सामान्यतया हेर्दा खुट्टा बाउँडिने वा दुख्ने समस्या एउटैजस्तो देखिन्छ ।
तर, कारण फरक–फरक छन् । मांसपेशी खुम्चिनु, हड्डी कमजोर हुनु , थकान महसुस, तनाव, व्यायामको कमी, पानीको कमी, क्याल्सियम र पोटासियमको कमी आदिजस्ता विभिन्न कारणले खुट्टा बाउँडिने समस्या हुुन्छ ।
मांसपेशी तथा हड्डीमा समस्या
खुट्टा बाउँडिनुको मुख्य कारण मांसपेशी तथा हड्डीमा समस्या आउनु हो । चोटपटक वा अन्य कुनै दुखाइका कारण जोर्नी, लिगामेन्ट र टेन्डनमा समस्या उत्पन्न भएमा खुट्टा फर्किने समस्या देखिन्छ । त्यस्तै, हिप वा घुँडामा कुनै किसिमको संक्रमण वा क्यान्सर भएमा समेत खुट्टाको मांसपेशी दुख्ने गर्छ । त्यस्तै, शरीरमा भिटामिन डी, मिनरल्स, क्याल्सियम, पोटासियम, म्याग्नेसियमजस्ता तत्वको कमी भएमा हड्डी कमजोर हुँदै जान्छन् ।
भास्कुलर पेन
रगत तथा रक्तनलीमा हुने संक्रमणका कारण पनि खुट्टाको मांसपेशी दुख्छ । त्यस्तै, विभिन्न संक्रमण, इन्फ्लुअसिस (डिटिटी), सेल्युलाइटिस, भाइरस रेजिन, भाइरसोज एक्जिमा आदिका कारणसमेत भास्कुलर सिस्टममा असर पुग्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । फलस्वरूप खुट्टाको मांसपेसी दुख्ने सम्भावना उच्च रहन्छ । अत्यधिक ड्रग्स प्रयोग गर्ने व्यक्तिमा यस्तो समस्या हुन सक्छ ।
नसामा समस्या
स्नायुतन्तुमा कुनै किसिमको समस्या भएमा मांसपेशीको दुखाइ हुन सक्छ । चोटपटक र दुर्घटनाका कारण नसा च्यापिएमा पछिसम्म असर देखिने हुन्छ । सुरुको समयमा कुनै लक्षण नदेखिए पनि बिस्तारै भित्री नसामा समस्या हुने गर्छ । नतिजा, पछि गएर समय–समयमा खुट्टा बाउँडिने वा दुख्ने हुन्छ । त्यस्तै, क्यान्सर, डाइरिया, मधुमेह, अत्यधिक मद्यपान, हाइपोथाइराडिजम आदि विभिन्न कारणले खुट्टा बाउँडिने समस्या हुन्छ ।