काठमाडौं । सिस्नो केही समय अघिसम्म नेपालका निम्नवर्गीय परिवारले खाने तरकारीको रुपमा परिचित थियो । यो टिप्न गाह्रो र पकाउन पनि झण्झट हुने भएकोले मध्यम एवं उच्च आर्थिक स्तर भएका परिवारहरुले यसलाई आफ्नो रोजाईमा पारेनन् । तर, जब सिस्नोको महत्व वैज्ञानिक रुपमा समेत पुष्टि हुनथाल्यो । त्यसपछि सिस्नोको लोकप्रियता बढ्न थाल्यो ।
हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीलगायतका क्षेत्रमा सिस्नु पाइन्छ । सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौं । सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रूपमा चिन्छन् ।
यसको महत्व धेरैलाई थाहा नभएको पनि हुनसक्छ । यो बहुगुणकारी हो । यसलाई सागका रूपमा प्रयोग गर्न सकिन्छ । पहिले गरिबले मात्र प्रयोग गर्ने सागका रूपमा सिस्नुलाई हेरिन्थ्यो । पछिल्लो समय यसको साग खानेहरू बढेका छन् । त्यसैले त हाल यो सहरका ठूला–ठूला डिपार्टमेन्ट स्टोर, तारे होटल, रेस्टुराँहरूमा महँगो खानाको परिकारमध्येमा पर्न थालेको छ।
सिस्नोमा के के पाइन्छ ?
रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।
सिस्नोमा ८२.४% पानी र १७.६% सुख्खा पदार्थ हुन्छ जसमा प्रोटिन ५.५%, कार्बोहाइड्रेड ७.१%, बोशोका साथसाथै क्याल्सियम, म्याग्नेसियम, खनिज, क्लोरोफिल, क्रोमियम, कोवाल्ट, फलाम, फस्फोरस, पोटासियम, जिंक, तामा, सल्फर, नियासिन, म्यान्गानिज, सेलेनियम, भिटामिन B,C,D,K आदि पाइन्छन् । सिस्नो सेवनले मानव शरीरको पाचन प्रणाली मजबुत बनाउन, अपचको समस्या समाधान गर्न, ग्याष्ट्रिक नियन्त्रण गर्न र भित्रि पेटको सरसफाई गर्न सहयोग गर्दछ । साथै सिस्नोमा फाइबर र लासिलोपाना हुने हुँदा खाना पचाउन सहज गर्दछ ।
सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइट ब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।
रक्तसंचार प्रणाली अन्तर्गत मुटुसम्बन्धि बिभिन्न रोगहरू समाधान, उच्च रक्तचाप नियन्त्रण, कलेजो संरक्षण, रक्त शुद्धिकरण गर्न शरीरमा नयाँ सेल बनाउन यसले महत्वपूर्ण सहयोग गर्दछ । साथै प्यान्क्रियाज लाइ अधिक इन्सुलिन बनाउन वा रिलिज गर्न मद्धत गरि रगतमा चिनीको मात्रा कम गर्दछ ।
मिर्गौला तथा पिसाब सम्बन्धि समस्या हटाउन, पत्थरीको समस्या समाधान गर्न मुत्रवर्धक जडिबुटीको रुपमा सिस्नोका उत्पादनहरुको उपयोग गर्न सकिन्छ । यसले मुत्रपथबाट हानिकारक ब्याक्टेरिया हटाउन र प्रोश्टेटिक हाइपरप्लेसिया अवस्थाका मानिसलाई राहत दिलाउन सहयोग गर्दछ ।
त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।
यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।
सिस्नोको प्रयोग गर्ने विधि
१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।
मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।
बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् ।
यस्ता खालका मानीसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो । त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो ।
नेपाल विकासउन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।
मानव स्वास्थ्यको लागि मात्रै नभई जीवजन्तुका लागि पनि बहुउपयोगी
अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।
साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ । त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।