काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिले जाजरकोटको भेरी नगरपालिका–१ र पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाका भूकम्प पीडित परिवारलाई राहत वितरण गरेको छ ।
भूकम्पले ज्यान गुमाउनेहरुका परिवार, घाइतेहरु, घरबारविहीन भएका ३०० घरधुरीलाई लक्षित गरी ३०० बोरा चामल, ३०० थान न्यानो कम्बल, ३०० थान न्यानो पछ्यौरा, ३००-३०० पोका नुन, तेल र दाल, ३०० वटा पिफर्म (म्याट) र प्रतिघर १–१ प्रति सेनिटरी प्याड, प्राथमिक उपचारका औषधि सहितका सामाग्री वितरण गरिएको हो ।
मंसिर २० र २१ गते मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्रका पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरेको हो । अध्यक्ष पुनले भूकम्प पीडितहरुलाई सहयोग गर्न संघले संकलन गरेको राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको बताए ।
संघको सहयोग आह्वान स्वीकार गरी मगर संघ हङ्कङ, नेपाल मगर महिला संघमार्फत् टेवा नेपाल, मगर संघ बेलायत, नेपाल मगर संघ युएई, नेपाल मगर संघ जापान, नेफिन अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल मगर संघ कुवेत, मगर सेवा समाज केन्द्र ललितपुर (ई.हिरा बलामी), नेपाल मगर संघ सुर्खेत र सल्यान, मगर संसार, सिद्वार्थ बहुउद्धेश्यीय सहकारी संस्था सुर्खेत लगायत विभिन्न मनकारी व्यक्ति तथा संघ–संस्थाले राहत प्रदान गरेको संघका अध्यक्ष पुनले जानकारी दिए ।
राहत सामग्री सहयोग गर्ने सबै संघ संस्था र महानुभावहरुलाई जाजरकोटको भेरी नगरपालिाका–१ का वडा अध्यक्ष दिपक रानामगर र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ को वडा अध्यक्ष हुकुम पुनमगरको उपस्थितिमा पीडितहरुले राहत बुझेका थिए । पीडितहरुले अप्ठ्यारो अवस्थामा राहत सहयोग गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
राहत हस्तान्तरण टोलीमा अध्यक्ष पुनसहित सहअध्यक्ष गंगाबहादुर थापा, उपमहासचिव खगेन्द्र पुन, सचिवद्वय आशुराम सोमै, विनिता आले, सहकोषाध्यक्ष क्या.निलबहादुर थापा सहित नेपाल मगर महिला संघका अध्यक्ष हीरु राना, वरिष्ठ उपाध्यक्ष धनकुमारी राना, महासचिव मीना घर्ती, उपमहासचिव चीत्रा श्रीस, सचिव कृष्णा वंशी, कर्णाली प्रदेशका मुख्यसचिव डम्मर गरंजा लगायतका सहभागी थिए ।
राहत सामग्री वितरण अभियानलाई संयोजन गरिरहेका संघका कर्णाली प्रदेशका मुख्यसचिव गरंजाले आफूहरुले भूकम्प प्रभावित क्षेत्रमा पुगी पीडित परिवारलाई राहत वितरण गरेको र अरु संघ–संस्थाहरुले त्यहाँका पीडित परिवारलाई सहयोग गर्नुपर्ने बताए ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुनुका साथै हजारौं घरहरु क्षतिग्रस्त भएका छन् । त्यहाँ हाल पनि उद्दार तथा अस्थायी टहरा निर्माण कार्य चलिरहेको छ ।