यदि कुनै व्यक्तिलाई सानो छँदा ठेउला आएको छ भने पछि वयस्क हुँदा उनीहरुलाई जनै खटिरा आउन सक्छ ।
किनभने जुन भाइरसले ठेउलाको समस्या हुन्छ, ठेउला निको भइसक्दा पनि उक्त भाइरस पूर्ण रुपले नष्ट भएको हुँदैन ।वयस्क उमेरमा जब मान्छेलाई चिन्ता, तनाव, धपेडी हुन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तब उक्त भाइरस सक्रिय हुन्छ । अनि भाइरस छालाको सतहमा आउँछ । यसले गर्दा छालामा स-साना बिमिरा आउने, पानीको फोका जस्तो बन्ने र फुट्ने हुन्छ । यो एक ठाउँबाट क्रमशः फैलिंदै अन्यत्र पुग्छ । यदि समयमा नै उपचार भएन भने शरीरभर यस्तो खटिरा देखा पर्छ ।
के छ त उपचार ?
छालामा खटिरा देखा पर्नासाथ छालारोग विशेषज्ञसँग भेट्नु उपयुक्त हुन्छ । उक्त खटिरा के हो ? जनै खटिरा हो वा होइन भन्ने कुरा पहिचान गर्नुपर्छ । यदि जनै खटिरा हो भने त्यसको लक्षण देखिएको तीन दिनभित्र नै एन्टिभाइरल औषधि चलाउनुपर्छ ।खटिरा आउने बित्तिकै फैलिन थाल्छ, त्यसलाई रोक्न छिटो एन्टिभाइरल औषधि दिनु अति आवश्यक हुन्छ । शरीरको कुन भागमा खटिरा आएको हो सोही अनुसार औषधि लगाउनुपर्छ । शरीरका जुन अंगमा बिमिरा आएको छ सोही अनुसार चिकित्सकलाई देखाएर औषधि उपचार गर्नुपर्छ ।