काठमाडौं । गीत–संगीतको क्षेत्रमा परिचित नाम हो संगीता पौडेल । अहिलेसम्म तीन दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेकी संगीता पौडेल लोकगायिका र गीतका रचनाकार हुन् । बाल्यकालदेखि गीत–संगीतमा रुचि राख्दै आएकी अहिलेकी सक्रिय गायिका पौडेलले २०७१ सालबाट औपचारिक रूपमा नेपाली सांगीतिक बजारमा उपस्थिति जनाएकी हुन् ।
उनले २०७१ सालमा बजारमा ल्याएको ‘डुबेकी छु आँशु भेलैमा’ बोलको गीत संगीतप्रेमीहरूले अधिक रुचाए । अघिल्लो पुस्ताका चर्चित कलाकार इन्द्र जिसी र संगीताको स्वर रहेको यो गीत वियोगान्त भावमा सिर्जित छ । यस गीतमा गायिका संगीतालाई लयमा इन्द्र जिसीले साथ दिएका छन् ।
गायिका पौडेल स्याङ्जा जिल्लाको किचनासबिरुवा गाउँपालिका तारेपहरा गाउँमा जन्मेकी हुन् । संगीताको घर गोपाले किचनास हो भने आफैले बनाएको घर नवलपरासीको बर्दघाटमा छ । पेशाको सिलसिलामा हाल काठमाडौं बसाइँ गरिरहेकी संगीतालाई गीत–संगीतको गहिरो लत बसेको छ ।
सानै उमेरदेखि गाउने र नाटकहरूमा समेत अभिनय गर्दै आएकी संगीताले धेरै अग्रज कलाकारहरुसँग काम गरिसकेकी छिन् । उनी भन्छिन् ‘धेरै गीतमा आफैले लय र शब्दहरु बनाएर आवाज दिएकी छु । गीतहरूमा सकेसम्म राम्रो गर्न खोजेको छु । साधनाले उत्कृष्ट काम गर्न सकिन्छ भन्ने लाग्छ ।’
पहिलो गीत ‘डुबेकी छु आँशु भेलैमा’ देखि हालसम्म आउँदा उनले यो क्षेत्रको धेरै घामपानी भोगेकी छिन् । ०७२ सालमा आएको भूकम्पको समयमा समेत एकल प्रयासमा संगीताले गीत बजारमा ल्याइन् । संगीताकै लय, शब्द र आवाजमा बजारमा आएको गीत चर्चा कमाउन सफल भयो ।
उनले नेपाली सांगीतिक आकाशका थुप्रै कलाकारहरुसँग लय र शब्द बनाएर आवाज दिएकी छिन् । जस्तो ‘जाडो भए पछ्यौरी तान’ गीतमा शब्द अर्जुन आभास सेन्चुरीका छन् । जसमा संगीताले आवाज दिएकी छिन् । यस गीतमा खेम सेन्चुरीले आवाज पनि दिएका छन् । यो गीत बजारमा निकै नै चल्यो । सायद गुणस्तरमा कुनै सम्झौता नभएकोले पनि गीत व्यापक चलेको हुनसक्छ । संगीताले ‘बस्ती स्याङ्जाको’ गीत पनि बजारमा ल्याएकी ल्याइन् । उनको आफ्नै शब्द, लय र आवाज रहेको यस गीतमा चर्चित लोकगायक पशुपति शर्माले पनि आवाज दिएका छ्न । गायिका पौडेलले अर्का लोकप्रिय गायक बद्री पंगेनीसँग पनि लोकगीतमा स्वर भरेकी छिन् ।
उनको अर्को ‘बिछोड हुने हो’ भन्ने गीत पनि बजारमा आएको छ । संगीताकै शब्द, लय र आवाज रहेको यस गीतमा आवाजमा रमेश बिक्रमले संगीतालाई साथ दिएका छन् । गीत संगीत बारेको अनुभव र बुझाइबारे संगीता भन्छिन्‘राष्ट्रिय जीवनमा उचाई बनाइसकेका धेरै कलाकारसँग निरन्तर गीत गाइरहन पाउँदा भाग्यमानी ठानेकी छु । यस्तो सौभाग्य कमै गायक र गायिकाले पाउँछन् ।’
उनले तीजका गीत पनि गाएकी छिन् । संगीताको आवाजमा शब्द, लय पनि रहेको ‘छोरीको बेदना’ गीत बजारमा आएको छ । देउसी–भैलोका गीतहरुमा समेत श्रोताले गायिका संगीता पौडेलको स्वर सुन्न सक्छ
थुप्रै तीजका गीतहरु गायकी संगीताले तीजका गीतमा पनि थुप्रै कलाकारहरुहरुसँग सहकार्य गरेकी छिन् । अहिले बजारमा आएको ‘पोल्ला मेरा आँशुले’ गीतमा संगीताकै शब्द, लय र आवाज रहेको छ । लोकसंगीतका जीवन्त प्रतिभा कलाकार राजु परियारसँग आवाजको सहकार्य गर्न पाउँदा संगीता फुरुङ्ग भएकी छिन् । लाखौं श्रोता तथा दर्शकले उनका गीतहरु युटुवमा सुनेका छन् ।
उनले गायका अधिकांश गीतमा उनकै लय, शब्द र स्वर रहेको छ । सुरिलो स्वर भएकै कारण संगीताले राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरूसँग सहकार्य गर्ने मौका पाएकी छिन् । अहिले धेरै जना दर्शकको मन मुटुमा बस्न सफल छिन् लोकगायिका संगीता । गीत संगीतबाट कमाएको सफलता नै वास्तविक कमाइ हो भन्ने उनको बुझाई रहेको छ ।
उनले यो क्षेत्रमा यति धेरै योगदान दिएपनि समाजमा उनले पाउनुपर्ने प्रशंसा भने पाउन बाँकी छ । उनका गीत धेरै श्रोताले सुनेपनि गायिकाको रुपमा डिजिटल मिडियामार्फत् जुन चर्चा हुनुपर्ने हो त्यो उनले पाउन बाँकी नै छ । आजको डिजिटल मिडियाको दुनियाँमा मिडिया सञ्चालक तथा पत्रकारहरुले उनी जस्ता कला र क्षमताका खानी कलाकारहरुलाई दर्शक तथा श्रोता माझ स्थापित गराउन स्थान दिनुपर्दछ । गीत–संगीतको क्षेत्रमा संगीताको यात्राको सफलताको शुभकामना ।
संगीता पाैडेल र राजु परियारकाे स्वरमा रहेकाे गीतकाे लिंक यहाँ राखेका छाैं ।