• मंसिर ११ २०८१, मंगलवार

आशाको खेती गर

पुष १६ २०८०, सोमबार

हरेक मानिसका सपना हुन्छन् । ती सपना उसको आर्थिक जीवनद्वारा निर्देशित हुन्छन् । किनकि पहिलो कुरा मानिसका लागि गास हो । त्यसपछि बास र तेस्रोमा कपास । यसैका लाागि नेपाली देश छाडेर विदेश जान अभिषप्त छन् । यो देशको बेइज्जतको कुरा पनि हो । शासकको मन्द बुद्धिले यसमा शान फूर्ति देखाउनुको कुनै अर्थ छैन ।

व्यवहारतः देशबाट युवा जनशक्ति पलायन भएको चिन्ता कम दर्दनाक छैन । स्वदेशमा रोजगार छैन । यसका लागि पहल पनि छैन । शासकको टुक्रे चिन्तन र बोक्रे ध्वाँस मात्र छ । सरकार बनाउने, आफूहरू सरकारमा जाने र ठूलो मानिस हुने साथै विशेष आर्थिक खर्च लिएर दिन गुजारा गर्ने ! आखिर सरकारको अर्थ यो होइन । सरकार जनताको अभिभावक हो र देशको रक्षक !

तर सरकार आफै वैदेशिक रोजगारका लागि युवालाई प्रोत्साहन गरिरहेको छ । युवाको अहिलेको ट्रेन्ड विदेश जाने र सक्दो कमाइ गर्ने बनिसकेको छ । देशमा अन्य सामान्य विकल्प पनि छैन । नेपालजस्ता देशमा वैदेशिक रोजगारका लागि बाटो खुला गरे पुँजीवादको विकृति तथा विसंगतिका विरूद्ध कमै प्रदर्शन हुन्छन् भन्ने शक्तिकेन्द्रहरूको बुझाइ छ ।

युवा विदेश पठाए देशमा कुशासनको विरोध हुँदैन र आफ्नो मनोमानीको स्वर्ग बचिरहन्छ भन्ने घरेलु शक्ति केन्द्रहरूको मत र चाहना छ । यसैले पनि देशमा रोजगारी सिर्जना गर्नुको साट्टा विभिन्न परीक्षा सञ्चालन गरी विधिवत् मान्यता देखाई वैदेशिक रोजगारका लागि प्रोत्साहन गर्नतिर लागेको छ सरकार ! यसो गर्न सकियो भने ‘काउछाको माला’ विदेशीको घाँटीमा ! तर पनि यसका असर त रहि नै रहन्छन् ।

वैदेशिक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा तयारी गरिरहेका दुई युवाको ज्यान जाने गरी ललितपुरस्थित बालकुमारीमा घटेको घटना यसैको परिणाम हो । विदेशमा गएर पानीजहाजसम्बन्धी काम गर्नका लागि गत साउनमा दिइएको भाषा परीक्षामा सामेल भएकालाई तयही देशमा पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट बञ्चित गराइएपछि यो घटना घट्न पुग्यो ।

युवा बेरोजगार छन् । सरकारमा रहेका मानिस सापेक्ष रोजगार छन् । राजनीति सेवा होइन, पेसा बनिरहेको छ । यो कमाउ धन्दाको वैधानिक स्रोत पनि बनिरहेको छ । ‘अघाएकालाई डाँडापारि खाऊँ’ र ‘भोकाएकालाई डाँडावारि खाऊँ’ भएको छ । सरकार र सरकारी मानिसलले डाँडापारि खाना खाँदा केही पनि छैन, किनकि ती अघाएका छन् ।

तर युवाहरू बेरोजगार छन् र भोका छन् । उनीहरू डाँडापारि होइन, डाँडावारि नै खान चाहन्छन् । पानीजहाजमा पाइने कामका लागि दिइएको आवेदन अनुसार काम कहिले हुने हो ग्यारेन्टी पनि छैन । फेरि दिएका सबै आवेदक पास हुने र जान पाउने पनि होइन । त्यसैले रोजगारीका लागि खुल्ने वैदेशिक आवेदन नेपाली युवाका लागि मौका बनेर देखा परेका छन् । भोका युवा यही भए पनि नछाडौं, मौका समातिहालौं भन्नेमा छन् ।

