• मंसिर ११ २०८१, मंगलवार

तनाव, समाज र राज्य

मंसिर १४ २०८०, बिहीबार

अहिले नेपाली समाज मात्र नभएर विश्वसमाज नै तनावग्रस्त छ । बहत्तरको भूकम्प जाँदाका बखत होस् वा २०७६ सालको कोरोनाको सन्त्रासले होस् मान्छेको मतिष्कमा तनावले बास गर्न पुगेको देखिन्छ ।

जब कुनै रोगको महामारी छ र त्यसको उपचार भेटिएको छैन भने, व्यक्तिको अगाडि अवसर छ तर त्यसमा रूकावट छ भने वा व्यक्ति अवसर प्रयोग गर्न चाहान्छ तर त्यसको परिणाम अनिश्चित हुन्छ भने वा परिवर्तनले व्यक्तिको पद, प्रतिष्ठा र सुविधा सबै धरापमा पर्दछ भने व्यक्तिमा तनाव पैदा हुन्छ ।

तनाव व्यक्ति र सामाजिक, आर्थिक, राजनीतिक, प्रविधि तथा प्रशासनिक वातावरणबीचको अन्तरक्रिया हो । वातावरणलाई कसरी लिने भन्ने सोचका सम्बन्धमा एउटा उदाहरण जोड्न उचित हुन्छ । दुई साथी एकैसाथ रोलर कोस्टर चढे ।

एउटाले डरले दुवै हातले चपक्क बारलाई समात्यो र अर्कोले दुवै दात आकाशतर्फ उठाउँदै रमायो । डराउने तनावमा भयो भने रमाउने स्वच्छन्द । एकेडेमिक अध्धयनअनुसार तनाव चिन्ता होइन, केवल घटनाप्रतिको मानसिक बुझाइ मात्र हो ।

सबै तनाव खराब हँुदैनन् । तनावले व्यक्तिलाई सक्रिय बनाउँछ । जीवनमा आउने तनावले व्यक्तिलाई सुरक्षित रहन उत्प्रेरित गर्दछ । संगठनमा आउने तनावले एकहदसम्म व्यक्तिलाई केही नवीन काम गर्न उत्साहित गर्दछ । समाजमा आउने संकट वा अनिश्चितताले व्यक्तिलाई कसरी जीवन सुरक्षित गर्ने भन्ने तनाव पैदा गर्दछ ।

ऊ पैसा, खाद्यन्न, पानी, ऊर्जा, औषधी जस्ता अत्यावश्यक वस्तुको जोहो गर्न थाल्दछ । तर, तनावको मात्रा बढी भयो भने सामान्य व्यक्ति वा पेसाकर्मी कर्मचारीको शारीरिक, मानसिक एवं बौद्धिक स्वास्थ्यमा नकारात्मक असर पार्दछ । जीवनविरुद्ध देखिएको एउटै समाचार सुन्दासुन्दा र पढ्दा पढ्दा पनि व्यक्ति तनावमा पर्दछ ।

तनाव मानव जीवनको एक अवश्यंभावी घटना हो , यसको व्यवस्थापन गर्न सकिन्छ

तनाव राज्य, संगठन र पारिवारसँग सम्बन्धित हुन्छ । तनाव देखिने र नदेखिने गरी दुई प्रकारको हुन्छ । तनावको आफ्नै एउटा चक्र हुन्छ । व्यक्ति तनावमा छ भने उसले दैनिक व्यवहारमा केही विशिष्ट चरित्र देखाउन थाल्दछ । काम गर्दा झोक्किने, रिसाउने, दिक्क मान्ने संकेत आउनु तनावको पहिलो चरण हो ।

तनावमा रहेको व्यक्ति स्वयंलाई तनावको अनुभूति हुन्छ र ऊ आफंै तनावको प्रतिरोध गर्न थाल्दछ । यो तनावको दोस्रो चरण हो । तनावको प्रतिरोध गर्न असफल बन्दै गएपछि तनावले मानिसलाई गाल्दै लैजान्छ । व्यक्ति थकित हुन्छ । काम गर्ने जाँगर हुँदैन । उत्पादकत्व घटन थाल्दछ । कुलतमा लाग्न सक्छ ।

मनमा भय, इर्ष्या, आक्रोश, हीनताबोध तथा असफलताको पीडा पैदा हुन थाल्दछ । यसलाई तनावको तेस्रो चरण भनिन्छ । तनावबाट मुक्त हुन व्यक्तिले काउन्सेलिङ वा मानसिक उपचार गर्नुपर्ने हुन्छ । यो तनावको चौथो चरण हो ।

