‘दमौली, हिँड माया सँगसँगै रमाउली’ भन्ने गीतले मात्र होइन, अहिले दमौलीको बाटोहुँदै म्याग्दे उमाचोकको सुन्तला धमाधम हाइवेतिर बाढी लाग्दा दमौलीका स्थानीय फेरि रमाउन थालेका छन् । उमाचोकका कृषक विश्व अधिकारीले फलाएका सुन्तला अहिले सबैका लागि चर्चाको विषय बािरहेको छ ।
उनले यस सालको सुन्तला आफ्नै एकल बगानबाट ७५ लाख रूपैयाँमा बिक्री गरेका छन् । सुन्तला बिक्रि गर्ने समय आएपछि सुन्तला उत्पादक अधिकारीले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । सुन्तला व्यापारी थापाले सो क्षेत्रमा उत्पादित सुन्तला विगत केही वर्षदेखि ठेक्कामा खरिद गर्ने र बिक्रिबट्टो गर्ने गर्दै आएका छन् ।
सुन्तला उतपादक अधिकारीले पनि केही वर्षदेखि वगैचाका सुन्तला ठेक्कामा दिन थालेका छन् । यसरी बिक्री गर्दा सजिलो हुने भएकाले उनी एक मुष्ठ पैसा लिएर सिंगो वगैचा एकैपटक ठेक्कामा दिन्छन् । उनले यस वर्ष दिएको ७५ लाखको ठेक्काले सबै छिमेकी किसान उत्साहित भएका छन् । सबैको मुखमा एउटै भनाइ छ, ‘सुन्तला फलून् त विश्वको जस्तो !’
राजनीति पनि फलेका मानिस हुन्, विश्व आधिकारी ! उनी जिल्ला विकास समितिका पूर्वसभापति पनि हुन् । राजनीतिको खेतीपछि गरिएको सुन्तला खेतीबाट सन्तुष्ट छन् उनी ! गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिक रूपमा सुन्तला खेती सुरु गरेका अधिकारीले वार्षिक ६०देखि ७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् ।
१ हजार ३ सयभन्दा बढी सुन्तलाका बोट भएको उक्त बगानमा यो वर्ष सबैभन्दा राम्रो फलेको छ सुन्तला ! गत वर्ष व्यवस्थापनमा भएको कमी र मौसमले पनि साथ नदिएका कारण राम्रो उत्पादन नभए पनि यस वर्ष भने मन अघाउने गरी सुन्तला फलेको छ । अधिकारीको दावा छ, पहिलेका वर्षहरूमा पनि ६०–७० लाखसम्मको सुन्तला उत्पादन भएकै थियो । तर यस वर्ष उत्पादन उत्कर्षमा पुगेको छ ।
अधिकारीका अनुसार सुन्तला खेतीका लागि हरेक वर्ष १५ लाख लगानी गर्नुपर्छ
यो उत्पादन सुन्तलाका विरूवा रोपेर मात्र भएको होइन । स्याहार र लगानी पनि समयमै पुर्याउन सक्नुपर्छ । अधिकारीका अनुसार सुन्तला खेतीका लागि हरेक वर्ष १५ लाख लगानी गर्नुपर्छ । श्रमिक मजदुर लगाएर काँटछाँट गर्दा, आवश्यक प्राङ्गारिक तथा खादमल राख्दा, उपचारका लागि औषधीआदिमा बढी नै खर्च हुने गरेको अधिकारीको दाबी छ ।
अधिकारीका अनुसार फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना राख्ने र आवश्यक मात्रामा सिञ्चाइ गर्ने काम काम तुरन्त गरिहाल्नुपर्छ । त्यसो त उमाचोक सुन्तला खेतीका लागि रोजी ठाउँ हो । यहाँको माटो सुन्तलाका लागि निकै उर्वर रहेको छ । उनले यही सम्भावना देखेर सुन्तला खेती रोजेका हुन् ।
उनी सन्तुष्ट छन् र क्रियाशील पनि । सुन्तला खेतीको चमत्कार नै मान्नु पर्छ, उनले यही आम्दानीबाट छोरा इञ्जिनियर र छोरीलाई डाक्टर पढासकेका छन् । घर खर्च पनि यसैले चलेको छ । पछिल्लो समयमा सुन्तला बगैचासम्म सडक जोडिएकाले सुन्तला बिक्रीका लागि निकै सहज भएको उनले महसुस गरेका छन् ।
सुन्तला खरिद गर्ने ठेकेदार सुन्तला बगैंचामै आउँछन्, कसरी बिक्रि गर्ने भन्ने चिन्ता नै छैन ।
उनमा उत्साह भरिपूर्ण छ । सुन्तला बगैँचा सुदृढ गर्न, गोडमेल गर्न, मलखाद व्यवस्थापन गर्न र समयमै औषधोपचार गर्न सके सुन्तलाको दाना रहरलाग्दो हुने उनको भनाइ आफैमा लोभलाग्दो छ । सुन्तलाको दाना राम्रा, रसिला, गुलिया र ठूल्ठूला भएमा ठेकेदारका आँखा यिनैमाथि पर्ने गर्दछन् । ठेकेदार थापाको प्रतिक्रिया पनि उत्तिकै उत्साहजनक छ । तनहुँ उमाचोकका सुन्तला गुणस्तरीय भएकाले बजारमा कुनै पनि समस्या आउँदैन ।
खुसीको कुरा त के हुने गरेको छ भने तनहुँमा गत वर्ष मात्र २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन र बिक्रिवितरण भएको थियो । पोहर साल जिल्ला कृषि ज्ञान केन्द्रले तनहुँमा ९ हजार ६ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको आँकडा सार्वजनिक गरिसकेको छ ।