• आश्विन १२ २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्य समायोजन नेपाल एक महिना पुग्न लाग्दा पनि किन हुँदैन?

मंसिर ७ २०८०, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय मूल्यको आधारमा भारतले दैनिक बिहान ६ बजे इन्धनको मूल्य समायोजन गर्ने गरेको छ । नेपालमा भने १ महिना पुग्न लाग्दा समेत पेट्रोलियम पदार्थको मूल्यमा समायोजन हुने गरेको छैन । सरकारको निर्देशन र आन्तरिक ऋण र अन्य बाह्य कारण देखाएर मूल्य समायोजनामा आलटाल हुने गरेको छ ।

नेपाल आयल निगमले कहिले सरकारको निर्देशन पालना र कहिले आन्तरिक घाटा पूर्तिको नाममा समायोजन कार्यबिधिको धज्जी उडाउँदै आएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा पनि आयल निगमले मूल्य समायोजन गर्ने काममा आलटाल गर्दै आइरहेको छ । गत महिना नेपाल आयल निगमले पेट्रोल र ग्याँसको भाउँ बढाउँदा सरकारले मूल्यवृद्धि फिर्ता लिन लगाएको थियो । सरकारको निर्देशन पालना गर्दा करोडौ रुपैयाँ आयल निगमले नोक्सानी गुमाउनु परेको आयल निगमका अधिकारीहरु बताउँछन् ।

समय अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा पनि निगम अहिले पनि घाटामा रहेकाले मूल्य समायोजन केही समयका लागि नहुने एक अधिकारीले बताए । अन्तराष्ट्रिय बजार मूल्य अनुसार समय- समयमा तेलको मूल्य घटबढ हुदाँ नेपालमा पनि समायोजन गरिदै आएको थियो तर पछिल्लो समय घाटा देखाउँदै समायोजन हुने गरेको पाइदैन । अन्तराष्ट्रिय बजारमा मूल्य बढेरआएमा समायोजन गरिन तर घटेर आउँदा यथावत मूल्य राख्ने काम हुँदै आएको छ ।

पछिल्लो समयमा प्रति लिटर डिजेलमा ७ रुपैयाँ मूल्य घटेर आएको छ । यो मूल्यअनुसार मुल्य समायोजन नहुँदा डिजेलबाट मात्रै निगमले प्रति लिटर ७ रुपैयाँका दरले १५ दिनमा ३५ करोड रुपैयाँ नाफा कमाउने सुनिश्चित भएको छ ।

कहिले सरकारको ‘निर्देशन’ मा मूल्य समायोजन हुँदैन भने कहिले निगमको ‘आन्तरिक घाटा पूर्ति’ को नाममा आफ्नै कार्यविधिको धज्जी उडाउँदै मूल्य समायोजन हुने गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा घट्नुपर्ने र बढ्दा बढ्नु पर्ने कार्यविधिको मापदण्ड भए पनि निगमले आफैं उक्त कार्यविधिको अक्षरशः पालना गर्दैन ।

पछिल्लो समयमा कात्तिक २९ गते (नोभेम्बर १५) मा इण्डियन आयल कर्पोरेशन(आईओसी) ले अन्तर्राष्ट्रिय मूल्यको आधारमा नेपाललाई नयाँ मूल्य सूची पठाएको थियो । भारतले डिजेलमा प्रतिलिटर ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा मूल्य घटाएर नेपाललाई मूल्य सूची पठाएको थियो ।

यो मूल्य सूचीको आधारमा निगमले मूल्य समायोजन गरी नयाँ उपभोक्ता मूल्य तोक्नुपर्ने थियो । अर्को मूल्य सूची आउने समय नजिक आइसक्दा पनि निगमले आफ्नै कार्यविधिलाई लत्याउँदै मूल्य समायोजन गरेन ।

निगम अहिले ६ करोड घाटामा भएकाले उक्त घाटा पूर्ति गर्नका लागि मूल्य समायोजन नगरिएको स्रोतले जनाएको छ । निगमका एक अधिकारीका अनुसार १५ दिनमै ६ करोड रुपैयाँ घाटा पुगेको छ । एक पटक पेट्रोल र ग्यासको मूल्य समायोजन नहुँदा झनै घाटा दर चुलिएका कारण घाटा दर कम नहुँदासम्म मूल्य समायोजन नगर्ने पक्षमा निगम रहेको ति अधिकारीले बताए ।

यसबाहेक सरकारबाट लिएको ऋण वापतको रकम समेत तिर्न बाँकी रहेकाले मूल्य समायोजन गर्न निगमले चासो नदेखाएको हो । सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । अहिले सबैभन्दा बढी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ घाटा छ ।

निगमले अहिले पेट्रोल प्रतिलिटर १६९ रुपैया, डिजेल १६३ र खाना पकाउने सिलिण्डर १८९५ रुपैयाँमा बिक्री गरिरहेको छ । पछिल्लो समयमा आएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन भएको भए पेट्रोलमा १ रुपैयाँसम्म र डिजेलमा ७ रुपैयाँसम्म मूल्य घट्ने सम्भावना हुन्थ्यो ।

असार ३१ देखि कार्यान्वयनमा आएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० मार्फत निगमले एलपीजी ग्याँसमा नाफा नलिने व्यवस्था गरेको छ । निगमले एलपीजी ग्याँसको मूल्य निर्धारण गर्दा घरायसी, औद्योगिक र व्यापारिक प्रयोजनको हकमा छुट्टाछुट्टै मूल्य निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।