मानिसले अर्को पृथ्वी कतै छ कि भनी खोजी गरिरहेका बेला पृथ्वीकै उपग्रह चन्द्रमामा बस्ती बसाउने सुरसार गर्न थालेको सङ्केत विज्ञान तथा प्रविधिका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका संस्थाहरूले दिन थालेका छन् । पृथ्वी मानिसका लागि सानो र पट्यारलाग्दो हुन थालिसक्यो !
विज्ञान र प्रविधिको बैंसालु मौकामा पृथ्वीको उर्जाले धानिरहँदा केही कमाल किन नगर्ने ? बाँकी ‘देखाजाएगा’ ! यही सोचले काम गर्दै गर्दा र विज्ञान प्रविधिसँग सम्बन्धित संस्थाहरूको अघोषित ‘टार्जेट’ एकै ठाउँमा परिरहँदा चन्द्रमामा मानव बस्ती बसाउन पहल भइरहेको खुलासा हुन गएको छ ।
उत्तरी आयरल्याण्डको बेलफास्टमा नोभम्बर तेस्रो साता (नेपाली पात्रोमा मङ्सिर महिनाको पहिलो साता) बेलायतले अन्तरिक्षसम्बन्धी सम्मेलन सम्पन्न गरेको छ । यसको उद्देश्य चन्द्रमामा मानव बस्ती बस्न संभव भए ऊर्जा आपूर्ति, हावा, पानी र खाद्यान्न व्यवस्थापन तथा मानव गतिविधिका लागि साधनबारे सम्मेलनमा विचार आदान प्रदान गर्नु रहेको थियो ।
सम्मेलनमा सहभागी सबैले मानव बस्ती नौलो प्रयोग भए पनि असंभव भने नरहेको सल्लाह दिए । हाल सफलतापूर्वक चलिरहेको अन्तरीक्ष भ्रमणले चन्द्रमामा मानव बस्ती संभव बनाउँदै लगिरहेको तर्क पनि धेरैको थियो । उक्त सम्मेलनमा चन्द्रमामा बस्ती बसालेमा धेरै त उर्जा आपूर्तिको समस्या हुने कुरामा चासो पनि व्यक्त भएको थियो ।
ऊर्जा केन्द्रित यो बहसलाई चिर्न चन्द्रमामा निरन्तर विजुली आपूर्ति गर्न सकिने भन्दै विश्वकै सबैभन्दा आरामदायी निर्माता कम्पनी रोल्स रोयसले मिनी परमाणु संयन्त्रको मोडेल प्रदर्शन गरेको थियो ।
त्यो आफैमा मोडल भएकाले १२० इन्चको सानो आकारको आणविक रिएक्टरका रूपमा प्रस्तुत गरिएको थियो । यो संयन्त्रले व्यवहारिक रूपमा चन्द्रबस्तीमा लगातार विद्युत आपूर्ति गरिरहने दाबा गरिएको थियो ।
अतिमहाशक्तिका रूपमा उदीयमान चीनले रसियालगायतका अति विकसित देशहरूको साझेदारीमा चन्द्रमामा अन्तरीक्ष स्टेशन खडा गर्न तयारी गरिरहेका बेलामा बेलायतको यो सम्मेलन आफैमा अर्थपूर्ण रहेको खगोलविदहरूको तर्क रहेको छ । सम्मेलनमा चन्द्रमामा मानव बस्ती बस्न आगामी दुई दशकभन्दा बढी नलाग्ने भनिएको छ ।
‘बेस’ खडा गर्न कति सफल हुने हुन् त्यसैमा सिङ्गो सफलता निर्भर रहने छ
सबै काम ऊर्जाबाटै गरिने भएकाले चन्द्रमा निरन्तर उर्जा कसरी संभव होला भन्ने नै चिन्ताको विषय बनिरहेको छ । चन्द्रमाको एकातिर मात्र सूर्यको किरण परिरहन्छ । यसको अर्को भाग सधैं अँध्यारो रहिरहेको हुन्छ । यो अध्यारो भागमा सूर्यको किरण नै पर्दैन, त्यसैले यहाँ ऊर्जा निर्माण कसरी गर्ने किनकि चन्द्रमामा ऊर्जाको निरन्तर स्रोत भनेको सौर्य ताप र प्रकाश नै हो ।
रोल्स रोयसले पेस गरेको मिनी रियाक्टरको विद्युत निकाल्ने प्रोसेस ‘आणविक विच्छेदन’ नै हो । यो भनेको संसारभरका परमाणु ऊर्जा संयन्त्रमा अहिले जसरी ऊर्जा निस्किइरहेको छ, त्यही हो । यसको उच्चतम् प्रयोग चीनले कृत्रिम सूर्य निर्माण गरेर आजभन्दा केही वर्ष पहिले नै यसको छनक दिइसकेको छ ।
बेलफास्टको बेलायती अन्तरीक्ष सम्मेलन भनेजति चर्चामा आउन सकेन
तर पनि पश्चिमा जगतमा यसले केही तरङ्ग ल्यायो नै ! त्यो थियो चन्द्रमामा मानव बस्तीको प्रसङ्ग जोडिएकाले । तथापि पूर्वको होस्, वा पश्चिमको, उत्तरको होस् वा दक्षिणको, सबै प्रयास मानव हित, मानव जगत र मानवताका लागि केन्द्रित हुन सकून् !
भारतको अन्तरिक्ष संस्था इण्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) ले चन्द्रमाको अँध्यारो क्षेत्रतिर पठाएको बिक्रम ल्याण्डर र प्रज्ञान रोभर अहिले सुतिरहेको दुःखद अवस्थामा छन् । उर्जा नै त्यहाँको मूल समस्या हो ।
चन्द्रबस्तीको परिकल्पना जति रङ्गिन, भावोत्तेजक र आकर्षक छ, त्यत्तिकै समस्यामूलक पनि छ
त्यसैले पनि बेलफास्टको सम्मेलनमा चन्द्रमा मानव बस्तीका लागि ऊर्जालाई नै प्राथमिकतामा राखिएको देखिन्छ । चन्द्रमामा मानव बस्ती दीर्घकालीन सोच भए पनि चन्द्र पर्यटनलाई भने नकार्न सकिने अवस्था छैन ।