मानिसको जीवनमा तनाव वातावरणीय कारण, संगठनात्मक कारण र व्यक्तिगत कारणले पैदा हुने गर्दछ

राजनीतिक, आर्थिक सामाजिक, पारिवारिक अवस्था, प्रविधि परिवर्तनले मानिसको जीवनमा प्रभाव पार्दछ । भूकम्पले ल्याएको भय तथा कोरोनाले ल्याएको अनिश्चितता र त्रास तनावका वातावरणीय कारण हुन् ।

संकट आफैमा तनावको एउटा जवरजस्त कारण हो । संगठनमा संरचनागत परिवर्तन, रिलोकेसन, अस्पष्ट भूमिका, नेतृत्व परिवर्तन, जिम्मेवारी परिवर्तन, सूचना सञ्चार प्रविधिको प्रयोग र नयाँ सिपको खोजी, प्राइभेसीको ठाउँमा पारदर्शिता, ज्ञानको अपर्याप्तता, ओभरटाइम काम गर्नुपर्ने बाध्यता, मेरिट पे ल्पान, तनावका संगठनात्मक कारण हुन् ।

पारिवारिक समस्या गाउँमा बाबुआमा र सहरमा बालबच्चाको रेखदेख, गरिबी, स्वास्थ्य समस्या, सामाजिक सहयोगको कमी, संगठनका कर्मचारी साथीबीच व्यक्तित्व टकराहट, द्वन्द्व, व्यक्तिगत संयमको कमी, आफू असहाय भएको अनुभव हुनु तनावका व्यक्तिका कारण हुन् ।

तनावको सम्बन्ध व्यक्तित्व विकास, वृत्तिउन्नति र जीवनसँग हुन्छ

तनाव व्यवस्थापन वर्तमान समयको जल्दोबल्दो विषय हो ।  तनाव व्यक्तिभित्र, परिवार, समाज र कार्यस्थलमा हुने गर्दछ । तनाव किन हुन्छ ?तनावबाट नागरिकको जीवनमा, कर्मचारी र संगठनको जीवनमा के असर परेको छ ?

तनाव कम गर्न संगठनले के गर्न सक्छ र व्यक्तिले के गर्नुपर्छ सबै विषयको गहन र विहङगम दृष्टिले व्यवस्थापन गर्नु तनाव व्यवस्थापन हो । सामाजिक तनाव व्यवस्थापन गर्न सरकारले जनताको विश्वास र साथ आर्जन गर्दै प्रभावकारी कदम चाल्नुपर्छ भने संगठनको तनाव कम गर्न नेतृत्वले कर्मचारीको साथ लिएर काम गर्नुपर्ने हुन्छ ।

तनाव मानसिक क्रिया प्रतिक्रिया भएकाले तनाव व्यवस्थापनको महत्वपूर्ण पक्ष मनलाई शान्त राख्नु हो । मनलाई स्थीर राख्ने वा शान्त राख्ने दुई तत्वहरू छन् । पहिलो आध्यात्मिक ज्ञान र दोस्रो जीवनको वातावरणीय पक्षको व्यवस्थापन गर्नु हो ।

आत्माले कर्मेन्द्रीय र ज्ञोनेन्द्रीयको परिचालन गर्दछ

सत्य पहिचान गर्नु आत्मामा विश्वास गर्नु अर्थात् आत्माज्ञानी हुनु आध्यात्मिक दीक्षा प्राप्त गर्नु आध्यात्मिकता हो ।  ज्ञानेन्द्रीयको कर्मभन्दा माथि निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन नै आध्यात्मिकता हो ।

आध्यात्मिकताको दर्शनबाट व्यक्ति काम, क्रोध, लोभ, भय र मोहवाट टाढा रहन अर्थात् व्यक्ति विविध शंका उपशंकाबाट मुक्त रहन सक्षम हुन सक्छ । कर्मेन्द्रीय र ज्ञानेन्द्रीयको कर्मभन्दा माथि अदृश्य, अमूक, अपारदर्शी स्वभावको तर भावनाबाट प्रेरित कार्यबाट सन्तुष्ट हुने र निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन आध्यात्मिकता हो । यसले व्यक्तिलाई काम, क्रोध, लोभ र मोहबाट टाढा अर्थात् मुक्त राख्दछ ।

