• मंसिर १५ २०८१, शनिबार

मार्च १५ सम्म आफ्ना सेना फिर्ता लैजान मोदीलाई माल्दिभ्सका राष्ट्रपतिको आग्रह

माघ १ २०८०, सोमबार

माले । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा तैनाथ भारतीय सेनालाई मार्च १५ सम्म हटाउन आग्रह गरेका छन् । माल्दिभ्सस्थित भारतीय दूतावासका अधिकारीहरूलाई राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न आग्रह गरेको उनका सहयोगी अब्दुल्ला नजिम इब्राहिमले पत्रकारहरूसमक्ष भनेका छन् ।

आइतबार राजधानी मालेमा बसेको द्विपक्षीय उच्चस्तरीय बैठकमा माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो । चीन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति मुइज्जुले भारतलाई लक्षित गर्दै ठूला देशहरू साना देशमाथि हेप्ने लाइसेन्सप्राप्त नहुने बताएका थिए । दोस्रो दिन नै उनले भारतले सेना फिर्ता लैजानुपर्ने बताउँदै त्यसका लागि भारतीय दूतावासलाई आग्रह गरेका हुन् ।

मालिदभ्सका टापुमा कम्तिमा ७५ जना भारतीय सैनिक तैनाथ रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत सरकारले सन् २०२० मा दिएको सैनिक विमान सञ्चालन गर्नका लागि सन् २०२१ देखि भारतीय सेना माल्दिभ्सको टापुमा बस्दै आएका छन् । उनीहरूले विशेषगरी उद्धारको काममा ती विमानहरू प्रयोग गर्ने बताएको छ ।

माल्दिभ्सले ती सैनिक फिर्ता गर्न आग्रह गरेको हो । राष्ट्रपति चुनावअघि नै माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो । त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका हुन् । महिनौंसम्म उनको पार्टीले ‘इन्डिया आउट’ को अभियान समेत चलाएको थियो ।

उनले विपक्षी दलका नेताहरूले राष्ट्रिय सार्वभौमसत्तासँग सम्झौता गर्दै भारतीय सेनालाई आफ्ना टापुहरूमा बस्न दिएको आरोप लगाउने गरेका छन् । भारतभन्दा चीनतिर बढी झुकाव राख्ने भएकाले उनी निर्वाचित भएपछि भारतसँगको तिक्तता बढ्न थालेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्विप भ्रमणपछि मालदिभ्सका तीन जना उपमन्त्रीहरूले मोदीलाई लक्षित गरी प्रतिक्रिया दिएपछि भने माल्दिभ्स र भारतबीचको विवाद सतहमै देखिएको थियो ।

त्यसपछि भारतमा बोयकट माल्दिभ्स नारा नै चल्यो । कयौं भारतीयहरूले मल्दिभ्स भ्रमण रद्द गरेको फोटोहरू सामाजिक सञ्जालमा राखेका थिए । मोदी र भारतलक्षित प्रतिक्रिया दिने तीन मन्त्रीलाई बर्खास्त गर्दै माल्दिभ्स सरकारले उनीहरूको अभिव्यक्ति व्यक्तिगत भएको बताएको थियो ।

राष्ट्रपति मुइज्जुले भारतको विरोध गर्नु आफ्नो सरकारको नीति नभएको भन्दै उनले मन्त्रीहरूलाई निलम्बन गरेका हुन् । बेइजिङ भ्रमणबाट फर्किएका राष्ट्रपति मुइज्जुले भने भारत माथिको निर्भरताबाट मुक्त हुने र त्यसका विकल्पहरू खोजिने पनि बताएका छन् । उनले शिक्षा, स्वास्थ्य सेवाका लागि थाइल्यान्ड, युएई लगायतका देशमा जान सकिने बताएका छन् । माल्दिभ्सका जनता उपचारका लागि भारतीय र श्रीलंकन अस्पतालमा जाने गरेका छन् । राष्ट्रपति मुइज्जुले औषधिहरू भने यूरोप र संयुक्त राज्य अमेरिकाबाट सिधै आयात गर्ने उनले बताएका छन् ।

यसअघि धेरैजसो खाद्य सामग्री भारतबाटै आउने गरेकोमा मुइज्जुले अब टर्कीबाट पनि आयात गर्न सकिने बताएको एपीले जनाएको छ । माल्दिभ्स घुम्न जानेमध्ये ११ प्रतिशत पर्यटक भारतबाट जान्छन् । भारतसँगको सम्बन्ध बिग्रिएपछि माल्दिभ्समा पर्यटकको संख्या घट्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।