काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक फेरि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी हासिल गर्नका लागि मैदानमा उत्रिएका छन्। यसको सुरुवात पनि उनको पक्षमा भएको छ। ट्रम्पले आयोवा राज्यबाट काकस जितेका छन्।
काकसको आयोजन विद्यालय, टाउन हलसहित अन्य सार्वजनिक स्थानमा गरिन्छ। काकस एक प्रकारको स्थानीय बैठक हो। यसको आयोजना अमेरिकाका दुई वटै प्रमुख (रिपब्लिकन र डेमोक्रेटिक) पार्टीले गर्छन्। आयोजनामा हुने खर्च यिनीहरुले नै वहन गर्छन्। बैठकमा पार्टीका सक्रिय कार्यकर्ताहरु भेला हुन्छन् र राष्ट्रपतिका लागि उम्मेदवार चयनका लागि समर्थन दिने विषयमा छलफल गर्छन्।
डेमोक्रेटिक प्रत्याशीलाई डेलिगेट्स हासिल गर्नका लागि काकसमा उपस्थितमध्ये निश्चित प्रतिशत समर्थन प्राप्त गर्नु जरुरी हुन्छ। काकसमा सहभागी हुनेहरु प्राविधिक रुपमा राष्ट्रपतिका प्रत्यासी चुन्दैनन्, उनीहरुले डेलिगेट्सलाई चुन्छन्। यी डेलिगेट्स फेरि कन्भेन्सनको स्तरमा आफ्नो उम्मेदवारको पक्षमा मतदान गर्छन्।
डेलिगेट्सहरु नेशनल कन्भेन्सनका लागि राज्य र कांग्रेसनल डिस्ट्रिक्ट कन्भेन्सबाट चुनिएर जान्छन्। अयोवा जस्ता राज्यमा हरेक दोस्रो वर्षमा काकस आयोजन हुन्छ। यद्यपि धेरैजसो राज्यमा उम्मेदवार चयनका लागि प्राइमरी आयोजना गरिन्छ।
अमेरिकामा यसै वर्ष, सन् २०२४ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसपटक अयोवाको काकसमा मात्र ३० मिनेट भित्र डोनाल्ड ट्रम्पले जित हासिल गरे। यो रेसमा दोस्रो नम्बरमा कुन नेता हुन्छन् भन्नेबारे सबैको चासो छ।
अहिलेसम्म दोस्रो नम्बरमा रिपब्लिकन नेता रोन डिसेन्टिस र तेस्रो नम्बरमा निकी हेली छन्। यो रेसमा भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामी सबैभन्दा पछाडि छन्।
ट्रम्पले आयोवाबाट जित हासिल गरेको विषयमा ‘मेक अमेरिका ग्रेट अगेन’ ग्रुपले एक बयान जारी गर्दै भनेको छ, ‘अयोवाका नागरिकले स्पष्ट सन्देश दिएका छन् कि उनीहरु डोनाल्ड ट्रम्पलाई रिपलब्लिकन पार्टीको तर्फबाट उम्मेदवार चाहन्छन्।’