• बैशाख ९ २०८२, मंगलवार

बिर्सने रोगबाट कसरी जोगिने ?

मंसिर १८ २०८०, सोमबार

पहिलो कुरा, स्मरण शक्तिमा कमी आउने अरू धेरै कारणहरू छन्।

जस्तै केही भिटामिनको कमी, केही हर्मोनहरूको कमी र ट्र्याङकुलाइजर लगायतका केही औषधिहरूको प्रयोग। त्यस्तै धेरै मानसिक तनाव हुँदा, निद्राको समस्या, लागूऔषधिको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्ति कम भएको हुन सक्छ। यी कारणहरूले गर्दा स्मरण शक्ति कम भएमा त्यसको पूर्ति अन्य तत्त्वबाट गर्न सकिन्छ। नोक्सान गर्ने पदार्थहरू छोड्दा फाइदा हुन्छ। अर्को महत्त्वपूर्ण कुरा हो धूमपान नगर्ने, मधुमेह छ भने राम्रो नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्छ। उच्च रक्तचाप छ भने राम्रो नियन्त्रण गर्नुपर्दछ। शरीरको वजन बढी छ भने घटाउनु पर्दछ। नियमित शारीरिक व्यायाम गर्नुका साथै र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउनु पर्दछ। यी प्रयासहरूले हृदयाघात हुनबाट बचाउँछन्। साथै डिमेन्सियाको रोकथाममा महत्त्वपूर्ण योगदान पुग्छ। सन्तुलित भोजन गर्नु र पोषण तत्त्वको कमी हुन नदिनु आवश्यक छ। टाउकोमा जोडले चोटपटक लागेमा पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ। टाउकोमा चोटपटक नलागोस् भन्ने तर्फ ध्यान दिनु पर्छ।त्यस्तै तेस्रो महत्त्वपूर्ण कुरा हो मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ। तनाव हुँदा कर्टिसोल भन्ने हार्मोन शरीरमा बढी निस्कन्छ। जुन शरीर र मस्तिष्कलाई हानिकारक छ। तनावको राम्रो व्यवस्थापन गर्दा आफ्ना समस्याहरू मिल्ने साथी वा परिवारका सदस्यसँग भन्ने, समस्या समाधान गर्ने प्रयास गर्ने, शारीरिक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवण, गर्न सकिन्छ। यसबारे विशेषज्ञबाट परामर्श गर्नु आवश्यक हुन्छन्। भनिन्छ, मस्तिष्कलाई कि त प्रयोग गर्नुपर्छ वा गुमाउनु पर्छ। केही काम छैन भनेर चुप लागेर निराश भई बस्नु हुँदैन। नयाँ नयाँ विषयबारे पढ्ने, सिक्ने गर्नुपर्छ। स्वस्थ्य जीवन शैली अवलम्बन गर्दा डिमेन्सियालगायत धेरै रोगहरूवाट बच्न सकिन्छ। त्यसैले यसवारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुनेछ।
 – लेखक वरिष्ठ मनोचिकित्सक हुन्।