• मंसिर १२ २०८१, बुधबार

घाउ चाँडाे निको नहुनुको कारण

माघ २६ २०८०, शुक्रबार

संक्रमण
छाला हाम्रो शरीरलाई हानिकारक ब्याक्टेरियाविरुद्ध प्रतिरक्षाको पहिलो रक्षाकवच हो । तर जब छालामा घाउ हुन्छ वा भनौं छाला च्यातिन्छ वा फाट्छ त्यही ठाउँबाट हानिकारक ब्याक्टेरिया सजिलै हाम्रो शरीरमा प्रवेश गर्छन् । यस्तो घाउमा संक्रमण भए घाउ निरन्तर रातो भइरहन्छ, सुन्निन्छ, दुख्छ र गन्हाउने पानी पनि बग्न सक्छ । संक्रमण भए घाउ चाँडै निको हुँदैन ।

पोषण
घाउ निको हुनु नहुनुमा हामीले गर्ने भोजन र खानेकुराले पनि असर गर्छ । हामीले पर्याप्त फलफूल र हरिया सागसब्जी, तरकारी खाइरहेका छौं छैनौं विचार गर्नुपर्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिन तथा खनिजले शरीर स्वस्थ्य राख्ने मात्र होइन, घाउ पनि छिट्टै निको पार्छन्, खासगरी भिटामिन ए र सीले ।त्यसैले हामीले घाउ निको पार्न पालुंगो, सखरखण्ड, भिँडे खोर्सानी र सुन्तलाजस्ता सागसब्जी र फलफूल खानु आवश्यक छ । यसका साथै पर्याप्त मात्रामा प्रोटिन खान पनि आवश्यक छ ।

मधुमेह
मधुमेहका बिरामीको शरीरमा ब्लडसुगरको मात्रा धेरै हुने भएकाले घाउ वा चोटपटक छिट्टै निको हुँदैनन् र संक्रमणको जोखिम हुन्छ । ब्लडसुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ ।उच्च ब्लडसुगरले दुखाइको समाचार मस्तिष्कमा ओसार्ने स्नायुलाई पनि बिगार्न सक्छ । यसो भए शरीरमा घाउ अझै बढ्न सक्छन्, किनभने यस्तो हुँदा मधुमेहका रोगीले के ले हानी गरिरहेको छ थाहा पाउँदैनन् । घाउ निको हुन ढिलो भइरहेको छ भने यो मधुमेहको लक्षण पनि हुन सक्छ, खासगरी खुट्टा र पैतालाका घाउको सन्दर्भमा ।

औषधि उपचार
घाउ ढिलो निको हुनमा हामीले सेवन गरिरहेका औषधि पनि जिम्मेवार हुन सक्छन् । केमोथेरापी र रेडिएसनका औषधिमा हुने रासायनिक पदार्थले हाम्रो शरीरको रोग प्रतिरोध क्षमतामा नकारात्मक प्रभाव पार्छन् । फलस्वरुप घाउ निको हुन कठिन हुन्छ ।

यसैगरी एन्टिबायोटिक औषधिले हाम्रो शरीरका फाइदाजनक ब्याक्टेरिया मार्छ । त्यसमाथि दुखाइ कम गर्ने औषधिले हाम्रो शरीरको रोग प्रतिरोध प्रणालीको घाउ निको पार्ने प्रक्रियामा अवरोध उत्पन्न गर्छ । औषधिका कारण नै घाउ निको हुन ढिलो भएजस्तो लागेमा डाक्टरसँग सुझाव लिनु उचित हुन्छ ।

रक्तसञ्चारमा अवरोध
हाम्रो शरीरले घाउ निको पारिरहेका बेला सबैभन्दा महत्वपूर्ण भूमिका राता रक्तकणले निर्वाह गरिरहेका हुन्छन् । राता रक्तकणले नयाँ कोष घाउ भएका ठाउँमा ओसार्छन्, जसबाट हाम्रो शरीरले कोलाजिनको सहायताले नयाँ छाला निर्माण गर्छ । तर रक्त सञ्चारमा अवरोध आए वा ढिलो भए यसले घाउ निको हुन पनि ढिलो हुन्छ ।यसरी रक्त सञ्चार ढिलो हुनुको कारण मधुमेह, रगत जम्ने, धेरै मोटोपन वा धमनीमा कोलेस्टेरोल जम्ने हुनसक्छ ।यसैगरी लामो समय ओछ्यान परेका बिरामीको शरीरमा धेरै सुतेर छाला बिग्रन सक्छ र घाउहरू पनि हुन सक्छन् । यस्ता घाउ कहिलेकाहीं छिटो निको नहुन सक्छन् र निको पार्न डाक्टरकै सहयोग लिनुपर्ने हुनसक्छ ।

अल्कोहल
मद्यपानको बानीले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभावमध्ये एउटा घाउ छिटो निको हुन नदिने हो । सन् २०१४ मा प्रकाशित एउटा अध्ययन अनुसार अनुसन्धानकर्ताले उपचार गरिरहेका बेला अल्कोहलका कारण घाउ चोटपटक वा अन्य रोगमा पनि धेरै संक्रमण हुने पत्ता लगाएका थिए ।अध्ययनका अनुसार खासगरी शल्यक्रिया गरिएका घाउ निको हुन मद्यपानले अवरोध गर्छ । अत्यधिक मद्यपानले सेता रक्तकण नष्ट गर्ने पनि अध्ययनकर्ताले पत्ता लगाएका थिए ।

खुट्टाको नशामा हुने घाउ
कहिलेकाहीं खुट्टामा भएको घाउ निको हुन धेरै समय लागे खुट्टाका नशामा रगत जम्न सक्छ । किनभने खुट्टाबाट पनि रगत मुटुसम्म पुग्नुपर्ने हुन्छ । तर घाउका कारण मुटुसम्म रक्तसञ्चार हुन सक्दैन र वरिपरिको छाला रगतको दबाबले कमजोर हुन्छ र घाउ हुनुका साथै निको नहुने पनि हुनसक्छ ।