पानीजहाज र समुद्री मार्गको कुरा गरिहँदा नेपालमा रहेको जलरासीको प्रकृतिको सापेक्षतामा जलयातायातका साधनहरू प्रयोगमा आउन थालिसकेका छन् । भोजपुर जिल्लास्थित अरूण नदीमा जेटबोट चल्न थालिसकेपछि यो प्रयासले नयाँ छननक दिएको छ ।
मानिसले सधैं चौडाइ र वृत्ताकारमा जलयातायातको संभावना देखिरहेका बेलामा भोजपुरे उद्यमीका आँखामा भने नयाँ प्रयोग आइसकेको छ । नदीको उत्तर दक्षिण बहावलाई आधार बनाएर यहाँ जेटबोट सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई आवागमनमा निकै सहजता सिर्जना हुन गएको छ ।
पहाडी जिल्ला र उवडखावड धरातलका कारण सडकका माध्यमबाट तराईमा पुग्न निकै कठिनाइ रहेका बेलामा जलयात्राबाट पुग्न थालिएपछि यो यात्रा निकै सहज र रमणीय बन्न पुगेको छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन स्थानीयका लागि सहज यातायातको रोजाइ बनिसकेको छ ।
जिल्लाका ठूल्ठूला नदी नदी दूधकोशी र अरुणमा पुल नहुँदा सास्ती भोगिरहेका स्थानीय अब वर्षाको बेलामा दुई महिना कहर काट्नु बाहेक बाँकी दश महिनामा रमणीय जलयात्रा गरेर उत्तर–दक्षिण गर्न सक्ने भएका छन् । जलयातायात सुरू भएपछि स्थानीयको यात्रा प्रवृत्तिमा पनि बदलाव आउन थालिसकेको छ ।
जिल्लास्थित हतुवागढी–९ कोप्चे अहिले जेटबोट स्टेशनमा परिणत भएको छ । यहाँबाट दैनिक जेटबोट तराइ झर्ने र पहाडमा उक्लने गरिरहेको छ । स्थानीय जनता जेटबोट चढेर जलयात्रामार्फत् धरान, इटहरी, विराटनगर पुगेर साँझपख आफ्नै घर फर्कने सुभअवसर पाइरहेका छन् ।
भीरको बाटो पैदल हिँडेर बस लाग्ने ठाउँमा पुग्नु पर्ने र बस पनि छुट्ने समस्याबाट स्थानीयले मुक्ति पाएका छन् । खुट्टा दुखाएर चतरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । जेटबोट मार्फत् गरिने जलयात्राबाट चतरासम्मको यात्रा केही मिनेटको यात्रामा परिणत हुन गएको छ ।
जलयात्राले हतार भएका बेला र बिरामी परेका बेलामा छिटो अस्पतालमा पुग्ने वातावरण सिर्जना गरिदिएको छ । भौगोलिक दुरीका हिसाबले टाढा रहेका भोजपुर, धनकुटा र सुनसरी जलयातायातका कारण नजिक भएका छन् । यसले स्थानीय पर्यटनलाई पनि संभाव्य बनाउँदै लगिरहेको छ ।
गर्मीयाममा तराईका जिल्लाबाट गर्मी छल्न आउने पर्यटकका लागि जलयातायात निकै रमणीय र छोटो हुनेछ । चिसो हावापानीमा रमाउन, पहाडी तथा हिमाली मनमोहक दृष्यावलोकन गर्न यसले बाटो खुला गरेको छ ।