• मंसिर ११ २०८१, मंगलवार

रोल्पाकी ७२ वर्षीया बमकुमारी बुढामगरले गरिन् स्नातकोत्तर पास, बनिन् थप प्रेरणाको स्रोत

पुष ५ २०८०, बिहीबार

७२ वर्षको उमेरमा स्नातकोत्तर पास गरेकी रोल्पाकी बमकुमारी बुढाको यतिबेला फेरि पनि चर्चा चलेको छ । सामाजिक सञ्जाल र डिजिटल मिडियामा उनी समाचार  बनेकी छिन् । मगर संस्कृति र इतिहासको बारेमा अध्ययन गर्दा र त्यसको प्रचारको समयमा उनी जति प्रेरणाको स्रोत बनेकी छिन्, त्यो भन्दा बढी चर्चा उनको यसपाली छ, जतिबेला उनी स्नातकोत्तर पास गरेपछि दीक्षान्त समारोहमा सबैको आँखामा पर्न गइन् ।

उनका आफन्त र चिनेजानेका नयाँ पिढीका विद्यार्थीहरुले आज उनको दीक्षान्त समारोहमा सहभागी भएको तस्विर सामाजिक सञ्जालमा राखेका छन् । मगर संस्कृतिको अनुसन्धानकर्ता बमकुमारी समाजशास्त्र विषयमा पनि औपचारिक प्रमाणपत्रधारी जानकार भइन् । स्नातकोत्तर पास गर्न उनलाई १४ वर्ष लागेको उनको भनाई रहेको छ । पढ्न नसकेर उनलाई यतिका समय लागेको भने होइन ।

पढाइ बाहेक अन्य सामाजिक गतिविधिमा पनि संलग्न भइरहने भएकोले उनलाई यति समय लागेको हो । पुनः परिक्षा दिँदा र थेसिस लेख्दा उनलाई यतिका समय लागेको हो । काठमाडौंको त्रिचन्द्र क्याम्पस टाढा भएकोले उनी नियमित कक्षा लिन गइनन् । घरमै पढेर परिक्षा दिइन् ।

‘सतुंगलदेखि क्याम्पस टाढा भएको र अरु काममा व्यस्त भइने भएकोले क्याम्पस जान सकिन’ उनले अनुभव सुनाइन् । साँझको कक्षा हुने भएकोले कक्षा लिन टाढाबाट जानसक्ने कुरै भएन । तरपनि उनले हिम्मत हारिनन् । समाजमा रहेका मानवजातिले संगालेर प्रयोग गरिरहेका ज्ञानका विभिन्न आयामको अनुसन्धानमा व्यस्त बमकुमारीलाई डिग्रीहोल्डर हुनैपर्ने बाध्यता थिएन ।

किनकी उनी क्याम्पसमा पढाइने ज्ञानभन्दा भिन्न र अझ गहिरो विषयमा अनुसन्धानरत थिइन्, छिन् । उनले अनुसन्धान गरेका कैयौं विषयका ज्ञान बरु आजका विद्यार्थीलाई सिकाउन बाँकी नै छ । उनी आफै ज्ञानको भण्डार हुन् । खस र मगर खाम भाषामा उनमा रहेको ज्ञान भण्डारण भएको छ । तर पनि उनलाई औपचारिक ज्ञानको प्रमाणपत्र पनि लिइहाल्दा नराम्रो हुँदैन भनेर उनी स्नातकोत्तर तहको पढाइमा सहभागी भइन् ।

औपचारिक शिक्षाको क्रममा उनले क्याम्पसका प्राध्यापकको निर्देशन लिन्थिन् र सोही अनुसार परिक्षाको तयारी गर्थिन् । अर्को अचम्मको कुरा बमकुमारी पूर्वराष्ट्रिय सञ्चायत सदस्य पनि हुन् । २०४३ सालमा उनी रोल्पाबाट राष्ट्रिय पञ्चायत सदस्य चुनिएकी थिइन् । पञ्चायतकालमा शिक्षाको विकास त्यति भएको थिएन तर पञ्चायतले पनि पढे लेखेकै मन्छेलाई सांसद बनाउँदो रहेछ भन्ने प्रमाण उनी पनि हुन् ।

