• मंसिर ११ २०८१, मंगलवार

लोकतन्त्रको संस्थागत विकासमा शहिद र सम्मान

माघ १६ २०८०, मंगलवार

मनोहर कार्की,

मूलतः नेपाली राजनीतिकका ऐतिहासिक पाटाका विश्लेषण तथा मान्यता र पद्धतीको हामीले पैरवी गरि आएकाछौं ।राष्टको स्वाभिमान र जनताका उन्मुक्तिका अभियानमा इतिहासका विभिन्न कालखण्डमा जनताका सच्चा सपुतको योगदानको स्मरणीय क्षणका रुपमा शहिद दिवसलाई लिइन्छ । १०४ वर्षीय निरंकुश राणाशाहीको क्रुर हुकुमी शासनका विरुद्धमा जनताका प्रजातन्त्रका स्वप्निल पक्षलाई उजागर गरी वास्तवमै नेपाली जनताको उन्मुक्तिका लागि ज्यानको आहुती उत्सर्ग गर्ने वीर शहिदको संस्मरणमा सबै नेपालीको उच्च नमन र सम्मानको दिन शहिद दिवस हो ।

जनताका उन्मुक्ति र जनप्रतिनिधिमूलक संस्थाहरुको अपरिहार्यताको विचार विनिमय सम्प्रेषण गर्दा हामीले कहिल्लै भुल्न नसकिने राष्ट्रिय व्यक्तित्वहरुमा अमर शहिदहरुको नाम अग्रपंतीमा आउँदछ । नेपालले विगतदेखि अभ्यास गरी आएको लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास तथा जनतालाई अधिकार सम्पन्न नागरिक बनाई संघीय राज्यसंरचनाका मान्यतालाई कार्यान्वयनतहमा ल्याउने दिशामा परिणाममुखी कार्य भएमा त्यो नै राज्य र जनताका तर्फबाट वीर सपूतहरु प्रति सच्चा श्रद्धान्जली हुनसक्छ ।

यस मानेमा प्रत्येक वर्ष मनाइने शहिद दिवस सप्ताह र औपचारिक कार्यक्रमले मात्र हाम्रा शहिदहरुको सपना साकार हुन नसक्ला । शहिदहरुले कोरेका पथमा दृढ इच्छाशक्ति र इमान्दारिताका साथ अघि बढ्नुमा विवेकसिल र सचेत नागरिकको दायित्व पनि हो । नेपाली जनतालाई रैतीबाट सम्मानजनक नागरिक बनाउने अभियानमा निरंकुश राणाशाहीको क्रुर शासनको उभारको समयमा बुलन्द आवाज उठाउने वीर शहिदको गाथाले इतिहासका स्वर्णीम पाना भरिएकोछ ।

यसको आफ्नै विशेषता छ,महत्ता इतिहासले कोरेको र वर्तमानले बुझेको छ । नेपालको राजनीतिक इतिहासमा वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलन र यसको उपलब्धी तात्कालिक घटनाक्रममा राजा र आन्दोलनकारी राजनीतिक शक्तिहरुको ऐतिहासिक सहकार्य र प्रजातन्त्रप्रतिको जनउभारको परिपोषकका रुपमा लिन सकिन्छ । प्रजातन्त्रको स्थापना र नागरिक अधिकार प्रत्याभुतिका लागि जयतु संस्कृतम् तथा नेपाल प्रजापरिषद्ले प्रारम्भिक समयमा खेलेको भूमिका स्मरणीय छ ।

