• मंसिर १५ २०८१, शनिबार

सरकरको एक वर्षे कार्यकालको समिक्षा, नयाँ योजना बनाउँदैछु : प्र.म दाहाल

पुष ४ २०८०, बुधबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् । बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो । यो आफैमा महत्वपूर्ण छ । मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ । मैले क्यालेण्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु । एक वर्षमा हामीले कति काम गर्यौं, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु ।’

‘म १० बजे नै कार्यालय आउँछु । नियमित रूपमा छलफल, समीक्षा र मूल्यांकन हुन्छ’ प्रधानमन्त्रीले भने, ‘जनतालाई डेलिभरि दिने कुरा मुख्य हो । जति राम्रो डेलिभरि दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ । हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ ।’ ‘देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि नै हो । कृषिलाई विकासको मुल आधार बनाउन सकेनौं र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौं भने समृद्धिको मुल काम गर्न सक्दैनौं’ प्रधानमन्त्रीले भने, ‘जलविद्युत र उद्योग पनि महत्वपूर्ण छन् तर, उद्योग पनि कृषिमा आधारित भएर मात्र चल्छन् तसर्थ, कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’ ‘मलको कुरा धेरै भयो । मल सधै बाहिरबाट किनेर मात्र हुँदैन, हामी आफैले उत्पादन गर्नेतर्फ सोच्नुपर्छ । कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्नुपर्छ’ प्रधानमन्त्रीले भने,‘यसपटक विगतभन्दा भिन्न ढंगको बजेट, नयाँ ढंगले जाने सोच्दैछु । त्यसका लागि पुस महिनाभित्रै एउटा राम्रो अन्तरक्रिया गर्छौं । नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्छौं, तपाईंहरूले पनि त्यसरी नै सोचिराख्नुहोला ।’

बैठकमा कृषि तथा पशुपन्छी मन्त्री डा.बेदुराम भुसालले कृषिका ७ प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए । मन्त्री भुसालले नदी प्रणालीलाई जोडेर सतही सिचाइको प्रबन्ध, उत्पादनशील बिउको प्रबन्ध र किसानहरूलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरणमा जोड, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए ।