब मात्र जनतामा जागरण पैदा हुन्छ । आजसम्म भाषण भयो । अब प्रत्यक्ष जनता लाभान्वित भएको महसुस हुनेगरी सरकारले काम गरेपछि कसरी देशमा नैराष्यता पलाउँछ । यसरी समग्र पाटा र पक्षहरूमा सरकारले सन्तुलन कायम गर्दै अगाडी बढेमा जनताले पनि साथ दिन्छन् । आजको नेतृत्व, राजनीति र सरकारबाट जनताले अपेक्षा गरेका विषयहरू यिनै हुन् ।

हामीलाई विश्वास छ । नयाँ भनेको पनि यही होला, पुरानो भनेको परम्पराको निरन्तरता नै हो । सरकारसँग आर्थिक अभाव भए राष्ट्रिय रूपमा लगानीका लागि आव्हान गर्न पर्यो । राष्ट्रको हित हुनेकाममा माथीकाले विश्वासको वातावरण गराएमा २-४ लाख लगानी गर्नसक्ने जनताको अवस्था छ । उद्योगी र ब्यापारीले झन अलि बढी लगानी गर्न सक्लान् । तर कुल मिलाएर राष्ट्र नै आत्मनिर्भर हुनेगरी सरकारबाट नीति तथा कार्यक्रम आएमा हामी जनता पनि लगानी गर्न तयार नै छौं ।
(लेखक , माओवादी केन्द्रका नेता हुन् ।)