प्रजातान्त्रिक अधिकारका अग्रज अभियन्ताको अथक प्रयास प्रतिकुल अवस्थामा पनि आफ्नो विचार, मान्यता र अभियानलाई निरन्तरता दिने साहसिक पथप्रर्दशक प्रेरणापुन्ज हुन् । १०४ वर्षको जहाँनीया निरंकुश राणाशासनका विरुद्धमा निडर र साहसिक पथप्रर्दशकका रुपमा वीर शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको जीवन आहुती तथा प्रजातन्त्रको स्थापनाका लागि योगदानका मुल्यलाई हामीले कसरी चुकाउन सकेकाछौं भन्ने कुरा आजको सन्दर्भमा महत्व राख्दछ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन, शासकवर्गको निरंकुशता र स्वैच्छाचारिता विरुद्ध इतिहासका विभिन्न कालखण्डमा विद्रोह, विग्रह र सशस्त्र आन्दोलन भएका घटनाक्रम बग्रेल्ती छन् । सन् १८८२ मा तात्कालिक राणा प्रधानमन्त्री रणोद्धीप सिंको शासनका विरुद्ध असफल सैनिक विद्रोह गरेका चौतारीया पुष्कर शाहका छोरा कर्णेल अमरविक्रम शाहलाई तात्कालिक शासकले मृत्युदण्ड दियो । यसैगरी सहिद लखन थापामगरलाई नेपालको पहिलो शहिदका रुपमा मानिआएको पाइन्छ, जसले तात्कालिक राणाशाही विरुद्ध जनविद्रोहको विगुल फुक्ने साहस गरे ।

त्यसै गरी लेखक तथा सामाजिक अभियन्ता कृष्णलाल अधिकारीले मकै खेती नामक साहित्यिक कृतिका माध्यमबाट नेपाली जनतामा राणा शासन विरुद्ध जनचेतना फैल्याए । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धा टंकप्रशाद आचार्यलाई नेपालीले जिउँदा सहिदका रुपमा पुँज्दछन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासका विभिन्न कालखण्डमा साहसिक प्रजातान्त्रिक योद्धाहरुले पंचायती निरंकुशता र बर्बरता विरुद्ध आन्दोलनको उभार र ज्वारभाटा ल्याउने सत्प्रयास गर्दा सहिद भिमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार वान्तवा तथा क्याप्टेन यज्ञ बहादुर थापाले वीरगत प्राप्तिको स्वर्णीम इतिहास छ ।

औपचारिक रुपमा शहिद दिवसको कार्यक्रमको थालनी वि. स. २०१२ सालमा तात्कालिक काठमाडौं नगरपालिकाको अगुवाईमा शुरुआत भयो । शहिदको योगदानको उच्च सम्मान गर्दै शहिद सप्ताहका रुपमा मनाउने परम्परालाई निरन्तरता दिंदै यस वर्ष पनि शहिद दिवसको कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म मुलुकमा प्रजातन्त्र र आम नागरिकहरुको स्वतन्त्रताका लागि अमूल्य जीवन आहुती दिने वीर शहिदहरुको उच्च मुल्यांकन गदैं मनाई आइएकोछ ।

सहिदका गाथाले इतिहासमा छृट्टै पहिचान र आस्थाको सोपान झल्किन्छ । पंचायती व्यवस्थाको तीस वर्षसम्मको निकै कहाली लाग्दो कालखण्डमा जनअधिकार र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि शाहसी वीर नेपालीले बलिदानी दिए । तिन्कै पदचाप अनुसरण गर्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धीका रुपमा निरंकुश पंचायती व्यवस्थाको अवसान भई प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुनसक्यो । २०६२/०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्था स्थापना गर्न सक्यो ।

मुलुकले २०७२ साल असोज ३ गते ऐतिहासिक संविधानसभाले वनाई राष्टप्रमुखबाट घोषणा भएको नेपालको संविधान २०७२ प्राप्त भयो । मुलुक विधिवत् संबैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रिक शासन पद्धतीको युगमा प्रबेश गर्यो । लोकसम्मती र जनताद्धारा लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिले निर्माण गरी कार्यान्वयनमा आएको नेपालको संविधान सफल कार्यान्वयन दिशातर्फ परिलक्षित छ ।