वैंक, वित्तिय संस्था, साहु महाजनले मिटर व्याज असुली गरिरहेका छन् । काढेको ऋणको दिनदिनै ब्याज बढिरहेको छ । यो ऋणबाट अत्तालिएका भोका युवाका लागि जे आफ्नो अगाडि आउँछ, त्यही मौका हो । घरायसी मामला कठिन र असमाधेय बन्दै गएको छ । युवा आक्रोशित नहुने कुरै छैन । सरकारले गर्ने र गरेको केही होइन, उल्टै वैदेशिक मौकामा पनि बार लगाएर छेक्न र थुन्न खोज्ने ! कम्तिमा पनि विदेशीले दिएका रोजगारीका अवसरमा आफ्ना युवाका लागि व्यवधान खडा गर्ने होइन, सहजीकरण गर !

यस्ता गलत सरकारी रबैया विरूद्ध ग्वार्को–बालकुमारी सडक अवरूद्ध पारेर प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले अनावश्यक र घातक बल प्रयोग गर्दा निस्कने परिणाम सरकारका लागि मात्र होइन, सारा नेपाली र विदेशीका लागि पनि कति ‘असभ्य’ र ‘बर्बर’ साबित भयो । आफ्नै निहत्था नेपाली दाजुभाइ दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गयो । यसले आमनागरिकमा थप निराशा ल्याउनु भन्दा बढी के पो गर्‍यो र ? यस्ता मूर्खतापूर्ण हर्कत बन्द गर । यसको दीर्घकालीन असर नेपाल र नेपालीका सैह्य र ग्राह्य दुवै हुने देखिदैन ।

नेपालमा रोजगारीका लागि युवा लगिरहेको दक्षिण कोरियाले पटक पटक रोजगारीका कार्यक्रम दिने गरिरहेको छ । गत साउनमा करिब ३२ हजारले पानीजहाज निर्माणसम्बन्धी कामका लागि कोरियन भाषा परीक्षा दिए । त्यसको नतिजा आउन बाँकी छ । तर अर्को प्रकृतिको रोजगारीका लागि कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन माग गर्‍यो । यसैमा अघिल्लोमा दिएको भनेर पछिल्लो आवेदनमा सहभागी हुन दिएन युवाहरूलाई !

त्यसो त काठमाडौं आउन जान पनि युवाहरूलाई विदेश गएको जस्तै भाडा लाग्छ । एक पटक राजधानी सहर काठमाडौं भित्रन र बाहिरिन पनि पचासौं हजार खर्च हुन्छ । काठमाडौंमा सरकारी जागिर खाएर सहरमै घर बनाएर बसोबास गरेका छैनन् युवाहरू ! यो समस्या कसले बुझ्ने ? अनि उल्टै मौकाबाट बञ्चित गरेको झोंकमा प्रदर्शन गरे भनेर गोली हान्न पाइन्छ र ! रोजगारीको अधिकार पनि हनन् गर्ने, मानव अधिकार पनि हनन् गर्ने र बर्बरताको राज चलाउने त कसैलाई पनि छूट छैन ।

कुरो गम्भीर कहाँ हुन गएको छ भने सरकारले नागरिकको ज्यान लिएर गल्ती भयो भन्ने र माफी मागेर मुक्ति पाउने छूट छैन । जुन समस्याले यस्ता घटना र प्रतिघटना सिर्जना गरिरहेको छ, त्यसको समाधानका लागि केही न केही प्रयास अघि बढाउनु पर्छ । यसले मात्र जनतामा आशाको उज्यालो ल्याउन सक्छ ।

त्यो भनेको नेपालको सापेक्षतामा जे जति रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसका लागि अहिले नै पहल थालिनुपर्छ । होइन भने नेपाल अपाङ्ग, अशक्त र बूढाबूढी तथा केटाकेटीको ग्यारेज हुन जाने अनिवार्य संभावनालाई नकार्न र रोक्न सकिने छैन ।