के त्रेता युगमा चर्चामा आएका हनुमान र द्वापर युगमा जन्मेका अर्जुनका बीचमा सम्वाद भयो होला ? अर्जुन–हनुमान सम्वाद आफैमा अनौठो लाग्दछ । यो सत्य हो वा होइन भन्नेमा पनि धेरै मानिस अन्यौल रहेका छन् । यसको कारण हो, हनुमान रामको पालामा थिए र उनी रामसँग जोडिएर आउने गरेका थिए र छन् । यो कुरा रामायणजस्तो ठूलो महाकाव्यमा वर्णित छ ।
रामको युग त्रेता युग हो । यो युग सत्यपछिको युग हो । सत्य युगपछि त्रेता र त्रेता युगपछि द्वापार र द्वापरपछि कलियुग चलेको मानिन्छ । सृष्टिकालदेखि हालसम्मको समयलाई यसरी चार युगमा बाँडिएको छ । आजभोलि कलियुग चलिरहेको छ ।
भनिन्छ, हनुमान सत्य युगमा शिवसँग थिए । त्रेता युगमा रामसँग थिए । द्वापरमा अर्जुनसँग थिए । कलियुगमा उनी गुफा पसेका छन् । कली युगमा सत्यताको कहिँकतै गुञ्जायस नहुने भएकाले उनी कोही पनि मानिस वा मानिसरूपी भगवानको अवतारका साथमा देखिने छैनन् । यो धर्मशास्त्रमा वर्णित कुरा हो ।
यहाँ द्वापर युगमा हनुमान–अर्जुन पहिलो भेटमा भएको रोचक वार्तालापको प्रसङ्ग उप्काउन खोजिएको छ । द्वापरमा कुनै एक भव्य तीर्थाटनमा हनुमान र अर्जुनको अकस्मात जम्काभेट हुन्छ । पहिलो पटकमै भएको यो भेट अपूर्व मित्रता र सहयोगमा गाँसिन पुग्छ । दुईबीचको सम्बादले यो कुरा सम्भव बनाउँछ ।
कुराकानीका क्रममा उक्त भेटमै अर्जुनले हनुमानलाई सोध्छन्, ‘त्रेता युगमा भएको राम र रावणको युद्धको समयमा तपाईंको निकै चर्चा छ, साँचै हुनुहुन्थ्यो नि ?’ हुनमानले जवाफमा भनेका थिए, ‘म त्यतिबेला केवल उपस्थित मात्र थिएन, बरू रावणविरूद्ध युद्ध पनि गरेको थिए ।’
त्यसपछि अर्जुनले फेरि प्रश्न गरे, ‘तपाईंको स्वामी मर्यादा पुरूषोत्तम श्रीराम श्रेष्ठ धनुषधारी हुनु हुन्थ्यो । तपाईलाई पनि त्यसो लाग्छ, हो ?’ हनुमनले तत्काल जवाफ दिए, ‘यसमा कुनै पनि शङ्का छैन । उहाँ नै श्रेष्ठ धनुर्धारी हो ।’
त्यसपछि अर्जुनले अर्को जिज्ञासा व्यक्त गरे, ‘त्यसो भए उहाँलाई समुद्र पार गरेर लङ्का जान तपाईले नै ढुङ्गाको पुल बनाइदिनु किन पर्यो ? यदि म त्यहाँ भैदिएको भए समुद्रमा वाणैवाणको पुल बनाउँथें । यही वाणको पुलबाट मर्यादा पुरूष श्रीराम र तपाईंका सबै बानर फौज सजिलै समुद्र पार गर्ने थिए ।’
त्यसपछि हनुमानले सहज किसिमले जवाफ दिए, ‘असंभव ! वाणको पुलले त्यहाँ र त्यति बेला कुनै काम गर्न सक्दैन थियो । हाम्रा एक मात्र बानर पनि त्यो पुलमाथि चढेका हुन्थे भने उक्त वाणको पुल टुक्राटुक्रा हुन गई भाँचिने थियो ।’ यो कुराले द्वापर युगका श्रेष्ठ धनुर्धारी अर्जुनलाई ठूलो चुनौती दियो ।
अर्जुनले भने, ‘होइन, हेर्नुस् यो अगाडि सरोवर (ठूलो ताल) छ । म त्यस सरोवरमाथि वाणैवाणको पुल बनाइदिन्छु । तपाईं त्यसमा चढेर सरोवर पार गर्न सक्नु हुनेछ । यदि तपाईं हिँडेर पुल भाँचिएमा म अग्निमा प्रवेश गर्नेछु । यदि पुल भाँचिएन भने तपाईं अग्निमा प्रवेश गर्नुपर्ने छ ।’
हनुमानले पनि अर्जुनको यो सर्त स्वीकार गरे । अर्जुनले आफ्नो शक्तिद्वारा वाणैवाणको पुल तयार गरिदिए । पुल नबन्दासम्म हनुमान आफ्नो सानो आकारका रहिरहे । तर अर्जुनले वाणको पुल निर्माण गरिसकेपछि हनुमानले आफ्नो रूप त्रेता युगको जस्तै भीमकाय बनाइदिए ।
श्री रामको वन्दना र स्मरण गर्दै हनुमानले त्यस वाणको पुलमा चढेर पहिलो पाइला राख्ने वित्तिकै पुल डगमगाउँदै हल्लन थाल्यो । दोस्रो पाइला राख्ने वित्तिकै पुल चरमराउन थाल्यो । तेस्रो पाउ राख्ने वित्तिकै सिंगो पुल टुक्रटुक्रा भएर सरोवरमा डुब्यो ।
त्यसपछि हनुमानले अर्जुनको समीपमा पुगेर सोधे, ‘अग्नि तयार भएन ? अग्नि तयार पार ।’ अर्जुनले अग्नि प्रज्वलित गरे । उनी अग्निमा हामफाल्न तम्तयार भए । त्यति नै बेला लीलाका भगवान श्रीकृष्ण आत्तिदै आए । उनले टाढैबाट भने, ‘पख, पख !’
अर्जुन र हनुमानले दुवैले श्रीकृष्णलाई प्रणाम गरे । श्री कृष्णले सोधे, ‘कुन कुरामा विवाद भएको हो ?’ अर्जुनले विनम्रताका साथ सारा वृत्तान्त सुनाए । त्यसपछि श्रीकृष्णले भने, ‘यो सबै मेरै इच्छाले भएको हो ।’
लिलाका अपरम्पार श्रीकृष्णसँग अर्जुनले क्षमा मागे । अर्जुनले भने, ‘म त ठूलै अपराधी भएँ, प्रभु ! मेरो यो अपराध कसरी कट्छ ?’ त्यसपछि श्रीकृष्णले यो लिला मेरै इच्छाबाट भएकाले यसमा अपराध छैन भनी स्पष्ट पारे । श्रीकृष्णले भने, ‘हनुमान अपरम्पार छन्, त्यसैले उनी तिम्रो शीरमाथि रहेको ध्वजामा गएर बसून् ।’
त्यसपछि श्रीकृष्णले हनुमानलाई अर्जुनको रथमाथि राखिएको ध्वजामा गएर बस्न आज्ञा दिए । द्वापर युगको त्यसै बेलादेखि हनुमान अर्जुनको रथमाथिको ध्वजामा रहँदै आए ।