• मंसिर ११ २०८१, मंगलवार

स्वार्थको चक्रवात र आघात नेपाली

पुष ५ २०८०, बिहीबार

जनताको आलोचनाको खासै महत्व यी राजनीतिज्ञलाई हुँदैन । उनीहरू जनतालाई गौण मान्दै जनतामाथि चरम शोषण गरिराखेका छन् । राष्ट्रिय ढुकुटीको व्यापक दुरूपयोग गर्छन् । भ्रष्टाचारलाई संस्थागत रूप दिन तत्पर छन् । प्राडो, पजेरो प्रकरणदेखि लिएर पुरुष सांसदलाई सुत्केरी हुँदा खाने औषधिको सुविधासमेत दिन तत्परता देखाइराखेका छन् ।

जो स्वच्छ छविका देखिएका छन्, उनीहरूका आसेपासेहरू भ्रष्टाचारमा लिप्त भएकामा मूकदर्शक बनेका छन् । हिजो दुई रङको चप्पलको फित्ता लगाउनेहरू रातारात नवधनाढ्यका रूपमा रूपान्तरित भइराखेको दृश्य हेर्न बाध्य मात्र होइन, उनीहरूलाई यिनै भ्रष्टहरूको आदर्श र उपदेश सुन्न विवश बनाइराखेको अवस्था छ । मुलुक अराजक अवस्थामा धकेलिँदै छ ।

अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई विश्वकै भ्रष्ट राज्यको सूचीमा राखेको अवस्था छ । तस्करी र भ्रष्टाचार नेपालको राजनीतिले नियन्त्रण गर्न सकेन । सरकारको नेतृत्वमा रहनेहरू नै तस्करी र भ्रष्टाचारमा घनिष्ठ रूपले सम्बन्धित रहेको आक्षेप लाग्दै छ । तर, हाम्रो राजनीति, राजनीतिज्ञहरू र सरकारमा रहनेहरू सबै उनीहरूको मूल्यांकन जनताले कसरी गरिराखेका छन् ? त्यसको लेखाजोखा गर्न आवश्यक देख्दैनन् । जनता अवाक छन् ।

उनीहरू आफ्नै तथाकथित जनप्रतिनिधिहरूलाई स्वार्थी व्यक्तिहरूको झुण्ड र भ्रष्टका रूपमा चित्रण गरिराखेका छन् । यिनै भ्रष्टहरूबाटै आफ्ना प्रतिनिधि आवधिक निर्वाचनहरूमा चयन गरिराख्नुपर्ने अवस्था मुलुकका आमनागरिकको रहेको छ । त्यसैले, मुलुकमा सर्वसाधारण जनताले राजनीतिज्ञहरूलाई भ्रष्टहरूको झुण्डका रूपमा सम्बोधन गरिराखेका छन् ।

दोस्रो दर्जामा रहेका छन्, सरकारी संयन्त्र । जसमा निजामती कर्मचारी, जंगी, प्रहरी, संस्थानलगायतमा कार्यरत राष्ट्रसेवकहरू पर्छन् । जनताको यी निकायमा आजसम्म सहज पहुँच स्थापित हुनसकेको छैन । सरकारले दिएको नीति, निर्देशन, कानुनी प्रावधान आदिका आधारमा प्रवाह गरिने सेवामा सेवाग्राहीहरू सन्तुष्ट छैनन् । प्रक्रिया अत्यन्त जटिल छ ।

प्रायः जनसम्पर्क हुने कार्यालयहरूमा खुलेयाम घुसको चलखेल देखिन्छ । कार्यालय प्रवेश गर्ने ढोकामा नै दलालहरूसँग सेवाग्राहीको जम्काभेट हुन्छ । दलाल र सेवाप्रदायकको बीच अत्यन्त सुमधुर सम्बन्ध हुन्छ ।  सरकार सुशासनको नारा दिएर थाक्दैन ।