नेपाली जनताका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार खेसिएको त्यो एक शताब्दीभन्दा बढि समयको निरंकुश राणाशासनको अन्त्यका लागि वीर शहिदहरुको योगदान आजका दिनमा पनि त्यत्तिनै सान्दर्भिक छ । देशमा लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएसंगै राजनीतिक उपलब्धी पुरा भएको आभाष दिन संस्थागत विकास साझा दायित्व हो । शहिदले कल्पना गरेको समाज निर्माणको अभियान अझै सकिएको छैन् र वर्गीय शोषण र असमानता अझै विद्यमान छ ।

समाजमा आमुल रुपान्तरण तथा असमानताको अन्त्यका लागि लोकतान्त्रिक सरकारले पहिलो प्राथमिकताका रुपमा कार्य गर्नुपर्दछ । तबमात्र शहिदको सपना साकारोन्मुख होला । मुलुकलाई समृद्धि र दीगो विकासतर्फ उन्मुख गराउने सवालमा सरकार, राजनीतिक दल तथा सरोकारवालाहरुको गाम्भिर्यता अपरिहार्य छ । फलतः हाम्रा राजनीतिक अभ्यास र संस्कारले लोकतन्त्रको मियोको रुपमा रुपान्तरित हुने अवसर पाउनेछ ।

लोकतन्त्रको सार र राजनीतिक इमान्दारिताको कसी भन्नु नै जनमतको भावनालाई अनुप्राणीत गर्नसक्ने क्षमता राज्य शक्तिको रुपान्तरणमा हुनुपर्दछ । लोकतान्त्रिक व्यवस्था, मानवाधिकार तथा प्रेस स्वतन्त्रताको पूर्णतः प्रत्याभूति, बहुलवाद तथा बहुपहिचानको मान्यता र मर्मलाई मुखरित गर्ने आगामी कदमहरुले महत्व राख्दछ । राष्ट्रियता लोकतन्त्र र विकासका आयामसंग लोकतन्त्रका मान्यता र उपागम अनुप्राणित हुन सक्नुपर्दछ ।

जनताका अभिमतलाई जनमतका रुपमा रुपान्तरण गर्ने अनि जनताका प्रतिनिधिमुलक संस्थाहरुको निरन्तरता र स्थायित्व कायम गर्ने दिशामा निर्वाचन र निर्वाचित संस्थाको महत्वलाई सामान्य रुपमा लिन सकिंदैन् । सन्दर्भमा विश्लेषण गर्दा प्रसिद्ध राजनीतिक विश्लेषक डा. बि. आर. अम्बेडकरले भन्नु भएको छ, यदि लोकतन्त्रलाई नितान्त सामाजिक मूल्यमा रुपान्तरण गरिएन भने यो अन्ततोगत्वा निरंकुशतन्त्र हुन्छ र सरकार संचालनको पद्धती अति नै निकृष्ट हुन आउँछ, जसको कारण आमनागरिकले पहिलेको खरो अधिनायकवादी शासन पद्धतीलाई समेत विर्सनेछन् तथा लोकतन्त्र फगत निर्वाचक लोकतन्त्रमा मात्र सीमित हुनेछ ।

शहिदको सपनालाई साकार पार्ने सवालमा राजनीतिक तथा नागरिक क्षेत्रकोे समान चासो र गाम्भिर्यता भएमा भोलीको सुनौलो नेपाल टाढा छैन् । लोकतन्त्रको स्थापना र संस्थागत विकासका लागि शहिदहरुको बलिदानको मुल्य जनताको यावत् मानव अधिकार जस्तै समानता, न्याय तथा सामाजिक, आर्थिक रुपान्तरणका बग्रेल्ती अवसरहरु निर्बाधरुपमा प्राप्त हुनु हो । दीगो शान्ति, स्थायित्व र आमनागरिकका इच्छाशक्ति र भोगाईलाई आत्मसात लोकतन्त्रको मर्म हो ।

लोकतन्त्रको संस्थागत विकासमा इतिहासका कालखण्डमा सहादतप्राप्त गर्ने ज्ञात/अज्ञात शहिदप्रति सच्चा श्रद्धान्जली सहित पूनः संस्मरण गर्नुछ । साथै शहिद दिवश मनाउनुको मूल सन्देश पनि यहि हुनसक्छ ।