• मंसिर ७ २०८१, शुक्रबार

विदेश जान छोडेर उत्पादनमा रमाइरहेकाे कृषि जीवनका कुरा

माघ २२ २०८०, सोमबार

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिका वडा ११ बरातुमा टोलमा जन्मेको म जीवन गिरी अहिले बाआमाले गर्नु भएको कृषि कर्मलाई निरन्तरता दिँदै आज म पनि मध्यपश्चिम विश्वविद्यालयमा तीन वर्षदेखि कृषि विषयमा स्तानक पढिरहेको छु ।

कृषि कर्ममार्फत् आफ्नो गाउँ र ठाउँलाई उदाहरणीय बनाउने सोचले अगाडी बढिरहेको छु । दैनिक हजारौँको सङ्ख्यामा विदेशिने युवालाई र देशका काम नलाग्ने नेताहरुलाई म चुनौती दिन चाहन्छु । गाउँमै नमूना तरिकाले कृषि फार्ममार्फत् व्यावसायिक कृषि गर्दै आएको छु ।

बरातुको उत्पादनले नै बरातुको पहिचान बनाउँछ । हाम्रो गाँउमा १०० प्रतिशत अर्गानिक (जैविक) बाली उत्पादन भइरहेको छ तर यसको बजार र ब्रान्डिङ् गर्न सकिएको छैन । अब कृषिलाई पर्यटनसँग जोड्नु पर्छ, जसले आफ्नो ठाउँको दुवै कुराको पहिचान बन्छ । वस्तु र उत्पादन बढ्छ । जसले व्यक्तिको आर्थिक उन्नतिसँगै देशको पनि आर्थिक उन्नति हुनेछ र सुखी र खुशी नेपालीको पहिचान बन्नेछ ।

पछिल्लो समय स्वदेशमै कृषि अथवा केही गर्नुभन्दा विदेश जाने युवाको सङ्ख्या बढेको भन्दै राजनीतिसँगै कृषिलाई राज्यले विविध सेवा दिनुपर्छ भन्दै विभिन्न तहका नेताज्यूहरुलाई सुनाउँदै हिँडेको पनि छु, खै कसैले सुन्ने होइन । राजनीति गर्नेहरुले अरु कुनै पेसा र व्यवसाय नगर्ने परम्परा रहेको छ तर पैसा कताबाट आउँछ नेताज्यू जहिले पनि नेताको तलबले पुगेन भने मात्र सुनेको हुन्छु ।

कृषिका माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि कर्ममा लागेको छु । राजनीति पेसा होइन, सेवा हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको छ । राजनीति गर्नेको जीविकोपार्जनका लागि कुनै पेसासँग जोडिनु पर्ने आवश्यकता महसुस नेताले गर्नु पर्छ । राजनीतिसँगै जोडिनु भएका नेताहरु लगायत अन्य क्षेत्रमा जोडिनु भएका सबैले पनि कृषि पेसामा जोडिने हो भने देशको २० लाख बिघा जमिन बाँजो हुँदैन थियो होला ।

राजनीति गर्ने मान्छे जुन पेसामा जोडिए पनि अब्बल र नमुना बन्नुपर्ने हुन्छ । मेरो त्यस्तो नेता बन्ने चाहना त होइन तर समाज सेवा चाहीँ गर्नुपर्छ । म पढाइसँगै लामो समदेखि कृषि पेशालाई समय दिएको छु । गाउँमा पशुपालनसँगै खेतीलाई व्यावसायिक ढङ्गले नभए कामचलाउ तरिकाले अझै पनि खेति गरेको देखिन्छ ।

देशलाई कृषिबाट नै समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले कृषि क्षेत्रमा लागेको हुँ । बाआमाले विशेष गरी फलफूल खेति गर्दै कालीकोटमा जनचेतना फलफूल नर्सरी नाम राखेर फर्म खोल्नु भएको थियो र मेरो पढाइ सकेर त्यसको शाखा अहिले सुर्खेतमा पनि छ । जसमा तरकारी उत्पादन गर्दै छौं र अबको पशुपालन पनि शुरु गर्ने सोच गर्दैछौं । सुर्खेतको फार्मको नाम बसन्त अर्गानिक कृषि तथा पशुपंक्षी फर्म छ र सँगै अहिले हामीले कर्णालीमा अर्गानिक कोशेली हब पनि खोलेका छौं । जहाँ कर्णालीका मौसमी उत्पादन उपलब्ध गर्दै आएका छौं ।

म बच्चा हुँदादेखि नै कृषिमा किबी, फलफूलका बिरुवा, कृषि उत्पादन, पशुपालन लगायतका क्षेत्रमा बाआमासँग साथै काम गर्दथें । व्यावसायिक क्षेत्रमा लागेमा जीविकोपार्जन सहज हुन्छ भन्दै अहिले स्थानीयवासीलाई प्रेरित गर्न विभिन्न कृषि उत्पादन गर्दै आएको छु ।

राज्यलाई किसानको हित हुने नीति तथा कार्यक्रम कागजमा मात्र होइन कार्यान्वयनमा पनि लानुपर्छ भन्छु । किसानलाई झन्झटिलो सरकारी प्रकृया हटाएर सरल तरिका अपनाउनु पर्छ । किसानको खेतबारीमा गएर अनुदान र ऋण दिने वातावरण बनाउनु पर्छ । प्रत्येक वडामा किसानको मौसमी र बेमौसमी उत्पादनलाई राख्नको लागि सित भण्डारको निर्माण गर्नु पर्दछ ।

सडक सञ्जाल, बिजुली बत्ति र सिचाइँको सुविधा राज्यलाई दिनसक्नु पर्दछ । कृषि पेशा गर्नको जग्गा भाँडामा लिँदा सहुलियत रूपमा लगानी पाउने व्यवस्था हुनु पर्छ । यसो भएमा देश बन्न समय लाग्दैन ।