कार्यालयको सञ्चालन अप्रत्यक्ष रूपमा दलालहरूले नै गरिराखेका हुन्छन्

जनता सामान्य कामका लागि दलाल, गाउँका टाठाबाठाहरूमा निर्भर हुनुपर्छ । कर्मचारीहरूको सेवाग्राहीप्रतिको व्यवहार अझै पनि सेवकका रूपमा देख्न पाइँदैन । शक्तिसँग नजिक भएकाहरूसँग तावेदारी गर्दै जनतामाथि शोषण दमन र अमैत्रीपूर्ण व्यवहार गर्नुमा नै सरकारी संयन्त्र अभ्यस्त छ । यस परिस्थितिमा सरकारले गर्ने सुशासनको सुगा रटाइ सस्तो मनोरञ्जन मात्रैमा सीमित देखिन्छ ।

यस्तो संयन्त्र राजनीतिज्ञलाई गलत मार्गमा लाग्ने बाटो देखाउन, सहयोग गर्न र राजनीतिज्ञ र कर्मचारीतन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचारदेखि सबै प्रकारका जनविरोधी कार्य गर्न हाम्रा राजनीतिज्ञहरू र सरकारी संयन्त्रका अधिकांश पात्रहरू निर्लज्जताका साथ अघि बढिराखेका छन् । यी सबै कुरा सहज बनेको छ।

खुला रूपमा भ्रष्टाचार गर्नेहरूसमेत पुरस्कृत हुँदै गएका र नियन्त्रण गर्ने निकायले आँखा चिम्लिएको अवस्थासमेत पाइएको छ। यस्ता व्यक्तिहरू प्रायः शक्ति केन्द्रको नजिक रहेका हुन्छन्। त्यसैले, सरकारी संयन्त्र जसलाई राष्ट्रसेवकको पवित्र संज्ञा दिइएको छ । उनीहरूले जनताका नजरमा कामचोर र भ्रष्टको पहिचान बनाएको पाइन्छ ।

सबै प्रकारका कुकृत्य गर्नेहरूले राज्यका तर्फबाट अभयदान प्राप्त गरिराखेका छन्

अर्को पक्ष व्यापारी र उद्योगपतिहरूको छ । यो समूह सबै प्रकारका शक्तिमा रहेकाहरूसँग राम्रो सम्बन्ध कायम गरी अत्यधिक फाइदा लिन निपूर्ण देखिन्छ । यिनीहरू राजनीतिज्ञहरूलाई बेला बखत चन्दा सहयोग दिन्छन् । कामसँग सम्बन्धित कर्मचारीलाई नजराना टक्र्याउँछन् र आफ्नो दुनो सोझ्याउँछन् ।

यी सबै सहयोग र नजरानामा अत्यन्त थोरै लगानी गर्दै अत्यधिक रूपमा व्यक्तिगत फाइदा लिन्छन् । यिनीहरूको भेटघाट अत्यन्त फाइदाजनक हुने भएकाले मुलुकका नीति निर्माताहरूको ढोका यिनीहरूका लागि सधैं खुला रहन्छ ।

राजनीतिज्ञहरू यस्ता समूहप्रति अत्यन्त ज्यादा मैत्रीपूर्ण सम्बन्ध राख्छन् । केही उच्च पदाधिकारीहरूमाथि नियन्त्रण जमाई यिनीहरू व्यक्तिगत स्वार्थपूर्ति गर्न खप्पिस हुन्छन् । यस्तै, व्यावसायिक समूहहरूको पक्कड सरकारी नीति निर्माण र निर्णय प्रक्रियामा रहन्छ । उदाहरणका लागि हरेक क्षेत्रगत कार्यालयहरूमा यिनीहरू नै हावी भएका हुन्छन् ।

 जनता उद्योगपति, व्यापारीहरूलाई तस्करका रूपमा सम्बोधन गर्न रुचाउँछन्

समाजमा वैदेशिक रोजगार व्यवसायीहरूको अर्को वर्ग छ । आफ्ना उद्योग कल कारखानाहरू जनताले तस्करका रूपमा सम्बोधन गरिराखेका व्यक्तिलाई सरकारमा रहनेहरूले कौडीको मोलमा बिक्री गर्छन् । उद्योग सञ्चालन गर्न लगानीको सुरक्षा हुने वातावरण तयार गर्न सरकार असफल भएको छ । भएका उद्योगहरू बन्द हुँदै गएका छन् ।