आध्यात्मिकताले व्यक्तिलाई आत्मिक सन्तुष्टिको अवस्थामा पुर्‍याइ आफैलाई चिन्न बुझ्न सक्ने ज्ञानी बनाउँछ 

आत्माले व्यक्तिको मन पूर्णरूपेण नियन्त्रण गर्न सकेको हुँदैन र त मानिस भयातुर, लोभी, कामी, दुःखी, क्रोधी, र तनावयुक्त हुन्छ । पदार्थवादी चिन्तन यसले प्रमाणमा आधारित कार्य वा घटना वा चिन्तनमा विश्वास गर्दछ । जसले देख्ने, सुन्ने, स्वाद लिने, छुने, वास्ना सुध्ने जस्ता बाह्य देखिने तत्वमा आधारित हुन्छ ।

आध्यात्मिक चिन्तन आध्यात्मिक चिन्तन दृश्यभन्दा अदृश्य तथा कर्मेन्द्रीयको अनुभवभन्दा धेरैमाथिको चिन्तन हो । मानव लोभ, मोह, काम, र क्रोधमुक्त भएको अवस्था हो । चिन्तन भावनामा व्यक्त हुन्छ । सकारात्मक सोचाइको प्रवर्द्धन गर्दछ ।

व्यक्तिको जीवनको, सोचको र कार्यको रूपान्तरण गर्दछ । आध्यात्मिकताको ज्ञान हासिल गर्नु भनेको आफैले आफैलाई चिन्नु, स्वभाव नियन्त्रण गर्नु र भौतिक जीवनका सुखदुःखका सबै कोणबाट मुक्त रहनु हो ।

मनलाई शान्त राख्ने दोस्रो पक्ष वातावरणीय जीवनका घटना, प्रकोप र परिवर्तनले ल्याएको वा ल्याउने परिस्थितिको व्यवस्थापन गर्नु हो । मानव सामाजिक प्राणी हो । समाजमा हुने प्रत्येक गतिविधि, चाहे त्यो राम्रो होस् वा नराम्रो होस्, त्यसले प्रत्यक्ष वा परोक्ष रूपमा व्यक्तिको जीवनमा प्रभाव पार्दछ ।

नराम्रा घटनाले तनाव पैदा गर्दछन्

वातावरणीय जीवनमा हुने घटना, महामारी वा परिवर्तनको व्यवस्थापन भएको महसुस नभएसम्म मानिसले आफू र आफनो परिवार सुरक्षित भएको महसुस गर्न सक्दैन र मन शान्त राख्न पनि सक्दैन । यस कारण, सरकार वा संगठन वा समाजले व्यक्तिको जीवन सुरक्षित हुने विश्वास खडा गर्नुपर्छ, । तब मात्र व्यक्ति तनावमुक्त हुन सक्छ ।

तनाव व्यवस्थापनमा सरकार, समाज, संगठन र व्यक्ति सबैको महत्वपूर्ण भूमिका रहन्छ । तनाव व्यवस्थापन गर्नु भनेको मुख्य कुरा व्यक्तिले तनाव ल्याउने घटना वा परिस्थितिबाट आफूलाई अलग राख्नु हो । परिस्थिति सिफ्ट गर्नु आफैमा तनाव व्यवस्थापनको एक कडी हो ।

अर्को महत्वपूर्ण पक्ष उत्पन्न परिस्थितिलाई अर्कै ढंगले लिने र अर्कै ढंगले सोच्ने हो भने पनि तनाव आफै कम भएर जान्छ । यसका अतिरिक्त चिन्तनबीच वा कामबीच थकाइ मार्ने वा ब्रेक लिने वा मन बहलाउने, वा रमाइला कुराहरू गर्ने बानी व्यवहार र सावधानीले व्यक्तिको तनाव कम हुन्छ । जीवनप्रतिको आशा तनावको खराब परिणामबाट बचाउने रणनीति हो ।

तनावको समयमा राज्य, सरकार, समाज र परिवारले आशा जगाउन र विश्वासिलो भरोसा दिनुपर्छ 

शारीरिक अभ्यास, व्यायाम तथा पैदल यात्रा तनाव कम गर्ने अचुक उपाय हुन् । खानपान र रहनसहनलाई स्वास्थ्यनुकूल बनाउने, समयको आफै व्यवस्थापन गर्ने, नेटवर्किङ बढाउने, सामाजिक रूपमा घुलमिल हुने, नैतिक रूपमा गैरकानुनी काम, दोधारे काम नगर्ने, अर्को कुनै व्यक्तिको मन दुखाउने काम नगर्ने, अनुशासनमा बस्ने र मेडिटेसन गर्ने गर्नाले तनाव कम भएर जान्छ ।

