• आश्विन १३ २०८१, आईतवार

चिसो मौसममा खानैपर्ने फलफूलहरु

पुष १८ २०८०, बुधबार

काठमाडौँ । सामान्यतः मानिसहरूमा चिसोमा धेरै फलफूल खानु हानिकारक हुन सक्ने धारणा पाइन्छ । चिसोमा फलफूल खाँदा चिसो महसुस हुने भएकोले पनि यस्तो सोच आएको हुन सक्छ । फलफूल शरीरको लागि कत्ति धेरै लाभदायक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । फलफूलमा भिटामिन, मिनरल, एन्टीअक्सीडेन्ट, फाइबर र टन्नै पोषक तत्त्वहरू पाइन्छ । जाडो याममा खाँदा शरीरलाई फाइदा हुने कयौँ फलफूल पनि छन् ।

चिसोमा फलफूलहरूको सेवनले चिसो, रुघाखोकी र ज्वरो जस्ता रोगहरूबाट बच्न सकिन्छ । चिसो होस् वा गर्मी हरेक मौसममा फलफूलको सेवन जरुरी छ ।
आजको यो लेखमा हामी तपाईँलाई चिसोमा कयौँ रोगबाट तपाईँलाई टाढा राख्ने यस्ता केही फलफूलबारे कुराकानी गर्न गइरहेछौँ ।

किवीः

यूएसडीएका अनुसार एउटा किवीमा ५६ मिलिग्राम भिटामिन सी हुन्छ । यो भिटामिनको उत्कृष्ट स्रोत हो । तपाईँले बिहान खाजामा किवी खानु भनेको शरीरमा भिटामिन सी बढाउने र दिनको सुरुआतदेखि नै इम्युनिटी बूष्ट गर्ने राम्रो तरिका हो । किवी भिटामिन केको पनि उत्कृष्ट स्रोत हो ।

स्याउ:

स्याउमा फाइबर र एन्टीअक्सिडेन्ट समेत कयौँ मुख्य पोषक तत्त्व पाइन्छ । यसले रगतमा चिनीको स्तर कम गर्छ भने मुटुको स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ । स्याउमा फाइबर, भिटामिन सी र विविध एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुने भएकोले खाएपछि अघाएको महसुस हुन्छ ।

अनारः

यूएसडीएका अनुसार एक कप अनारमा ७ ग्राम फाइबर पाइन्छ । यसमा १७ दशमलव ८ मिलिग्राम भिटामिन सी हुन्छ । यसमा भिटामिन के पनि भरपुर मात्रामा पाइन्छ । यो हाडको स्वास्थ्यका लागि जरुरी छ । यसमा पाइने भिटामिन शरीर, मुटु, पेट र स्किनलाई स्वस्थ राख्छ । अनारमा शक्तिशाली एन्टिअक्सिडेन्टले भरिभराउ भएको एउटा अनुसन्धानले देखाएको छ । यसले ब्याक्टेरियालाई बढवा दिन्छ ।

नशपातीः

अमेरिकी कृषि विभाग (यूएसडीए)का अनुसार एउटा नशपाती खाँदा ५ दशमलव ५८ ग्राम फाइबर पाइन्छ । फाइबर प्रतिरक्षा प्रणालीका लागि जरुरी छ । यसले शरीरमा ब्याक्टेरियालाई बढवा दिन्छ ।