मुलुकभित्र रोजगारीका अवसर प्राप्त गर्ने अवस्था छैन । त्यसैले, मुलुकको युवा शक्ति वैदेशिक रोजगारमा पलायन भएको छ । उनीहरूले प्रेषित गरेको विप्रेषणबाट मुलुकको अर्थतन्त्र वामे सर्दै छ । सरकारमा रहनेहरू यसैमा गौरवान्वित भएका छन् । तर, तिनै युवालाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा ठूलो शोषण गर्ने अभयदान सरकार र यसको संयन्त्रले वैदेशिक रोजगार व्यवसायीहरूलाई प्रदान गरिराखेको छ ।

युवाले विदेशमा बसी कमाएको रकमको ठूलो अंश विदेश जाँदा लिएको ऋण तिर्नमा खर्चिरहेका छन्

सरकार प्रस्ट नीतिका आधारमा यस समूहलाई नियन्त्रण गर्ने इच्छाशक्ति देखाउँदैन । किनकि, यथास्थितिमा छाड्दा नै मुलुकका उच्च ओहदामा रहेकाहरूलाई फाइदा हुन्छ । त्यसैले, यस्ता समूहलाई जनताले आफूमाथि भएको अन्याय र पीडाको क्षतिपूर्ति गर्न नसकी मानव तस्करजस्तो घृणित नामले सम्बोधन गर्छन् ।

समाजमा अर्को तप्का समाजसेवी नागरिक समाजको आवरणमा रहेको छ । देख्दा समाजसेवीको छद्म भेषमा रहेकाहरू अपवादबाहेक सबै व्यक्तिगत अभीष्ट पूरा गर्न तल्लीन छन् । अन्यत्र प्रायः विकसित मुलुकहरूमा यो वर्ग सरकारलाई सतर्क गराई मुलुकमा सुशासन कायम गर्नमा विशेष भूमिका निर्वाह गर्छन् । संवैधानिक निकायहरूमा पदाधिकारीहरूको नियुक्ति गर्ने क्रममा डेनमार्कमा नागरिक समाजलाई महत्वपूर्ण भूमिका कानुनले नै प्रदान गरेको छ । तर, नेपालको सन्दर्भ भिन्न छ ।

नागरिक समाजको आवरणमा छद्म भेष धारण गरी विभिन्न दलका राजनीतिक कार्यकर्ताले आय आर्जन गरिराखेका छन्

त्यसैले, नेपालको सन्दर्भमा इमान्दार नागरिक समाज अस्तित्वमा आउन सकेका छैनन् । कुनै राजनीतिक दलसँग आबद्ध हुन पाउँदा गौरव मान्ने नागरिक समाजसँग के अपेक्षा गर्न सकिन्छ ? त्यसैले, जनताका नजरमा यो वर्गले सम्मान पाउन सकेको छैन । दात्री राष्ट्रहरूसँग विशेष सम्बन्ध कायम गरी उनीहरूकै स्वार्थअनुकूल कार्य गर्न अभ्यस्तता प्राप्त गरेको स्थिति छ ।

अर्को वर्ग छ सञ्चारकर्मी, गलत र भ्रामक समाचारहरू सम्प्रेषण गर्छन् । व्यक्तिको चरित्रसँग खेल बाड गरिराखेका छन् । मुलुकमा प्रख्याती आर्जन गर्न सफल पत्रिकाहरू कुनै न कुनै राजनीतिक दल वा राजनीतिक नेतासँग आबद्ध भएको र उनीहरूकै एजेन्डा बोकेर हिँड्ने गरेको पाइँदै छ । खोजमूलक पत्रकारिताको सर्वथा अभाव छ । यसरी मुलुकमा रहेका सबै पेसागत वर्ग कुनै कुनै न रूपमा जनताका नजरमा अस्वीकार भइराखेका छन् ।