पञ्चायती कालरात्री जहाँ अशिक्षा, बेरोजगारी, महिलामाथिको राज्यको विभेद र पुरुष प्रधान समाजको हेर्ने दृष्टिकोण आदिसित लड्दै उनले ०३० सालमा एसएलसी पास गरिन् । सायद जनजातिभित्रको खुला र सहयोगी समाज भएर होला उनलाई पढाईका लागि जिल्ला छोड्न अरुलाई जति गाह्रो भएन होला । नत्र आज उनको उमेरका अन्य जातका महिलाले ‘क’ पनि पढ्न जान्दैनन् । उनी मात्र त्यस्तो बिरलैको पात्र हुन् ।

त्यो समयमा छोरीलाई पनि पढाउनु पर्छ भनेर सोच्ने उनको परिवार र अभिभावकलाई पनि मान्नै पर्छ । नत्र भने पुरुषको वर्चस्व, जातीय र लिङ्गीय विभेदले जकडिएको त्यतिबेलाको हिन्दु शासित समाजमा महिलाले पढ्न पाउने भन्ने त कल्पना मात्रै थियो । जतिबेला ब्राहमण जातका पण्डित्याइँ गर्नेहरुले मात्र पढ्न पाउँथे, सक्थे । आजसम्म त महिलाले श्रीमानको खुट्टा धोएको पानी खाएर पुजा गर्नुपर्छ भने आजभन्दा ६०, ६५ वर्ष अगाडीको त के कुरा ।

उनी भन्छिन्,‘छोरीलाई पढाउन हुन्न भन्ने समाजिक परिवेशमा मेरी आमाको सोच भने अलि फरक थियो’ । यसकै परिणाम बमकुमारीले पढ्न पाइन् ।
दाङबाट एसएलसी पास गरेपछि उनले रोल्पाको आफ्नै गाउँमा शिक्षिका बनेर पढाइन् । त्यसपछि उनी प्रवीनता प्रमाणपत्र तह पढ्न नेपालगञ्ज गइन् । आजभोलि पनि उनी मगर भाषा, संस्कृति र इतिहासको बारेमा पुस्तक लेख्दैछिन् । बेला बेला विरामी पर्दा भने उनलाई लेखन कार्यमा बाधा आउने गर्छ । बमकुमारीको पढाई र अनुसन्धान कर्मबाट उनका आफन्त र छिमेकीहरु पनि प्रभावित छन् ।

पढ्न उमेरले कसैलाई नछेक्ने उनको बुझाई रहेको छ । नेपालको शिक्षा साँच्चै समाजसंगत, प्रकृतिमैत्री, व्यवहारीक र वैज्ञानिक बनाउने हो भने बमकुमारी बुढा र उनीजस्ता पाका पुस्ताका अभिभावकसित हामीले हामीलाई दैनिक जीवनमा चाहिने ज्ञानको भण्डार भेट्न सक्छौं । तर नयाँ शिक्षाको नाममा ४०, ५० वर्ष अघिदेखि जब हामीलाई विदेशी पाठ्यक्रम पढाउन थालियो तब नेपालीको मन स्वदेशमा रहन छोड्यो । एक एक गर्दै सारा नेपाली युवा विदेशिए र आज देश रित्तो छ ।

परिणाम, उत्पादन घट्यो, किनेर खानु पर्ने भयो । विदेशबाट कमाएर पठाएको पैसा दाल–चामल र लत्ता कपडा किन्दा फेरि उतै जान्छ । समाजमा विदेशी संस्कृति भित्रियो र नेपाली संस्कृति मासिन थाल्यो । पश्चिममा विकास गरिएको संस्कृतिले नेपाली समाज भाँडियो । धार्मिक, साँस्कृतिक मतभेद सुरु भयो । हुँदा हुँदा सत्ता चलाउने मोडेल पनि उतैबाट आयात गरियो र आज त्यही मोडेलको राजनीतिक संस्कारका कारण माथिदेखि तलसम्म मानिसहरु विभिन्न पार्टीहरुमा बाँडिए र प्रतिष्पर्धाका नाममा आपसमा लड्न र मर्न थाले ।

त्यसैले बमकुमारी बुढाहरुले नेपाली समाजमा पसेर खोजेको नेपाली मौलिक ज्ञानको अनुशरण गर्नु र गराउनु आजका मानिसहरुको कर्तव्य हो । यसमा राज्यको पनि जिम्मेवारी त्यत्तिकै हुनुपर्दछ ।