खासमा तनाव कम गर्न व्यक्तिले सरकार, समाज संगठनमाथि विश्वास गर्नुपर्छ । घटना र परिस्थितिलाई भिन्नभिन्न कोणबाट विश्लेषण गर्ने बानी बसाल्ने, कर्मचारीले आफ्नो जीवनको लक्ष्य र मूल्य स्पष्ट गर्नुपर्छ । आफ्नो स्वास्थ्यलाई महत्व दिँदै रिल्याक्सेसनका लागि एरोबिक, मेडिटेसन, मसल्स रिल्याक्सेसन, रमाइलोको कल्पना र अनुभव गर्ने गर्नुपर्छ .

आफ्नो सहयोगी समूहको विकास गरी उनीहरूसँग समय बिताउनुपर्छ । साथै, तनावको डिग्री कम नभएको अवस्थामा वा शारीरिक वा मानसिक समस्या देखिएमा उपचार हेतु स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा जानुपर्छ ।

सरकारले नागरिकको जीवन सुरक्षाको वातावरण निर्माण गर्नुपर्छ

नागरिकले आफ्नो सुरक्षाका लागि सरकार छ भन्ने विश्वास र भरोसा भएसम्म तनाव लिँदैन । साथै, संगठनको नेतृत्वले कर्मचारीको कार्यस्थल बाहिर पनि जीवन हुन्छ भन्ने मान्यतामा कर्मचारीले घरपरिवार र कामबीच कसरी सन्तुलन कायम गरेको छ सो बुझ्नुपर्छ । सोका आधारमा तनावको स्रोत पहिल्याई उपचार गर्नुपर्छ ।

कर्मचारीको तनाव कम गर्न वृत्ति योजना स्पष्ट गर्ने, पदस्थापन र सरुवा प्रणालीगत रूपमा गर्ने, कर्मचारीको कार्य लक्ष्य निर्धारण र भूमिका स्पष्ट गर्ने, कामको रिडिजाइन गर्ने, संगठनात्मक सञ्चार स्पष्ट गर्ने, टिम बिल्डिङ तथा सहभागितामूलक निर्णय प्रक्रियामा जोड दिने, संगठनमा तनाव कम गर्ने खालका काउन्सेलिङका कार्यक्रम सञ्चालन गर्ने गर्नुपर्छ ।

कार्यालयको काम र कर्मचारीको परिवारलाई एकीकृत गर्ने खालका विचार आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने र आध्यात्मिक ज्ञानको सम्प्रेषण तथा कर्मचारीको दैनिक जीवनलाई आध्यात्मिक जीवनशैलीमा रूपान्तरण गर्न कार्यस्थलमा आध्यात्मिकताको अभ्यास गर्ने जस्ता व्यवस्थापन प्रणाली संगठनमा विकास गर्नुपर्छ ।

नागरिकको तनाव व्यक्तिगत नभएर राज्यको हुन्छ

जनतालाई सुरक्षित महसुस गराइ जनताको तनाव कम गर्नु राज्य वा सरकारको धर्म र कर्तव्य दुवै हो । राज्य, समाज र व्यक्तिमा देखापरेको तनावको व्यवस्थापन गर्नु नेतृत्वको जिम्मेवारी हो ।

दैनिक व्यायाम गरी व्यक्तिले आफू स्वस्थ रहेको आत्मविश्वास बढाउँदै गर्नुपर्छ । साथै, राज्यले जनतालाई सूचना सम्प्रषित गर्ने, खाद्यन्न, औषधी तथा उपचार लगायतका विषयमा पूर्णतयारी गरी जनतालाई विश्वस्त तुल्याउन सरकार प्रतिबद्ध र कटिबद्ध हुनुपर्छ । संकटको व्यवस्थापनमा राज्य संयन्त्र इमानदारीसाथ खटनुपर्छ ।

संकटको समय वा परिवर्तनको व्यवस्थापनमा आवश्यक सूचना प्रवाह र स्रोतसाधनको पर्याप्त परिचालन गर्नुपर्छ भने संगठन तथा पदाधिकारीका जिम्मेवारी पूरा गर्न नेतृत्वले प्रभावकारी सुपरीवेक्षण पनि गर्न आवश्यक हुन्छ ।

जनतालाई सही सूचना नियमित रूपमा प्रवाह गर्नु पर्दछ